गङ्गा कर्माचार्य पौडेल नेपाली साहित्य र बालसाहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । पछिल्लो समय उनको कलम साहित्यका विविध विधामा निकै सशक्तताका साथ चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित उनको बालकथा ‘डमरु र बचेरा समेटिएको छ । यस रचनाले पशु र पन्छीलाई पात्र बनाई बालबोध्य भाषामा कुनै समस्यामा नआत्तिई एकअर्काको सहयोगबाट मुक्ति पाउन सकिन्छ भन्ने सन्देश दिएको छ । बाँदर, डमरु र बचेराको भूमिका बालसाम्य रूपमा भएको छ ।
-सम्पा. |
चिँचिँचिँ च्यार्र च्यार्रच् यार्र गरी जङ्गल छेउको बाटोमा एउटा चराको बचेरो रोइरहेको थियो । त्यही बाटो भएर एउटा डमरु कतै जाँदै थियो । डमरुले बचेरा रोएको देखेर उसको नजिकै गएर सोध्यो“तिम्रो नाम के हो ? किन त्यसरी रोएको ?
बचेराले सुक्क सुक्क गर्दै भन्यो “मेरो नाम चकचके हो । म नचली बस्न सक्तिन त्यसैले आमाले चकचके नाम राखिदिनुभयो । आज विहानै तिमी थुपुक्क गुँडमा बसिरहनु म चारो खोज्न जान्छु भनेर आमा जानुभयो । मलाई एक्लै बस्न मनै लागेन र भुर्र उडेर यहाँसम्म आएँ । अहिले दुबै पखेटा दुखेर उड्र्नै नसक्ने भाको छु । अब के गर्ने होला ? भनेर फेरि रुन थाल्यो ।
डमरुले बचेरालाई फकाउँदै भन्यो “त्यसरी नरोउ न । हेर ! मेरो हालत पनि तिम्रो जस्तै छ । मेरो नाम छुकछुके हो । म पनि चुप लागेर एक ठाउँमा बस्नै सत्तिन । त्यसैले छुकछुके नाम आमालेनै राखिदिनु भएको । तिमी कतै नजानु , भित्रै बसिरनु म छिट्टै खानेकुरा ल्याउँछु भनेर आमा जङ्गलमा सिकार गर्न जानुभयो । उहाँ नभएको मौका छोपी म सुटुक्क बाहिर निस्केँ । गुफाको बाटो अँधेरो थियो । मैले राम्ररी देखिन अनि भित्तामा डयाम्म्मै नाक ठोकियो । ई..अहिले सम्म रगत थामिएको छैन हेरत भनेर आफ्नो नाक छाम्यो ।
“ ए ! होर ? अनि तपाईको घर कता छ ? गुफामा किन जानुभको नि ?”बचेराले सोध्यो ।
“म आमासित गुफामा बस्छु । गुफानै हाम्रो घर हो” ।
“ए..अब कता जानु हुन्छ त ? बचराले फेरि सोध्यो ”।
“खै कता जाने जाने ? जता हेर्या उतै जङ्गल देख्छु । गुफामा फर्कने बाटै भेट्दिन ” डमरुले भन्यो ।
” मलाई कस्तो भोक लागिसक्यो । अमाले चारो ल्याएर पर्खिएर बस्नुभएको होला ? अब कसरी गुँडमा फर्कने ” यसो भन्दै बचेरा फेरि रुन थाल्यो ।
डमरुलाई बचेराको माया लाग्यो । उसले विस्तारै टाउकोमा सुमसुम्याउँदै भन्यो “त्यसरी नरोऊ न म तिमीलाई गुँडमा पुर्याइदिन्छु । आउ मेरो पिठ्युँमा बस” ।
बचेरा डमरुको ढाडमा उक्लिन खोयो तर सकेन । किनभने ऊभन्दा डमरु धेरै अग्लो थियो । डमरुलाई पिर पर्यो । अनि टाउको समातेर थुचुक्क भुइँमा बस्यो । एकछिन पछि सोचेर फेरि भन्यो “मेरो पुच्छरमा टेकेर माथि उक्ल त ”।
बचेरा डमरुको पुच्छरमा टेकेर खुरुखुरु उसको ढाडमाथि उक्लिएर थुपुक्क बस्यो । त्यस पछि डमरुले सोध्यो“ तिमी बस्ने गुँड कहाँनेर छ ?”।
