रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवा पुस्ताका बहुविध विधामा कलम चलाउने प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सानो टुकी बाल्न गाह्रो’ बोलको गजल समेटिएको छ । यस गजलले राजनीतिक परिवर्तन भयो भनिए पनि तात्त्विक परिवर्तन नभएको पक्ष उजागर गरेको छ ।
-सम्पा. |
कुकुर हैन जहान बच्चा पाल्न गाह्रो भा’छ
मट्टीतेलको सानो टुकी बाल्न गाह्रो भा’छ
पर पर पुग्ने हैन मिटर नाप्न पनि
सोझो बाटो गरी कदम चाल्न गाह्रो भा’छ
अशिक्षा र अन्धविश्वास, लोकविश्वास छ
छिमेकीको त्रास पनि फाल्न गाह्रो भा’छ
घाम पनि पिरै गर्छ पानी पनि पिरै
चुहिराको घरको छानो टाल्न गाह्रो भा’छ
कहाँ फिस कहाँ किताब कापी कलम कता
सन्तानलाई पोसाक नै हाल्न गाह्रो भा’छ
गणतन्त्र आयो भन्छन् जनतन्त्र आयो भन्छन्
कहाँ आयो विश्वास गरिहाल्न गाह्रो भा’छ।