संसार परिवर्तनशील छ । छिनछिनमा मानिसको सोचाइ, व्यवहार र विकासको गति बदलिँदो छ । यस गतिलाई समाएर स्रष्टाले सिर्जना गर्न र आविष्कारहरूले आविष्कार गर्न नसक्ता नयाँ सिर्जना र आविष्कारहरू उपभोक्ताका नजरमा नपरिकनै मरिरहेका छन् । उनीहरूका छनोटमा होइन जानकारीमा पनि नपरिरहेका छन् । आजको कला साहित्य ठिक त्यही समस्यामा छ । मूर्तीकारहरूलाई ढलोटका मूर्तीले विस्थापित गर्दैछन् । कलाका कुचीकारहरूलाई इचित्रकारहरूले विस्थापित गर्दैछन् । सङ्गीतकारहरूलाई कम्प्युटरले तयार पारेको सङ्गीतले छायाँमा पार्दै छ । आख्यानकारहरूलाई टेलिचलिचित्रकार र चलचित्रकारहरूले छायाँमा पार्दैछन् ।
यथार्थ माथि भने जस्तो मात्र हुन्न । जो जसले छायाँमा पारे पनि मूल सर्जक मूल नै हुन्छ । उसका दृष्टिकोणहरू मूल नै हुन्छन् । कलाको मूल आधार हस्तकलामै, चित्रको मूल आधार रङ र कुचीमै हुन्छ तर तिनको परिवर्तीत शैली थाहा पाउन आवश्यक छ । परिवर्तीत सन्दर्भअनुसार कलालाई ढाल्न आवश्यक छ ।
परिवर्तनका सन्दर्भमा पाश्चात्य विद्वान् रेमन्ड विलियमको एउटा भनाइ स्मरणीय छ— ‘केही कालावधिपछि देशको सोच्ने तरिका बदलिन्छ । त्यसरी नै सडकको पनि सोच बदलिन्छ । नजिकैबाट नियालिरहेनौँ भने यो बदलिएको सोचको ताँदो पनि समाउन सकिँदैन ।’ हो आजको समाजमा यही भइरहेको छ । यो हाम्रो समाज हेरेर बोलेजस्तो देखिन थालेको छ । विलियमले बाँचेको समाज सम्भवतः आजको नेपाली समाज जस्तै परिवर्तनशील थियो । त्यस परिवर्तनलाई सम्बोधन गर्ने कलासामग्रीको खाँचो छ भनेर उनले यसो भनेका थिए । त्यसको प्रभाव र प्रभावअनुरूपको खाँचो आज हामीलाई परिरहेको छ । प्रायः कविताका पुराना विम्बहरू पुरानै मानिन थालेका छन् । प्रायः आख्यानका पुराना शैलीहरू पुरानै भइसकेका छन् । प्रायः नाटकका र रङ्गमञ्च सज्जाका पुराना शैली र ढाँचाकाँचामा आमूल परिवर्तन आइसकेको छ । त्यस परिवर्तनलाई स्थापित स्रष्टाले समाउन सकेका छैनन् । नयाँ स्रष्टाहरूसँग गुरुगम्भीर साधनाको धैर्य छैन अनि हामी जहाँको त्यहीँ उभिइरहेका छौँ ।
हो आजको साहित्यमा चिठीका अंश प्रभावकारी बन्न छोडिसकेका छन्, सम्बन्धित साहित्यको इतिहास औँल्याइएन भने । व्यक्तिका एकान्त भेटघाट, घेटघाट जस्ता कुरा कम हुँदै गएका छन् । परिवारहरू साना–साना हुँदै गएका छन् । व्यक्तिगत सम्बन्धहरू टाढा टाढैबाट निकट र निकटमै रहेर टाढा–टाढा पुगिरहेका छन् । देशभक्तिको भाषा फरक छ, पहिचानको भाषा फरक छ । सेवा भनिएका राजनीति, समाजसेवा, धर्मकर्म आदि व्यवसाय जस्ता बनेका छन् । यी विषयहरू हिजो भन्दा फरक बनेका छन् । यी मानिसलाई हेरेर बनाइने धारणा, खेलिने भूमिका र गरिने व्यवहारमा अन्तर भएको छ । आजको साहित्यमा यी पक्षहरू कसरी समेटिइरहेका छन् ? यिनको विम्बन र प्रतिविम्बन कसरी भइरहेको छ ? यी विषयहरू सोचनीय छन् ।
–डा. रमेश शुभेच्छु