गीता सापकोटा युवा पुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको ‘साझा जङ्गल’ शीर्षकको बालकथा समेटिएको छ यस कथाले मानवेत्तर पात्र जनावर र चराचुरुङ्गीलाई पात्र बनाएर बहुमतको निर्णय मान्नुपर्ने र सबैले पालो पाउनुपर्ने प्रजातान्त्रिक सन्देश दिएको छ । कथाको भषाशैली र संरचनालाई अधिकतम बालानुकूलन गरिएको छ ।
-सम्पा. |
इलाम, ७, महभीर
हाल : टीकाथली, ललितपुर
एउटा घनघोर जङ्गल थियो । त्यस जङ्गलमा बाघ, भालु गैँडा, सिंह जस्ता ठुला जनावर बस्थे । त्यहाँ व बिरालो, लोखर्के र मृगहरू पनि प्रशस्त थिए ।
वन घोरल, स्याल, दुम्सी, बाँदरलगायतका जनावरहरूको पनि बस्ती थियो । त्यहाँ चराचुरुङ्गी र किराफट्याङ्ग्रा पनि त्यतिकै थिए । जङ्गल सबैको साझा घर थियो । जङ्गलका जनावरहरू प्राय: मिलेर बस्थे । कहिलेकाहीँ ठुलो झगडा चल्थ्यो । एउटै जङ्गलमा बसेका जनावरहरूबिच झैझगडा हुन थालेपछि सबै चिन्तित भए । उनीहरूले एउटा जङ्गल प्रमुख आवश्यक ठान्न थाले । सबै जनावरहरूले सभा गरेर एउटा प्रमुख छान्ने तिथिमिति निर्णय गरे ।
आइतवार बिहान सबै जनावर भेला भए। जङ्गलको छेउमा रहेको ठूलो पिपलको फेद उनीहरूको सभाास्थल थियो । त्यस सभामा सिंहले निकै फूर्तिफार्ती देखाइरहको थियो । उसले नै गैँडालाई कार्यक्रम सञ्चालन गर्ने अनुमति दियो । गैँडाले सबै साथीहरूबिच भेलाको उद्देश्य बतायो र सिंहको सल्लाहअनुसार जङ्गलको प्रमुख चुन्नका लागि सबैलाई केहीबेर छलफल गर्ने समय दियो ।
केही समयपछि हतारिँदै स्यालले हात उठायो । उसले भन्यो, हैन, हाम्रो जङ्गल र बस्ती धेरै ठुलो भइसक्यो । त्यसैले ठुलो जनावरले नै यस जङ्गलको प्रमुखको जिम्मा लिन सक्ला जस्तो मलाई लाग्छ ।
त्यसपछि लोखर्केले हात उठायो । उसले भन्यो, सामूहिक छलफलबाट आएको कुरा म मान्छु अहिले जङ्गलमा अब प्रमुख अवश्य चाहिएको छ । यसका लागि हात्ती उपयुक्त हुन सक्छ । उसले अर्काको विनाशै गरिहालूँ भन्ने कहिल्यै ठान्दैन । ठुलो जनावर हात्तीलाई सबै जनावरको प्रमुख बनायो भने पक्कै राम्रो हुन्थ्यो होला ।’ लोखर्केपछि कसैले भालु, कसैले बाघको नाम पनि लिए । त्यहाँ ठुलो जनावर भए पनि सिंहको नाम भने कसैले लिन चाहेनन् ।
मृग चुप लागेर बसेको थियो । उसको विचार सुन्न पाए हुन्थ्यो भन्ने सबैले चाएका थिए । सबैले बोल्न भनेपछि मृगले भन्यो, ‘सानाको पनि दिन आउनुपर्छ । कुनै कार्यको सुरुवात आफैबाट हुनुपर्छ । आफू सुध्रिएर मात्र समाजलाई सुधार गर्न सकिन्छ । यसका लागि अहिलेसम्म आफ्नो बासस्थान पनि बलियो बनाउन नसक्ने, अर्काको घर पनि भत्काउँदै हिँड्ने जनावरमा मैले बाँदरलाई देखेको छु । यो जनावर अरूभन्दा सानो पनि छ त्यसैले यो साझा पृथ्वीमा उसलाई प्रमुख बन्ने अधिकार दियो भने राम्रो होला ।’
मृगको कुरा सुनेर सबै जनाले गड्गडाहट ताली बजाए । बाँदरले गोलो घेरा लगाएर बसेका सबै जनावरलाई एकपटक हेरेर नमस्कार गर्यो । त्यसपछि भालुलाई सोधियो– ‘बाँदरलाई यस जङ्गलको प्रमुख बनाउने सम्बन्धमा तपाईँको विचार के छ ?’ भालुले पनि सबैले ठिकै ठान्नुहुन्छ भने कुरो मनासिफ नै हो भन्ने विचार राख्यो ।
सभालाई लम्याएर ढिला गर्नुभन्दा अलि चाँडै सक्ने सोचले गैँडाले भन्यो, ‘ल बाँदरको पक्षमा कति जनावर हुनुहुन्छ ? हात उठाउनुहोस् ।’ यति भन्न नपाउँदै सिंह, बाघ, र चितुवाबाहेक सबैले हात उठाएर बाँदरको समर्थन गरे । सबैले खासखुस गर्दै थिए, ‘बाँदर निकै फुर्तिलो छ । उसले चाह्योे भने निकै राम्रा काम गर्न सक्छ । अग्ला रुख चढ्न र फलफूल झारेर मद्दत गर्न सक्छ । जङ्गलमा छिटो कुद्न उसलाई कसैले भेट्दैन । यहाँ ठूला जनावरको मात्र कुरा भएन, क्षमता भएको जनावरको कुरा आयो, त्यसका लागि बाँदर नै योग्य छ ।’
सबैले बाँदरको समर्थन गरिरहेको देखेर गैँडाले बाँदरलाई आफ्नो विचार राख्न भन्यो । बाँदरले पनि कपाल मिलाउँदै भन्यो, ‘जङ्गल सबैको साझा घर हो । यहाँ सबै जनावर मिलेर बस्नुपर्छ । पहिलादेखि हामी मिलेरै बसिरहेका पनि छौँ । प्रकियागत रूपमा एउटा प्रमुख भए राम्रो हुन्थ्यो भन्ने कुरा हो । यसका लागि प्राय: सबैले मलाई विश्वास गर्नुभयो । म विश्वासघात गर्न सक्दिनँ । बरु आफैबाट परिवर्तनका लागि सकारात्मक कदम चाल्न तयार हुनेछु । यस जङ्गलका सबै जनावरका लागि जतिसक्दो राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
बाँदरका कुराले सबै जना खुसी भए । सिंह र बाघ पनि मौन रहे । बहुमतको कदर हुने नै भयो । सभामा आएका जनावरहरू सभा समापन भएको थाहा पाएर एकएक गर्दै बाहिरिन थाले । बाँकी भएका केही हात्तीले बाँदरलाई फूलमालाले स्वागत गर्दै बधाई दिए ।
सभा सकेर सबै जनावर आ–आफ्नो बासस्थानतिर लागे ।