नेपाली साहित्यकारहरूका बिचमा एउटा चर्चा कहिलै पुरानो भएन । त्यो चर्चा हो साहित्यका पाठक घटे, कृति किनेर पढिदिने कोही छैन लेखेर मात्र के गर्नु, मेरा त सबै किताबहरू प्रेसमै थन्किएका छन्, आदि आदि । पठनसंस्कृति कमजोर हुनुमा पाठक मात्र दोषी हुँदैनन् । यसमा लेखकहरू पनि दोषी हुन्छन् । लेखकले पाठकलाई नचाहिने कुरा लेखन गर्नाले पो यसो भइरहेको छ कि ? लेखकले आफूले बुझेको विषयलाई मात्र सिर्जना र अधिसिर्जना गरिरहेको छ कि ? लेखक भुइँमान्छेहरूभन्दा टाढा छ कि ? यी विविध पक्ष सोचनीय छन् ।
बेलायती विद्वान् रेमन्ड विलियम्सका अनुसार लेखकले लेखेर मात्रै पुग्दैन । त्यस लेखलाई सडकमा, मजदुरहरूका बिचमा, भुइँमान्छेका मष्तिस्कमा पुर्याउनुपर्छ । उनले लेखनलाई जमिनसँग, सम्बनिधत भषाका वक्ता र पाठकसँग जोड्न भनेका थिए । सडकसँग जोड्न भनेका थिए । उनी माक्र्सवादी चिन्तक हुँदा पुँजीवादी चिन्तक र लेखकले त्यस विषयलाई उति महत्त्व दिएनन् तर उनको विचार आज क्रमशः प्रस्ट हुँदै आएको छ । आज लेखिइरहेको नेपाली साहित्य उनले भनेजसरी कहाँ कहाँ जोडिएको छ ? के हाम्रो साहित्य सबै पाठकको विषय बनेको छ, सडकको विषय बनेको छ ? आम मजदुर वा अक्षर मात्र चिन्ने पाठकको विषय बनेको छ ? जति हेरे नि प्रश्न लिएर उत्तर खोजिरहनुपर्ने अवस्था छ ।
लेखनको जग सम्बन्धित लेखक बाँचेको परिवेशमा हुन्छ । त्यो परिवेश भनेको लेखकको संसार पनि हो, लेखकको संस्कृति पनि हो । संस्कृतिमा मान्छेका साझा व्यवहार हुन्छन् । बुझ्ने लेखकको लेखनको विषयवस्तु नै संस्कृति बनिरहेको हुन्छ । संस्कृति वा विषयवस्तुकोे आधार नबुझी सिर्जनात्मक अधिसंरचना पाठकले मात्र होइन समीक्षकले पनि बुझ्दैनन् । सबैको प्रिय र सबैले बुझ्ने साहित्य लेख्न सम्बन्धित परिवेश वा संस्कृति राम्रोसँग बुझेको कलम चाहिन्छ । कोठामा बसेर लेखिएको साहित्यभन्दा समाज र संस्कृतिसँग भिजेको साहित्य जीवन्त हुन्छ । यो भिजाइसहितको लेखन के कति भइरहेको छ ? प्रश्न यहाँनिर छ ।
विश्वसाहित्यलाई हेर्दा लेखकहरू आफ्नै परिवेश र आफ्नै विषय लेखिरहेका हुन्छन् । सकेसम्म आफ्ना संस्कृति र सभ्यताको अधिसिर्जन गरिरहेका हुन्छन् । इतिहास, पुराण र लोकवार्ताका विषयवस्तुको पुनःसिर्जन गरिरहेका हुन्छन् । त्यसैले ती साहित्य सम्बन्धित समुदायका लागि प्रिय छन् र विश्वका पाठकका लागि पनि प्रिय छन् । नेपाली स्रष्टाहरूको ध्यान यतातिर पनि जान सकोस् ।
– डा. रमेश शुभेच्छु