दिव्य गिरी नेपाली आख्यन र कविता विधामा सशक्त प्रतिभाका रूपमा सुपरिचित छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ र उनका दर्जनौँ कृतिहरू प्रकाशन भइसकेका छन् । यहाँ नयाँवर्षलाई विषय र विम्ब बनाइएको लघुकथा समेटिएको छ । यस लघुकथाले नयाँवर्षको उपहारसँगै शुभकामना आदानप्रदान र पुनर्मिलनको पक्षलाई उजागर गरेको छ । -सम्पा. |
‘हजुरबा, मैले हजुरलाई यो मोबाइल ल्याइदिएको छु । नयाँ वर्षको उपलक्ष्यमा हार्दिक शुभकामना !’ नातिले हजुरबालाई मोबाइल दिँदै भन्यो ।
‘यो उमेरमा मलाई मोबाइल के काम?’ असी वर्ष नाघिसकेका हजुरबाले मोबाइललाई ओल्टाइपल्टाई गर्दै हेरेर भने– ‘मलाई मोबाइल चलाउनै आउँदैन ।’
‘म एकै दिनमा सबै सिकाइदिन्छु, हजुरबालाई केको चिन्ता ? ।’ नातिले हाँस्दै भन्यो ।
एक दिन हजुरबा फेसबुकमा एउटी सुन्दरीको तस्वीर हेरेर मुसुमुसु हाँसिरहेका थिए ।
नातिले हजुरबा एक्लै हाँसेको देखेर नजिकै गएर सोध्यो– ‘हजुरबा, कस्तो लाग्यो त मोबाइल ? यो कसको तस्वीर हो हजुरबा ?’
‘यी सुन्दरी पहिले मसँगै कलेजमा पढ्िथन् । पचासौँ वर्षपछि आज हाम्रो फेसबुकमा भेट भयो । यिनले मेरो जन्मदिनमा शुभकामना पठाएकी रहिछन् ।’ हजुरबाले भने ।
‘कति राम्री ! हिरोइन जस्ती ! हजुरबालाई अझैसम्म पनि बिर्सेकी रहिनछिन् ।’
‘त्यसबखत यिनीसँग मेरो एकतर्फी पिरती थियो ।’ यति भन्दै हजुरबाले एउटा सुन्दर गुलाफको फूलको फोटोसहितको शुभकामना उनको मेसेन्जरमा पठाए अनि नातितिर हेरेर मुसुक्क हाँसे ।