पुरु लम्सालको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवापुस्ताका सशक्त कवि, गजलकार एवम् नाटककार हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सम्बन्ध’ गजल समेटिएको छ । यस गजल सिर्जनाले सम्बन्धले मानिसलाई दिने वियोगान्त अनुभूतिलाई प्रस्तुत गरेको छ ।
-सम्पा. |
निभाउनेले पनि सम्बन्ध निभाउन सकेन
माया पठायो तर उपहार पठाउन सकेन ।
आकास हेरेर मुस्कुराएको हुनुपर्छ सायद
आगोले पनि कसैको याद जलाउन सकेन ।
प्रेम पनि नशा रहेछ तिमीजस्तै, निद्राजस्तै
तिमी निदायाै ऊ कहिल्यै निदाउन सकेन ।
फर्कन त जहाजमै फर्किएको हो अरूजस्तै
बिचरा बाकसमा थियो पैदल आउन सकेन ।
तिमीसँग यत्ति गुनासो रहने भयो जीवनमा
तिमीलाई हेरेर यो प्रेमी मुस्कुराउन सकेन ।