दिव्य गिरी नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको गट्टा शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले दुई बालसखीहरू बृद्धावस्थामा वृद्धाश्रममा भेट भएको पक्षलाई निकै यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । यस कथाले आजका वृद्धवृद्धाको समस्यालाई निकै जीवन्त ढङ्गले रीता र गीताका माध्यमबाट प्रस्तुत गरेको छ । -सम्पा. |
‘बाबु मलाई सहरको यो अँध्यारो कोठामा एक्लै बस्दाबस्दा पट्याइ लागिसक्यो । चिनेजानेका कोही छैनन् । गाउँ सम्झेर नियास्रो मात्र लाग्छ । पिँजडाको मैनाचरीभैझैं भएर कसरी दिन बिताउने ?’ सहरमा आएको केही दिनपछि आमाले छोरालाई भनिन् ।
‘आमा, सहर भनेकै यस्तै हो । गाउँघर जस्तो त कहाँ हुन्छ र । सहर भनेकै ठूला महलमा सानो मन भएका मान्छेहरू बस्ने ठाउँ हो । गाउँमा पनि तपाईं एक्लै बस्ने हो । यहाँ पनि एक्लै बस्ने । बरू मेरो कुरा मान्नुहुन्छ भने बृद्धाश्रममा जानुस्, त्यहाँ आफूजस्तै मान्छे हुन्छन् । उनीहरूसँग दुःख–सुखका कुरा गर्यो, बस्यो । चाहिने कुराको व्यवस्था म मिलाइहाल्छु । यहाँ उदास दिन बिताउनुभन्दा त्यहाँ गएर खुसी भएर बस्नु जाति ।’ छोराले भन्यो ।
‘जहाँ बसे पनि आखिर एक्लो जीवन बिताउने हो । अब कति नै बाँचिएला र ? यो डेरामा छोरा–बुहारी र नाति–नातिनीको निम्ति पनि अप्ठेरो परेकै छ ।’ यही ठानेर आमाले छोराको कुरा स्वीकार गरिन् ।
‘ए रितु दिदी पनि आयौ ?’ बृद्धाश्रमको ढोका छेवैको फलैँचामा बसिरहेकी गीताले भनिन् ।
गीतालाई त्यहाँ देखेर रितु अर्थात् रिता पनि छक्क परिन् । दुवै जना एकै गाउँका दिदी बहिनी थिए । माइत जाँदा कहिलेकाहिँ भेट हुन्थ्यो दुवै जनाको । तर धेरै वर्ष भइसकेको थियो दुवैको भेट नभएको । गीता पहिलेदेखि नै रीतालाई रितु दिदी भन्ने गर्थिन् ।
‘गीता, इश्वरले हामीलाई यहाँ पनि भेट गरायो ।’ रिताले यति भन्दै गीतालाई अँगालो हालिन् र भनिन्– ‘सानोमा हामी खुबै गट्टा खेल्थ्यौँ । तिमी सधैँ जित्थ्यौ । तिमीलाई सम्झना छ कि छैन ?’
‘हो दिदी, यहाँ पनि हामी गट्टा नै खेलेर बसुँला नि दिदी–बहिनी । अब भने म हारिदिउँला, हुन्छ ?’
यतिवेला तिनीहरू दुवैको आँखाबाट आँसुका ढिका खस्दै थिए गट्टा बनेर ।