चिन्तु गिरी मोफसलमा रहेर साहित्य सेवामा समर्पित प्रतिभा हुन् । उनले साहित्य सिर्जना, समीक्षा, सम्पादन र सङ्गठनसमेतका माध्यमबाट साहित्यसेवा गरिरहेका छन् । उनको परिचय साहित्यसागरका समेटिइसकेको हुँदा प्रस्तुत शृङ्खलामा सारभूत परिचयसहित उनको गीतिरचनालाई समेटिएको छ । नयाँ सोच लिई उठ शीर्षकको प्रस्तुत गीति रचनाले समाज परिवर्तनको आवाज उठाएको छ । यो गीति रचना परिवर्तनका पक्षमा रहेर पनि देशभक्ति भावनाको अभिव्यक्तिमा सफल देखिन्छ । -सम्पा. |
नयाँ घर बनाउँछु भन्नु हुन्छ भने
पुरानो त अब छिटै भत्काए नि हुने
मुखिया हुन् हिजोका ती थोत्रा भोटा भिर्ने
यता मानो देखाएर, उता बोरा चोर्ने ।
संसदमा फर्की फर्की आगो झोस्नेहरू
दमकलको कुरा गर्छन् पानी खोस्नेहरू
भीर काँडा झार पात पन्छाउनु पर्छ
अगुल्टाले भूत प्रेत धपाउनु पर्छ ।
जीवनस्तर आजसम्म किन उठेन त
दु:ख पर्दा हात मुख किन जुटेन त ?
तिनका पछि लुरु लुरु हामी लाएर हो
उल्टो बोले पनि तिनकै गीत गाएर हो ।
ए युवा हो नयाँ नयाँ सोच लिई उठ
सहयोग गर्न बृद्धबृद्धाहरू जुट
नयाँ बिहान खोजेको छ अब हिमालले
आँखा खोल ब्युँझ छिटो भन्छ नेपालले ।