“ऊ….त्यो परको रुखको टुप्पामा छ ” बचेराले आफनो गुँड भएको रुख देखायो ।
बचेरालाई बोकेर डमरु रुखको फेदमा पुग्यो र माथि उक्लिन थाल्यो । रुख अग्लो, सुरिलो थियो । त्यसैले ऊ सुलुत्त चिप्लेर नराम्ररी भुँइमा पछारियो । बचेरा पनि चारहात पर उछिट्टीयो । “ऐया नि आमा ! मरेँ” भन्दै ऊ चिच्च्याएर रोयो ।
डमरुले उसको आँसु पुछिदिंदै भन्यो “नरोऊ हेर , मैले जानाजानी तिमीलाई पछारेको होइन खुट्टा चिप्लेर लडियो । अब त्यस्तो हुँदैन । आऊ पिठयुमा बस ।
भरखरै मात्र पछारिएर जिउ दुखिरहेकोले बचेरा हच्कियो । ऊ डमरुको ढाडमा चढ्न मानेन । mडमरुले उसलाई फकाउँदै भन्यो “आऊ न बस । अब लडाउँदिन क्या..।
डमरुले फकाए पछि बचेरो मन नलागी नलागी उसको ढाडमाथि चढ्यो । डमरु रुखको फेदमा नङ्ग्रा गाड्दै माथि उक्लेर रुखको एउटा सानो हाँगामाथि टेकेको मात्र थियो । हाँगा कर्याक्कै भाँचिएर तल झर्यो अनि डमरु र त्रचेरा ड्याम्मेै भुइँमा पछारिए ।
बचेरा लाई अघि भन्दापनि बढि चोट लाग्यो ऊः चिँइचिँइचिइँ गर्दै रोयो । डमरुलाई पनि नदुखेको काहाँ होर ? तैपनि ऊ लाजले बचेराको अगाडि आँसु खसाल्न सकेन । डमरुलाई अब के गर्ने कसो गर्ने भयो । त्यसैले दुबै हातले टाउको समातेर एकछिन सोचेर मनमनै भन्यो“चकचकेलाई गुँडमा पुर्याइदिनु पर्छ । यो त मेरोकर्तव्य हो तर कसरी ? मैले गर्दा उसलाई दुःख भयो विचरा”।
एकछिनको मौनतालाई चिर्दै डमरुले भन्यो “भाइ ! तिमीलाई साह्रै दुख्यो हो ? यो सब मैले गर्दा हो । मलाई माफ गर । तर भाइ एक दुई पटक्र लडियो भन्दैमा कोसिस गर्न छोड्नु हुँदैन । म तिमीलाई जसरी भए पनि गुँडमा पुर्याएर छोड्छु” ।
डमरुको कुरामा बचेरा लाई विश्वास लागेन । उसले ओठ लेप्राएर कर्के आँखाले हेर्यो । डमरुलाई लाजमर्नु भयो अनि घोत्लीएर सोच्यो । त्यही बेला झट्ट आफ्नो मीतबाको याद आयो । मीतबाले जङ्गलको रुखमाथि बस्छु , अरूको जस्तो हाम्रो घर हुँदैन रुखनै हाम्रो घर हो भनेको पनि सम्झ्यो । त्यसपछि“ ए ! मीत बा मलाई मद्दत गर्नुहोस् ”भनेर ठुलो स्वरले बोलायो ।
डमरुको स्वर सुनेर ढेढु बाँदर एउटा रुखबाट अर्को रुखमा हाम्फाल्दै आइपुग्यो र सोध्यो “किन के भयो तिमीलाई ? जङ्गलका अरू जनाबरले हेपे कि ?भन म त्यसको दोहोलो काढिदिन्छु ”।
डमरुले रुँदै रुँदै सबैकुरा बतायो । ढेडुले उसको आँसु पुछिदिँदै भन्यो भैगो नरोऊ आऊ म तिमीलाई पुर्याइदिन्छु” ।
डमरुले ”मित बा ! पहिला मेरो साथिलाई उसको गुँडमा पुर्याई दिनु । म बरु पछि जाउँला भन्यो । डमरुको सहयोगी बानी देखेर ढेडु खुसी भयो । त्यसपछि उसले बचेरालाई हलुकासित उठाएर आफ्नो टाउकोमाथि राखेर खुरुखुरु रुख चढेर गुँडसम्म पुर्याइदियो । माउ चरी चुच्चोमा आहार च्यापेर रोइरहेकी थिई । बचेरालाई देख्नासाथ खुसी हुँदै क्वाप्प चारो ख्वाई अनि ढेडुलाई धन्यवाद दिई । ढेडुले धन्यबाद मलाई होइन सहयोगी डमरुलाई दिनु भनेर रुखबाट तल ओर्लियो ।