साहित्यसुधा नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा गत २२ मंसिर, २०७९ बिहिबारका दिन साहित्यसुधा नेपालका उपाध्यक्ष एवम् प्रगतिशिल लेखक सङ्घ, भक्तपुरका अध्यक्ष कवि गणेश घिमिरे ‘मार्मिक’ द्वारा रचित महाकाव्य ‘श्रीधरा’ को सार्वजनिकीकरण भयो । समारोहको अध्यक्षता सोही संस्थाकी अध्यक्ष कल्पना काफ्लेले गर्नुभएको थियो भने प्रमुख अतिथि हुनुहुन्थ्यो– वरिष्ठ विद्वान् प्रा.डा.माधवप्रसाद पोखरेल । साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रको उद्घोषण आयोजक संस्थाका सह–सचिव कृष्णदेव रिमाललले गर्नुभएको थियो भने उपस्थित पाहुनाहरूलाई सोही संस्थाका सदस्य राजेन्द्र घिमिरेले स्वागत गर्नुभएको थियो ।
उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकारका पूर्व सचिव तथा लोक सेवा आयोगका पूर्व मा.सदस्य साहित्यकार डा.गोविन्द कुसुम, नेपाल सरकारका पूर्व सचिव श्री तुलसीप्रसाद भट्टराई, संस्थाका संरक्षक डा.रामप्रसाद ज्ञवाली, आयोजक संस्थाका सल्लाहकारद्वय कवि कलानीधि दाहाल र कृष्ण प्रसाईँ एवम् डा.रमेश शुभेच्छु रहनुभएको थियो । त्यसैगरी अन्य अतिथिहरूमा विभिन्न सुपरिचित साहित्यकारहरू रहनुभएको थियो ।
विमोचित कृति ‘श्रीधरा’ महाकाव्यका बारेमा आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्ने क्रममा वरिष्ठ समालोचक तथा छन्द अभियन्ता कवि डा.रामप्रसाद ज्ञवालीले श्रीधराका स्रष्टा गणेश मार्मिक यति सिद्घहस्त कवि हुनुहुन्छ भन्ने कुरा यस महाकाव्यबाट जानकारी पाएको उल्लेख गर्दै कृतिभित्र शब्दचित्रमा सिङ्गो नेपालको चित्र उतारिएको बताउनुभयो । उहाँले प्रस्तुत महाकाव्यमा नेपालका लोपोन्मुख विभिन्न बाजागाजा, नृत्य, मठ मन्दिर, प्राकृतिक स्रोत साधन, जातजाति, भाषाभाषी र इतिहासको गहन खोज अनुसन्धान मात्र गरिएको छैन त्यसलाई बडो कुशलतापूर्वक छन्दमा उन्ने अभूतपूर्व कलाको प्रदर्शन समेत गरिएको भनी महाकाव्यकारको काव्यशिल्प, क्षमता र कुशलताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । समीक्षक ज्ञवालीले राष्ट्र र राष्ट्रियतालाई मुख्य विषयवस्तु बनाई नेपाल राष्ट्रको वृहत् चिनारी दिन श्रीधरा महाकाव्य सफल भएको र गहन खोज अनुसन्धानमूलक ग्रन्थका रूपमा नेपाली साहित्यको भण्डारमा श्रीधरा महाकाव्यले छुट्टै स्थान बनाएको चर्चा पनि गर्नुभयो ।
त्यसैगरी स्रष्टा परिचयका क्रममा डा.रमेश शुभेच्छुले शालीन, शिष्ट र अन्तरमुखी व्यक्तित्व भएका महाकाव्यकार गणेश मार्मिक पद र प्रचारमा भन्दा सिर्जनामा रमाउने मानिस भएको उल्लेख गर्नुभयो । विभिन्न एक दर्जनभन्दा बढी पुरस्कार, अभिनन्दन, सम्मान तथा कदरबाट विभूषित स्रष्टा मार्मिकका अन्य प्रकाशित कृतिका बारेमा जानकारी दिँदै उनको मिहिनेत, काव्यक्षमता, काव्यशिल्प र शब्द संयोजन कलाको चर्चा गर्दै महाकाव्यको उत्कृष्टताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले घिमिरेज्यू आफ्ना सहकर्मी र संगठित व्यक्तित्व पनि भएकाले उहाँ पद र प्रतिष्ठाभन्दा काममा विश्वास गर्ने पत्र हुनुहुन्छ ।
कार्यक्रममा विशिष्ट अतिथि डा.गोविन्द कुसुमले पनि स्रष्टा घिमिरेको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँबाट सिक्नुपर्ने धेरै कुरा भएको उल्लेख गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । कवि कलानीधि दाहालले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा कविहरू– सुशिला शर्मा धमला, पूजन मिश्र, सविता बराल तथा इन्दिरा दाहालले आ–आफ्नो सुमधुर स्वर र शैलीमा श्रीधरा महाकाव्यबाट केही काव्यांशहरू पाठ गरेर कार्यक्रममा रोचकता थप्नुभएको थियो । महाकाव्यकार मार्मिकले यस महाकाव्यमा दिवङ्गत साहित्यकार वसन्तकुमार शर्माको आशीर्वाद मिसिएको चर्चा सहित आफ्ना केही कुराहरू राख्दै सम्बद्घ सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति उल्लेखनीय थियो । अन्त्यमा कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी कल्पना काफ्लेले धन्यवाद ज्ञापन सहित साहित्यसुधा नेपालका बारेमा सङ्क्षिप्त जानकारी राख्दै सभा विसर्जन गर्नुभयो । कार्यक्रमको अन्त्यमा स्रष्टाको तर्फबाट चियापानको पनि राम्रो व्यवस्था गरिएको थियो ।