जीवनाथ अधिकारी समकालीन पुस्ताका कवि प्रतिभा हुन् । उनी कविता र गीत सिर्जनाका क्षेत्रमा कलम चलाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आँसु बग्यो सागर बनी’ बोलको गीतिरचना समेटिएको छ । यस रचनाले पछिल्लो समय मौलाउँदै गइरहेको एकलकाँटे प्रवृत्तिलाई उजागर गरेको छ । त्यस्तो प्रवृत्तिप्रति चिन्तासमेत रचनाले व्यक्त गरेको छ ।
-सम्पा. |
आँसु बग्यो सागर बनी टेक्न सकिएन
माया उड्यो हावा बनी छेक्न सकिएन
जिन्दगीका धेरै आशा भेट्न सकिएन
बाछिटाले तिर्खालाई मेट्न सकिएन ।
क्षितिजका लहरमा टोल्हाएर आँखा
बिर्सिएछन् आफैँभित्र सङ्गीतका भाका
निहुरिएर आफ्नै घाँटी रेट्न सकिएन
बाछिटाले तिर्खालाई मेट्न सकिएन ।
पर को हो वर को हो सीमा हटाएर
सद्भावको भागबन्डा लोभ कटाएर
चोखो मनले मन खोजी हेर्न सकिएन
बाछिटाले तिर्खालाई मेट्न सकिएन ।