सोम निरौला मोफसलमा रहेर निरन्तर साहित्य र शिक्षासेवा गरिरहेका प्रतिभा हुन् । उनका कविता सिर्जना साहित्यसागरमा समेटिइसकेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘घुम्ती उकाला’ बोलको गजल रचना समेटिएको छ । बहरबद्ध यस गजल रचनाले जस्तासुकै बाधा आए पनि आफ्नो लक्ष्यमा निरन्तर लागिरहनुपर्ने विचार अभिव्यक्त गरेको छ । – सम्पा |
घुम्ती उकाला र सिँढी सरापी
मिल्दैन गन्तव्य कहीँ कदापि
छोडौँ गुणा भाग घटाउ जोड
लेख्दै र मेट्दै भरिएछ कापी
खाल्डो परे थर्थर काम्छ आफू
के हुन्छ साथी गहिराइ नापी ?
विश्वस्त छैनन् कहिल्यै परेवा
ढुक्छन् सिकारी कति जाल थापी
हो खेल खेल्दा जित हार हुन्छ
मैदान छोड्ने किन हो तथापि ?