गीता सापकोटा युवा पुस्ताकी क्रियाशील स्रष्टा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी सिर्जना र समीक्षा दुवैतर्फ कलम चलाइरहेकी छन् । प्रस्तुत शृङ्खलामा उनको ‘बाँदरका हातमा लड्डु’ शीर्षकको बालकथा समेटिएको छ । यस बालकथाले मानिसलाई बाँदर जस्तो भनेर होच्याउनु भन्दा र बाँदर मानवका पुर्खा हुन् भन्दा रिसाउनु भन्दा गौरव गर्नुपर्ने विषयवस्तु उठाइएको छ । कथाले बाँदरको बालबच्चालाई माया गर्ने र समूहमा मिलेर बस्ने र बाँडेर खाने स्वभाव मानिसले सिक्नुपर्ने सन्देश दिएको छ ।
-सम्पा. |
आज बिहानै म आमासँग सिंहवाहिनी मन्दिर गएँ । तिजको व्रत भएर होला, मन्दिरमा धेरै नै भीड थियो । हरियाली जङ्गलको बिचमा एउटा सानो मन्दिर रहेछ, सिंहबाहिनी मन्दिर । मूल सडकदेखि करिब पाँच मिनेट तल झरेपछि पुगियो ।
आमा पूजा गर्नका लागि लाइनमा उभिनुभयो । म चाहिँ जङ्गलका चराचुरुङ्गीहरू नियाल्न थालेँ । केहीबेरपछि मैले रूखका हाँगा हाँगामा बाँदरका हूल देखेँ । बाँदरले आफ्ना बच्चालाई पिठिउँमा र खोकिलामा बोकेको पनि देखेँ । भक्तजनले चढाउन लगेको लड्डु, स्याउ, केरा चोर्न पनि ती बाँदर पल्केका रहेछन् । यसो वरिपरि पल्याकपुलुक हेर्दैँ एउटा बाँदरले लड्डु चोरेर भागेको त मैले आँखैले देखेँ ।
मैले जीवनमा पहिलो पटक बाँदर देखेको थिएँ । बाँदरको हात र मुख त मान्छेको जस्तै पो हुँदो रहेछ । गुरुले मान्छेका पुर्खा बाँदर हुन् भनेर पढाएको पनि मलाई सम्झना भयो ।
बाँदरहरू हुलहुल भएर बसेका थिए । कहिले छुट्टिएर आहारा खोज्न जान्थे । कहिले मन्दिरको वरिपरि फुत्त निस्किन्थे । केहीबेरमा नै रूखमा गएर बस्थे ।
बाँदरहरू निकै फुर्तिला देखिन्थे । प्रायः सबै बाँदरले हातमा खानेकुरा बोकेका थिए । तीमध्ये मलाई लड्डु बोक्ने बाँदरको खोजी गर्न मन लाग्यो ।
यसो रूखका हाँगाहाँगामा हेरेँ । अलिक परको रूखको हाँगामा चारपाँच ओटा बाँदर थिए । तिनले हातमा लड्डु बोकेर बसेका रहेछन् । मलाई लाग्यो, ‘ती बाँदरले कसरी त्यो लड्डु खान्छन् होला ? स–साना बच्चा पनि ढाडमा र खोकिलामा बोकेका छन् । फेरि पर टुलुटुलु हेरिरहेका बाँदरले आएर खोसे भने ? अब यिनीहरूको लडाइँ नै पर्छ होला । यी बच्चा पनि भुइँमा खस्लान् ।’ मेरो मनमा कतै उत्सुकता त कतै डर पलाइरहेको थियो ।
मैले निकैबेर ती बाँदरलाई नियालिरहेँ । बाँदर त निकै बुद्धिमान पो हुँदा रहेछन् । आमाको माया भन्ने कुरा बाँदरमा ज्यादै हुँदो रहेछ । आफू नखाइ नखाइ आफ्ना बच्चालाई खान दिँदा रहेछन् । एक्लै भएका बाँदरले पनि किउ किउ गर्दै साथी बोलाएर मिलिमिली खाँदा रहेछन् । म त छक्क परेँ ।
मान्छेले कहिलेकाँहीँ बाँदरको हातमा नरिवल भन्दै गरेको सुनेको थिएँ । किन त्यो भनेको होला ? भनेजस्तो लाग्थ्यो । सायद पहिला पहिलाका बाँदरभन्दा अहिलेका बाँदर सभ्य भएर होला । अहिलेका बाँदरको हातमा त लड्डु हुँदो रहेछ । त्यो पनि सबै बाँडेर खाँदा रहेछन् । उनीहरू सहकार्य गर्न र परोपकार गर्न खप्पिस भइसकेछन् ।
यस्तो सुन्दर दृश्य देखेपछि मलाई लाग्यो, अहिलेको जमानामा मान्छे बाँदर र बाँदर मान्छे जस्तो बनेछ ।’ अझै गम्भीर भएर सोचेँ, ‘सायद यिनीहरूले माथि लुकेर खानु भनेको एकलकाँटे बनेको हुँदै होइन । सबैले मिलेर नै खादा रहेछन् । बरु यिनीहरूले परोपकार गर्न खोजेका हुन सक्छन् । कतै भुईँमा बसेर खान थाल्यो भने टाकनटुकुन पारेर खाइन्छ । आफू स्वार्थी बनिन्छ । रूखमा बसेर खाए पूरै आफू मात्रै खाइन्न । खाँदा केही न केही त भुइँमा खसिहाल्छ अनि किरा फट्याङ्ग्रा, गड्यौला र कमिलाहरूले पनि खान पाउँछन् भन्ने पनि यिनीहरूले सोचेहोलान् ।
अहिलेका बाँदर त देवगुण भएका पो रहेछन् । कसैलाई हिंसा गर्ने उद्देश्य यिनीहरूको थिएन । निकै पौरखी, स्वाभिमानी र परोपकारी रहेछन् यी बाँदरहरू । सहकार्य र मायाममता पनि यिनीहरूले बिछट्टै जानेका रहेछन् ।
अब कसैले मलाई बाँदरको सन्तान भन्यो भने म त कहिल्यै दुःखी बन्दिनँ बरु गर्वले फुल्छु ।
इलाम, ७ महभीर
हाल : टीकाथली, ललितपु