नेपालका तीन वटा प्रज्ञा-प्रतिष्ठानको गणतन्त्रकालीन तेस्रो कार्यकाल सकिएको छ । २०१४ सालदेखि एउटा प्रज्ञा-प्रतिष्ठान अस्तित्वमा रहेकामा गणतन्त्र कालमा विषय र विधाअनुसार तीन वटा प्रतिष्ठान बने । तीन वटा प्रज्ञा-प्रतिष्ठान भइकन भाषासाहित्य, इतिहास र संस्कृतिका साथै दर्शन र सामाजिक शास्त्र जस्ता वाङ्मयिक विषयका विधा उपविधाका क्षेत्रका विकासमा लागिपर्दै कमलादीको प्रतिष्ठान अगाडि बढिरहेको छ भने अरू दुईमध्ये एउटा सङ्गीत र नाट्य क्षेत्रका विधा उपविधा र अर्को चित्रकला, मूर्तिकलालगायत ललितकलाका विधा उपविधाहरूको विकास गर्ने बागडोर समालेर अगाडि बढिरहेका छन् । यस दृष्टिले हेर्दा गणतन्त्रपूर्व कालभन्दा गणतन्त्र कालमा फरक फरक विधाका प्रतिभालाई प्राज्ञका रूपमा राज्यले आदर गरिरहेको छ । यी फरक तीन वटा प्रतिष्ठानले प्रतिभाहरूको सम्मान, कृतिहरू प्रकाशन, अनुसन्धानहरू गराउनका साथै प्रकाशन, विधागत पत्रपत्रिका पनि प्रकाशन गरिरहेका छन् । यिनले समग्रमा कलासंस्कृतिका माध्यमबाट राज्यको रक्तसञ्चारको काम गरिरहेका छन् ।
अहिले प्रदेश प्रज्ञा-प्रतिष्ठानहरूको कुरा पनि चलिरहेको छ । कतिपय नगरपालिका र गाउँपालिकाले आआफ्ना पालिकास्तरका प्रज्ञा-प्रतिष्ठान पनि बनाइरहेका छन् । यसो गर्दा प्राज्ञ पदको गरिमा खस्कने धेरैको अनुमान छ । विकेन्द्रीकरणले खस्कने भन्दा मजबुत हुने अनुमान र बुझाई आम जनप्रतिनिधि र सरोकारवालाको छ । जे भए पनि प्रज्ञा-प्रतिष्ठान नामका निकायले समाजको विकास एवम् रूपान्तरणमा सांस्कृतिक योगदान दिइरहेका छन् । नयाँ प्रतिभा जन्माउने काम पनि गरिरहेका छन् र आआफ्नो ठाउँबाट प्रतिभाहरूको संरक्षणको काम पनि गरिरहेका छन् । यो गणतन्त्रकालको उन्नति पनि मान्नुपर्छ । यद्यपि पालिकामा खुल्ने प्रतिष्ठानहरूको कुनै पनि सम्बन्ध केन्द्रीय तीन वटा प्रतिष्ठानसँग देखिँदैन ।
केन्द्रमा तीन वटा प्रज्ञा-प्रतिष्ठान भए पनि धेरैको आँखा भाषासाहित्य र वाङ्मय केन्द्रित प्रतिष्ठानमै केन्द्रित छ । यहाँ विकास छ र वेथिति छ भन्नेको दोहोरी चलिरहेको छ । सारमा संस्था उन्नत अवस्थामै छ । अहिले गरेका काम राम्रै छन् । यी काम कसरी राम्रा छन् वा कसरी नराम्रा छन् त आगामी परिषद्का काम पनि हेरेपछि तुलना गरिने हो तर अहिलेसम्म हेर्दा संस्था निकै सक्रिय बनेको छ । तीन वटै प्रतिष्ठान भन्दा मूल प्रतिष्ठान सक्रिय बनेको छ । सक्रियताले आलोचना वा प्रशंसा निम्त्याउनु स्वाभाविक हो । इतिहासदेखि असाध्यै उचो मर्यादा बोकेर आइरहेको संस्था हुँदा यसका केही गतिविधिलाई लिएर प्रश्न उठ्नु र केहीलाई लिएर प्रशंसा हुनु स्वाभाविकै पनि हो । सबैको प्रयत्न भने गरिमा उचो बनाउनेतर्फ नै केन्द्रित हुनुपर्ने छ ।
प्रज्ञा-प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारीवाला संस्था हो । यस्ता संस्थामा नेतृत्व वा कुनै एक दुई कार्यकाल रहने व्यक्तित्वहरू गौण रहन्छन् । समग्रमा संस्थाको भलो भएको छ कि छैन, संस्था उन्नत मार्गमा छ कि छैन, प्राज्ञहरूको अवस्था वा योगदान के छ भन्ने विषय हेरिन्छ । यस दृष्टिले मूल प्रतिष्ठान र अरू प्रतिष्ठान पनि उन्नतिकै मार्गमा छन् । काम बढी भएकाले मूल प्रतिष्ठान केही विवादमा आयो तर संस्थालाई त्यस्तो वदनाम बनाउने वा घाटामा पुर्याउने काम केही भएको छैन । प्राविधिक रूपमा भएका केही कमजोरी समयक्रममा सचिने छन् ।
अब बन्ने प्रज्ञा-प्रतिष्ठानका परिषद् एवम् सभाहरू हिजोका भन्दा मजबुत र त्यत्तिकै गरिमापूर्ण हुन आवश्यक छ । ती सभा र परिषद्का पात्रहरू साँच्चै प्रज्ञागुणले सम्पन्न हुन आवश्यक छ । सम्बन्धित क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरू पहिचान र उनीहरूको सम्मानित नियुक्ति हुन आवश्यक छ । प्रतिष्ठानहरू राज्यका अन्य परिषद्, कोश, विकास कोष, परिषद्, आयोग जस्ता मात्र नियुक्ति लिनेदिने खालका संस्था होइनन् । आज बजारमा सस्तो भाषामा भन्ने गरिएको कार्यकर्ता व्यवस्थान गरिने ठाउँ त झन् हुँदै होइनन् । त्यहाँ जान रहर गर्ने प्रतिभामा प्रज्ञावान् सामथ्र्य आवश्यक छ भन्ने नियुक्ति दिने निकायले पनि इतिहास र अब विकास गर्नुपर्ने गरिमा बुझ्न आवश्यक छ । राजनीतिक दललाई योगदान दिएका व्यक्ति मात्र भन्दा पनि यस किसिमका उच्च प्रतिष्ठानको गरिमाका लागि योगदान दिएका र दिन सक्ने व्यक्तित्वको छनोट हुन आवश्यक छ । यी प्रतिष्ठानले विश्वका अन्य मुुलुकका प्रतिष्ठानका प्राज्ञहरूसँग सहकार्य गर्न आवश्यक छ । यसतर्फ सबै सरोकारवाला निकायको ध्यान पुगोस् ।
-डा. रमेश शुभेच्छु