हास्यव्यङ्ग्य सिर्जनाका प्रमुख क्षेत्रहरू हास्यसाहित्य, हास्यचित्रकला र प्रहसन वा अभिनय हुन् । यी क्षेत्रमा आज प्रशस्तै हास्यसर्जकहरू देखिएका छन् । हास्य भनेको हास्नलायक अर्थात् परिहासयुक्त विषयवस्तुको जीवन्त कथन हो । यसमा व्यङ्ग्य नजोडिन पनि सक्छ । नजोडिए हास्य मात्र हुन्छ जोडिए हास्यव्यङ्ग्य हुन्छ ।
व्यङ्ग्यको अर्थ अविधा र लक्षणाभन्दा पर व्यञ्जनावृत्तिद्वारा बोध हुने गहिरो अर्थ हो भन्ने बुझिन्छ । यसको सम्बन्ध हास्यसँग नजोडिन पनि सक्छ । यो हास्य भन्दा निकै गहन विषय हो । व्यङ्ग्यको विशेषता भनेको साहित्य वा चित्रकला वा अभिनयमा पनि शब्द वा कथनमा एउटा कुरा भनिए तापनि अर्थ नसोचेको अर्को वा विशेष लाग्ने हुन्छ । यो सिर्जन सामर्थ्यका बारेमा पूर्वीय काव्यशास्त्रीहरूले ध्वनि र वक्रोक्तिका सन्दर्भमा विशद् चर्चा गरेका छन् । यस पद्धतिलाई गुडार्थ, साङ्केतिक अर्थ, छेडखान, छनक आदि पनि भनिन्छ । पश्चिमाहरूले यसलाई आइरनीका रूपमा र सटायरका रूपमा अथ्र्याएका छन् । यो आजको जस्तो खुला समाज भन्दा पनि हिजो बन्द समाजमा अझ प्रिय विधा थियो । आज भने यो विधा वा शैली मनोरञ्जनको सहज विधा वा शैली बनेको छ ।
हास्यव्यङ्ग्य , साहित्य, चित्रकला वा अभिनयमा तत्काल एउटा कुरा भइराखेको हुन्छ र प्रकारान्तरले अर्को कुरा बुझिन थाल्छ । त्यसले पाठक वा दर्शकका मनमा छिनमै भिन्न तरङ्ग ल्याउँछ । आइरनी वा व्यङ्ग्य कुनै घण्टा बज्दा पहिले सुनिने ट्याङ्ङ्ङ आवाजपछि आउने र्याङ्ङ्ङ ध्वनिजस्तो रन्को हो । कुनै अप्रत्यासित घटना सुनेपछि मनमा परेको तरङ्ग जस्तो हो । शान्त पोखरीमा फुत्त ढुङ्गा फालेपछिको तरङ्ग जस्तो हो । यसलाई यस्ता अनेक उदाहरणबाट देखाउन सकिन्छ । वास्तविक हास्यव्यङ्ग्य कलाको आस्वादनमा भावकको मन अपूर्व रूपमा रोमाञ्चित बन्दछ ।
यहास्यव्यङ्ग्य रचना भन्नाले कुनै अभिव्यक्तिद्वरा हँसाउने र छेड हान्ने काम एकैचोटि गर्ने खालको रचना भन्ने हुन्छ । यसको प्रयोग साहित्यका कविता, नाटक, निबन्ध जस्ता विविध विधामा देखिए पनि मूलतः निबन्ध विधामा परिपाक भएको तथ्य पाइन्छ । त्यस्तै चित्रकलातर्फ कार्टुन चित्रमा र अभिनयतर्फ हास्य टेलिश्रिङ्खला, हास्यचलचित्र,बालचलचित्र, बाल टेलिचलचित्र, विज्ञपन, मञ्चीय प्रहसन, नाट्यप्रस्तुति आदिमा उपयोगी देखिन्छ ।
ऐतिहासिक दृष्टिले हास्यव्यङ्ग्य साहित्यका विविध विधामा प्रयोग हुने , कलाकारिताका मूलतः चित्रकलामा प्रयोग हुने र नाट्य प्रहसन एवम् अभिनयहरूमा प्रयोग हुने निकै महत्वपूर्ण शैली हो । यो शैली मात्र भए तापनि अब यो आफैमा एउटा विशिष्ट विधाका रूपमा पनि परिचित बनेको छ । मूलतः यो कुनै विषयवस्तु र घटनामाथि आधारित वैचारिकि एवम् कलात्मक मूल्यका साथ घुमाउरो अर्थ दिने अभिव्यक्ति हो ।
हास्यव्यङ्ग्यका संरचनात्मक उपकरणहरू लेखक वा कलाकारले छानेका विधाअनुसारनै हुन्छन् । साहित्यतर्फ कथा, कविता, निबन्ध, मुक्तक, गजल, नाटक आदि कुन विधामा यसको प्रयोग गरिएको छ त्यसैअनुसार हृुन्छन् । चित्रकलामा कार्टुनचित्र, कार्टुनचलचित्र, मूर्ति आदि के छानिएको छ सोहीअनुसार हुन्छ । साहित्य सिर्जनामा विचार र कलामा अत्यन्त सन्तुलित रहने यस विधामा रचनाकारको विश्वदृष्टि र जीवन जगत्को अनुभव अभिव्यक्त भइरहेको हुन्छ । त्यसैले प्रायः कला र साहित्यमा हास्यव्यङ्ग्यको उपयोग प्राचीन कालदेखि आजसम्म भइरहेको छ ।
-डा. रमेश शुभेच्छु