वासुदेव पाण्डेय युवा पुस्ताका कवि एवम् गजलकार प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा एउटा जीवनबोधसम्बन्धी गजल रचना समेटिएको छ । यस रचनाले पितामाता, पत्नी, सन्तति, जन्मभूमि र देशलाई केन्द्रमा राखेको छ । यी भन्दा महान् वा खुसी दिने पात्र वा स्थल अरू नहुने गजलकारको ठहर छ ।
-सम्पा. |
बुबा देवता तुल्य हुन् चाल पाएँ
मुमा बिर्सिई तीर्थ बेकार धाएँ
हुँ सङ्घर्ष पर्याय ठान्थेँ म आफू
चल्यो चट्ट जिब्रो र आफैँ लजाएँ
दबाई खुसी चाहना हाँस्छु लाग्थ्यो
स्वयम् श्रीमती सामु देखेँ धकाएँ
थियो आत्मविश्वास संसार जित्ने
म सन्तान सम्झेर झस्केँ, डराएँ
भुली गाउँ आएँ म सम्पत्ति खोजी
थुन्यो लोभका व्यूहले छट्पटाएँ
थियो स्वर्गका पक्षमा बोल्नुपर्ने
म नेपाल सम्झी नबोलेर आएँ ।