खोलाघरे साहिँलो साहित्यसागरका अभिन्न लेखक हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको एउटा समसामयिक विषयमा लेखिएको गजल रचना समेटिएको छ । यस रचनाले समकालीन नेपाली राजनीतिप्रति व्यङ्ग्य गरेको छ । -सम्पा. |
बाह्र वर्षमा उनिउँ फुल्यो खै .. के जातिको गन्ध हुन्छ
हत्यारा,अपराधी छुटेपछि, तिनकै बोलबाला बुलन्द हुन्छ ।
आम माफी आगो लाउनेलाई ,ज्यानमारा र लुटेरालाई
अपराधी छुट्नुको अर्थ न्यायप्रणाली नजरबन्द हुन्छ ।
भेडाको सिकार गर्नु हो ब्वाँसाको उद्देश्य जहिले पनि
दाउ छोप्नु मुख्य हो,दाउको न लय हुन्छ न छन्द हुन्छ ।
गम्भीर अवस्था हुँदा सधैं गस्ती गर्छन् उताका शकुुनीहरूले
यताका गिद्ध चाकडीको होडबाजीमा हुुन्छन्,राष्ट्रवाद मन्द हुुन्छ
कृष्ण बोधो भएपछि भीमसेनको आफ्नै चातुर्य नभएपछि
उद्दण्ड शिशुपाल हुन्छ,कंश हुन्छ, विजेता जरासन्ध हुन्छ ।
सत्ताको नशा भूत चढेजस्तै चढ्छ, छोड्दैन मृत्युपर्यन्त
कतै धृतराष्ट्र जन्मान्ध हुन्छ,दूर्योधन सत्तामदान्ध हुन्छ ।
इलाम, हाल काठमाडौँ