शिशिर भट्टराई युवा पुस्ताका उल्लेख्य कविप्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी आफ्नो पुस्ताका राम्रा गजलकार हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘कहाँ मिल्छ शान्ति’ बोलको गजल रचना समेटिएको छ । यस रचनाले शान्ति भाला समाएर नपाइने चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
कहाँ मिल्छ शान्ति समाएर भाला,
तिमी हाँस्न खोज्छौ बिगारेर चाला
फलाएर बाला निदाइन्छ साथी,
निदाइन्न कैले लगाएर बाला
थिएनन् र आफ्ना गयो रोजगारी,
कतै भाइ रोजे कतै देख्छु साला
ठुलै दम्भ राख्यौ अहो रूप माथि,
जवानी हराए मुजा पर्छ गाला
बनायो कसैले उता दिव्य मूर्ति,
यता ल्याउनेको भयो फूलमाला ।