नेपाली समाजमा अनेक दिवस प्रचलनमा छन् । तीमध्ये कतिपय दिवसले राष्ट्रिय मान्यता पाएका छन् र कतिपय राष्ट्रिय मान्यता नपाएर पनि समाजबाट अनुमोदित छन् । राष्ट्रिय दिवसहरूमा सार्वजनिक विदा दिइन्छ । समाज अनुमोदित विदामा समाज आफै कामकाजबाट विदा लिएर दिवस मनाउन थाल्छ । त्यस्ता दर्जनौँ दिवसमध्ये अब साहित्य दिवसले पनि स्थान पाएको छ ।
साहित्य दिवस नववर्ष २०८० बाट सार्वजनिक रूपमा मनाउन थालिएको छ । यसपूर्व एक दशकअगाडिदेखि यो दिवस हलमा कार्यक्रम गरेर मनाउँदै आइएको थियो । कृति लोकार्पण, स्रष्टा सम्मान र विमर्शमा सीमित थियो । यस वर्ष भने यो दिवस सयौँ साहित्यकारका सक्रियतामा नेपालको पुरानो विद्यालय दरबार हाइस्कुल अगाडि रहेको आदिकवि भानुभक्त आचार्यका प्रतिमामा माल्यार्पण गरी त्यहाँबाट पुरानो बसपार्क हुँदै ठुलो टुँडिखेल परिक्रमा गरेर उही प्रतिमा अगाडि लगेर समापन गरियो । यो नेपाली साहित्यका लागि एउटा सुखद दिन बनेको छ ।
बिहान सातै बजे दरबार हाइस्कुलमा भेला भएर आठ बजे निकालिएको ¥यालीमा विशिष्ट साहित्यकारका साथै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि संलग्न थिए । त्यस ¥यालीमा ‘वैशाख एक गते साहित्य दिवस मनाऔँ’, ‘साहित्य समाजको ऐना हो’, ‘पठन संस्कृतिको विकास गरौँ’, ‘युवा साहित्यकारलाई प्रोत्साहित गरौँ’, ‘साहित्य सभ्यताको पहिचान हो’ जस्ता विभिन्न नारा लेखिएका प्लेकार्डका साथै साहित्य दिवसको आयोजना गर्ने आयोजक संस्था साहित्य संबद्र्धन केन्द्रका दुई व्यानर अगाडि र पछाडि लागेका थिए । बिचमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू आआफ्ना संस्थाका तुल र व्यानरसहित उपस्थित थिए । अभिवन साहित्य समाज, नारी साहित्य प्रतिष्ठान, मञ्जुश्री साहित्य प्रतिष्ठान, अभिव्यक्ति वाङ्मय प्रतिष्ठान, शब्दाङ्कुर साहित्यिक मासिक परिवार, पेज टर्नर प्रकाशन, मनोहरा साहित्यिक प्रतिष्ठान, अभिनव साहित्यकार कलाकार समाज, लेखनाथ सदन, सामाखुसी साहित्य समाज, शैली साहित्य समाज, अनुपम सिर्जना प्रतिष्ठान, कान्ति भैरव गुरुकुल विद्यालय, लीलाध्वज थापा साहित्य प्रतिष्ठान, भूगोल साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, पण्डित आनन्नदमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान, गोरखा सर्जक समाज, वानेश्वर सर्जक समाजलगायत दुई दर्जन अधिक सङ्घ संस्थाका व्यानर सडकभरि देखिए । यो नेपाली साहित्य क्षेत्रको मात्र नभई समग्र वाङ्मयिक क्षेत्रको उल्लेख्य घटना हो । भविष्यमा यो दिवस सबै अक्षरजिवीहरूको साझा दिवस बन्न सक्छ । यो सम्भावना फलिभूत बनोस् ।
साहित्य दिवसको ¥यालीपछि काठमाडौँ मोडेल कलेजको सभाहलमा विशेष साहित्य दिवस समारोहको आयोजना गरियो । सो समारोहमा विभिन्न स्रष्टाका तेह्र कृतिको लोकार्पण, ती कृतिमाथि परिचर्चाका साथै तेह्र स्रष्टाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई डा. माधव पोखरेल, विजय चालिसे, भुवनहरि सिग्देल, विनयकुमार शर्मा नेपाल, ठाकुर शर्मा भण्डारी र डा. रमेश शुभेच्छुले सम्बोधन गरेका थिए । सबै वक्ताले यस दिवसको सकारात्मक विकासको प्रयत्न जारी राख्नुपर्ने विचार राखेका थिए । यो दिवस आगामी नयाँवर्षमा देशका प्रमुख सहरहरूमा पनि विस्तार होस् र क्रमशः ७७ जिल्लामै पुग्न सकोस् । पालिका र प्रदेशका वार्षिक योजनामा पनि साहित्य दिवसको नाम समेटियोस् । नयाँवर्ष २०८० को हार्दिक मङ्गलमय शुभकामनासहित साहित्य दिवस २०८० को पनि मङ्गलमय शुभकामना ।
– डा. रमेश शुभेच्छु