रामगोपाल आशुतोष नेपाली साहित्य र सञ्चार क्षेत्रमा स्थापित प्रतिभा हुन् । उनी कविता सिर्जनाका क्षेत्रमा अबल छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सङ्गीतको व्यवसायिकता विषयक समसामयिक लघुलेख समेटिएको छ । यस लेखले केही तथ्यसहित सङ्गीत कम्पनीका विषयमा सशक्त आवाज उठाएको छ । -सम्पा. |
यो कसैलाई होच्याउन खोच्याउन लेखेको होइन । न्यायको पक्षमा आवाज हो । मैले रेडियोमार्फत धेरै बोलेँ । अब सामाजिक सञ्जाल वा आमसञ्चारमा बोल्नुपर्छ ।
सङ्गीत उद्योग रे अनि किनबेच वा खरिदविक्री नहुने ? भन्ने प्रश्नको जवाफ आजसम्म कुनै गायक सङ्गीतकारले दिन सकेका छैनन् । उद्योगमा लगानी मात्र हुन्छ हो ? लगानी फिर्ता हुनु पर्दैन भन्ने प्रश्नको जवाफ पनि अअजसम्म पाएको छैन ।
पद मात्र ओगट्ने ? आफ्नो कार्यकालमा सिन्को नभाँची गुनासो मात्र गरिरहने ? कतिञ्जेल ?
शब्द रचनाकारको आवाज कसले सुन्ने ? गीतकार सङ्घले गर्छ के ? दलको चाकरी र जातको लङ्गौटी समातेर बस्ने ?
मैले केही नभए नि ३ सय सङ्गीतकार गायकहरूसित अन्तर्वार्ता लिएँ । आजसम्म शब्द रचनाकारको पक्षमा बोल्ने मान्छे नै भेटेको छैन । सङ्गठन छ नेतागिरी गर्नका लागि र मञ्चमा सभाध्यक्ष बन्नका लागि । अनि नेता र ठूलोपदका व्यक्तिको चम्चागिरी गर्नका लागि । मेरो कुराले घोच्ला र दुख्ला । सत्य स्वीकार गर्ने हिम्मत गर्ने छैनन् तिनले ।
ती अन्तर्वार्तामा मैले सबैसँग सोधेको छु गीत कसको भनेर ? ती रचनाकारको कौडी भाउ छैन । लाभको पदमा बसेकाको नाम आदरका साथ लिइन्छ ।
शब्द, सम्पत्ति आदि सक्काएर सङ्गीतकार, कलाकार, गायक पाल्ने लेखक किन सम्मानको हकदार बन्दैन यो देशमा ?
सम्मेलनमा, सभामा गीतकारको नाम पनि नलिने नामर्द गायकगायिकाहरूको बिगबिगी छ ।
तिनीहरूले गीत चलेको खण्डमा त्यो गीतको सम्पूर्ण श्रेय लिन्छन् । महल बनाउँछन् । सान र मान तिनीहरूलाई नै दिइन्छ । र, ती गीत गाएर कमाउनेले मैले फलानो गीत गाएर यति पैसा कमाएँ तिमीलाई यति है भनेर गीतकारलाई पैसा फर्काउनु पर्दैन ? आफ्नै लगानी गरेर दु:ख गर्ने गायकहरू पनि छन् । लेखकलाई पैसा वा पारिश्रमिक दिएर गीत गाउने गायक पनि छन् । तिनलाई शोषण गर्ने मिडिया सयौँ छन् ।
चलेका र सफल गायकको लङ्गौटी मात्र बन्ने मिडियाको कमाउने धन्दा छ । त्यहाँ म जान चाहन्न ।
गीतकार वा लेखकको गीत गाउँदा मेरो मूल्य यति हो भनेर माग्नेले त्यही गीत गाएर कमाएको ख्यातीको मूल्य तिर्नु पर्दैन ?
सङ्गीतकार, व्याध्यवादक र स्टुडियो कहिल्यै घाटामा नजाने (लगानी त अति छ । श्रम र परिश्रम साधना आदि पनि छ । त्यसको सम्मान छ ।) अनि शब्द रचनाकार सधैँ छायामा पर्नुपर्ने ?
आफू प्रख्यात भएपछि प्रख्यातीको जग वा बीउ बिर्सने ? गु ण तिर्नु परेन ? आफू मात्र खाएर बाँचेर पुग्यो ?
शब्दको सम्मान पैसाको आधार मात्र हो ? आफू बाँचौँ र अरूलाई पनि बचाऔँ भन्ने भावना कहिले आउला ?
सकेसम्म व्यापक सल्लाह गरौँ । गीत चलेको खण्डमा गायकगायिकाले कमाएको पैसा गीत रेकर्डिङ र भिज्युअलाइजेशनमा भएको लगानी भएको रकम फिर्ता गर्ने मापदण्ड निर्माण गरौँ । सङ्गीतमा लगानी बालुवामा लगानी भनेर मैले १५ वर्षअघिदेखि चलाइरहेको कार्यक्रम कफी विद आशुतोषका इपिसोडहरू सुनौँ ।
के अब ढिला भएको छैन ? सधैँ घाटामा अरूलाई धनी बनाउने ? एकोहोरो रोटी कति पकाउने ?
आउनूस् छलफल शुरु गरौँ ।