शेखरकुमार श्रेष्ठ नेपाली साहित्यका सिर्जना र समीक्षाका दुवै क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘माया’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले देशलाई पाठेघरमा प्रतिविम्बन गर्दै मायाको अर्थ विस्तार गरेको छ । यसमा देशभक्तिको भावना पनि अभिव्यक्त छ । -सम्पा. |
उसले उनलाई प्रेम गर्दै थिए । प्रेमको चरमावस्थामा उसको मुखबाट अनायासै फुत्कियो, “पाठेघर मायाको चिह्न हो ।”
उसको कुरा उनले सुनिन् । उनले कल्पना गरिन्, “पाठेघर देश पो हो । यसमा खेल्दा, हुर्कँदा बढ्दा नै बीजले मानवको रूप पाउँछ । नाम पाउँछ । नागरिक बन्न पाउँछ ।”
“तिमीलाई प्रेममा आनन्द छैन ।”, उनको कल्पनामा बाधा दिँदै उसले प्रश्न गर्यो ।
उनी भने आनन्दमा होइन कल्पनामा थिइन् । उसले के गर्यो उनलाई त्यसको अर्थ रहेन । उनी सोच्न थालिन्, “पाठेघर जीवन पो होला कि ? यसैबाट जीवन हुर्कन्छ, सक्षमताको प्रमाणपत्र लिई जन्मस्थानको मर्यादाका लागि काम गर्छ । अनि अरूलाई जीवन दिन्छ । होइन …. यो मेरो सोच गलत भयो किनभने यसभित्र जीवको पहिचान नै नभई मृत्यु पनि हुन्छ । यसले पाठेघरलाई पनि मृत्यु दिन्छ । यसैमा जीवको अशक्तता पहिचान गरी मृत्युदण्डको सजाय पनि दिइन्छ ।”
“साँच्चै तिमीलाई वास्तविक प्रेम थाहा रहेनछ । न तिमीमा मायाको चिच्याहट छ न मायाको वेदना छ ।”, उसले प्रश्नमार्फत जिज्ञासा राख्यो ।
उनले उसको प्रश्नमाथि दृष्टि पुर्याइन् र मनमनै भनिन्, “पाठेघर मृत्यु हो । यसले जीवन दिने नाममा हरेकलाई चिन्ता, डर र सङ्कट दिएर मार्छ । यसले कृत्रिम रूपमा मात्र होइन, प्राकृतिक रूपमा पनि मार्छ ।”
“के भो तिमीलाई ? मायाको उत्तेजना खोइ ?”, ऊ रिसाएर पर सर्यो ।
त्यसबेलासम्म उनी सोचाइले शिथिल बनिन् र निष्कर्षमा पुगिन्, “माया पाठेघरभित्र होइन । यो पाठेघरभन्दा बाहिरकै राजनीतिमा रुमलिएको हुन्छ ।”
दक्षिणकाली, काठमाडौं