खोलाघरे साहिँलो साहित्यसागरका नियमित लेखक हुन् । उनको परिचयसहित थुप्रै सामग्री साहित्यसागरमा समेटिइसकेका छन् । यहाँ उनको एउटा गजल समेटिएको छ । यस गजलले प्रतीक्षाको विषयलाई उठाएको छ । यस रचनाले आश्वासन धेरै भएको तर त्यसको प्राप्ति नभएको पक्ष उजागर गरेको छ । -सम्पा. |
त्यता लुट्पुटिएर यता आउने गर्थ्यो जो त्यो पवन आएन
लाग्यो, त्यसैसँग यताको पनि हृदयको धड्कन आएन ।
सिंगारिएका सम्झनाका अनेक ताँती जन्ती बनेर आए
तर प्रणयका लागि सजाइएको मण्डप र लगन आएन ।
कल्पनाको आँगनमा गुञ्जीईरहे सनाई र नरसिङ्गाहरू
साँझभन्दा पछि प्रतीक्षा गरेेको चुुराको खनखन आएन ।
मधुमास खोज्दैखोज्दै शिशिरतिर पो पुगेछ बुद्धू भ्रमर !
त्यहाँ वसन्त आएन,भ्रमरको पनि मधुर गुञ्जन आएन ।
उही पवनले यता स्पर्श गर्दा प्रीतिभाव अझ सबल हुन्थ्यो
त्यो स्पर्शको अभावमा नै सबलीकरणको इन्धन आएन ।
लैेला-मजनू,रोमियो-जूलियटहरू अभिनयमा तयार थिए
भौगोलिक दूरीले अभिनयको दृश्यात्मक मञ्चन आएन ।