चिन्तु गिरीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी निरन्तर कविताकाव्य सिर्जनामा लागिरहेका छन् । मोफसलमा रहेर निरन्तर साधनारत गिरीको प्रस्तुत शृङ्खलामा एउटा गीतिरचना समेटिएको छ । यस रचनाले प्राकृतिक चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
सङ्ला नदी झरना र खोला बन्न पाए
दुनियाँको भोक तिर्खा मेटाउन पाए
पाखा भरी जडिबुटी फाँट फल्थ्यो झौरी
माटो बिर्सि किन टाढा जान थाले मौरी ?
उपकार गर्न बग्छन् नदी सललल
पोख्न मन लागेको छ टार माथि जल
वैलिएको बोट फुल्छ घाम पानी पाए
रात पनि दिन जस्तो लाग्छ माया पाए ।
माटो हावा घाम पानी प्रकृतिकै भर
बिर्सन्छु कि गुन भनि लाग्छ सधैं डर
हात नङ्ग्रा यै माटोमा खियाएर जाउँ
प्रकृतिले दिए जस्तै मैले दिन पाउँ ।
स्याङ्जा