केशवप्रसाद उपाध्याय नेपाली भाषासाहित्यका विशिष्ट साधक व्यक्तित्व हुन् । उनको परिचय सिर्जना र समीक्षा दुवै क्षेत्रमा उल्लेख्य रहेको छ । उनी समीक्षकका साथै कुशल निबन्धकारका रूपमा सुपरिचित प्रतिभा हुन् । उनको यही २०७९ फाल्गुन १२ गते शुक्रवार ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधनबाट नेपाली साहित्य जगत्ले एक अशल र कुशल अभिभावक गुमाएको छ ।
उपाध्यायले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकका साथै तात्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य भएर नेपाली भाषा साहित्यको सेवा गरेका थिए । उनले ती संस्थामा रहँदा र नरहँदा पनि निरन्तर कलम चलाएर नेपाली समाजलाई गुन लगाएका थिए । उपाध्याय वि.सं.१९९० पुस १७ गते मकवानपुरको चण्डिनीमा माता प्रेमकुमारी उपाध्याय र पिता तीर्थराज उपाध्यायका पुत्र सन्ततिका रूपमा जन्मिएका उपाध्यायको जीवन निकै उतारचढावपूर्ण रहे पनि उनले समयानुकूल शिक्षा लिँदै संस्कृत साहित्यमा आचार्य र नेपाली साहित्यमा एम.ए. गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनकै क्रममा सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका उपाध्याय नेपाली साहित्य परम्परामा नाट्य र अन्य क्षेत्रका पनि र पूर्वीय साहित्यशास्त्रका पनि आधिकारिक विद्वान् एवम् स्रोतव्यक्तित्वका रूपमा परिचित थिए ।
२०१७ सालमा ’भला आँखो त बचेछ’ नामक लघु लोककथा लेखेर लेखनयात्रा प्रारम्भ गरेका उपाध्ययले जीवनको उत्तरार्द्धसम्म निरन्तर कलम चलाइरहे । उपाध्यायका कृतिमध्ये पहिलो समीक्षा कृति साहित्य प्रकाश (२०३०) नेपाली सैद्धान्तिक समीक्षा क्षेत्रको विशिष्ट कृति मानिन्छ । उनका कृतिमध्ये रिमाल : व्यक्ति र कृति (२०३२) रिमालको जीवनीपरक समीक्षा कृति हो । उनको प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति (२०३२)खोजपरक समीक्षा परम्परामा उल्लेख्य कृतिका रूपमा स्थापित छ । उनका केही रचना, केही विवेचना (२०३२), तरुण तपसीको पुनर्मूल्याङ्कन (२०३४) जस्ता कृति पनि नेपाली साहित्यका अनुसन्धान परम्परामा अधिक सन्दर्भन भएका कृति हुन् । उनको पूर्वीय साहित्य सिद्धान्त (२०३६) नेपाली सैद्धान्तिक समीक्षा परम्परामा साहित्य प्रकाशकै उचाइको अर्को कृति हो । यस कृतिले संस्कृत साहित्य सिद्धान्तको आधिकारिक खुराक नेपाली पाठकलाई प्रदान गरेको पक्ष स्मरणीय छ ।
उपाध्यायका पत्रपत्रिकामा छापिएका सामग्री पनि शोधखोज गर्ने व्यक्तिका नजरमा परिरहन्छ । उनको विचार र व्याख्या (२०४०) समीक्षासङ्ग्रहका सामग्री नेपाली समीक्षा परम्पराका आधिकारिक सामग्री मानिन्छन् । उनका बालकृष्ण समको दु:खान्त नाट्यचेतना (२०४५), नाटक र रङ्गमञ्च (२०५२), पाश्चात्य दु:खान्त नाटकको सृजनपरम्परा (२०५५), नेपाली नाटक तथा रङ्गमञ्च (२०५९), नेपाली शोधपरक समीक्षा परम्पराका उल्लेख्य कृति हुन् ।
नेपाली समीक्षा परम्परामा सैद्धान्तिक, प्रायोगिक एवम् शोधखोजपरक समीक्षामा कलम चलाएका उपाध्ययले नाटकको अध्ययन (२०५६), मन्थन (२०५९), दु:खान्त नाट्यचिन्तन (२०६०), मेरो सृष्टि : मेरो दृष्टि (२०६०), विचार र विश्लेषण (२०६१), नेपाली नाटक र नाटककार (२०६१), लगायतका विशिष्ट कृतिहरूका माध्यमबाट नेपाली वाङ्मयको समीक्षा भण्डारको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएका छन् । उनको निधनबाट नेपाली समीक्षा परम्परामा र साहित्य परम्परामै अपूरणीय क्षति भएको छ ।
उपाध्यायको कलम समीक्षा लेखनमा मात्र होइन निबन्ध सिर्जन कलामा पनि उल्लेख्य थियो । उनका बकैयाको तीरमा तीन मूर्ति (२०५२) संस्मरणसङ्ग्रह, प्रशान्त निलयम्मा तीन दिन (२०५२) संस्मरणात्मक निबन्ध कृतिहरू हुन् । मेरो जीवनकथा (२०७४) उपाध्यायको आत्मकथाकृति हो । उनले यी कृतिबाट आफूलाई विशिष्ट निबन्धकारका रूपमा सथापित गरेका छन् । उनको आत्मकथा धेरैले मनपराएर पढिएको कृति हो । यस सिर्जनात्मक क्षेत्रले पनि उनलाई सधैँ जीवित राख्ने छ ।
मूलत: उपाध्यायको कलम नेपाली साहित्यको प्रामाणिक समीक्षा परम्परामा स्थापित थियो । उनी संस्मरणात्मक निबन्ध लेखनका क्षेत्रमा पनि त्यत्तिकै सफल थिए । यी दुई विधाका साथै नेपाली साहित्यको अभिभावकीय भूमिकामा रहेर उनले विविध काम गरेका थिए । यस क्षत्रमा उनको निधनबाट अपूरणीय क्षति भएको छ । यस दु:खद घडीमा साहित्यसागर परिवार कीर्तिशेष केशवप्रसाद उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
-डा. रमेश शुभेच्छु