योगप्रसाद उपाध्याय चापागाईं (२० अप्रिल १९६५/२०२२ वैशाख ८ गते, बरपेटा, कामरूप जिल्ला, असम, भारत, सुपुत्रः नेत्रकुमारी अधिकारी चापागाईं, ज्ञानप्रसाद उपाध्याय चापागाईं ) नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनको हालको बासस्थान दिङला, भोजपुरमा रहेको छ । तत्कालीन शिक्षा प्रणालीअनुसार प्रवीणता प्रमाणपत्र तह (आई ए) अध्ययन गरी शिक्षण पेसामा संलग्न उपाध्यायको सृजना (कविता), चापागाईं वंशावली परिचय (वंशासवली) बाबा (हिन्दी भाषामा तीर्थाटन) जस्ता कृति प्रकाशित छन् । उनले विभिन्न पत्रपत्रिका सम्पादन गर्नका साथै विभिन्न रचना प्रकाशन गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लोभी बाजे शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले सांस्कृतिक क्षयीकरणलाई देखाएको छ । -सम्पा. |
झलक्क हेर्दा लोभी बाजे हाकिम सा’ब जस्तै देखिन्थे । दौरा, सुरवाल, इस्टकोट र ढाकाको टोपीले सुहाएरै निस्किन्थे वरपर ।
आज पनि बाजे सजिएर चौबाटामा निस्किए । त्यहाँ उनलाई धनसिं लिम्बूले भेट्यो । उसले “शर्मा डेरि य्यान्ड मिठाइ पसल’ मा दुध हालेको बाक्लो चिया खान जाऊँ बाजे“ भन्यो र अघि लाग्यो । बाजे लुखुरलुखुर पछि लागे ।
साहु धनीराम शर्मा काउन्टरमा बसि राखेकाले सोधे “के खानुहुन्छ ?“ धनसिंले “दूध हालेको बाक्लो चिया खाने र चिया पाकुनजेलिमा हामीलाई चियासँग खाने खानेकुरा दिनुस् साहु“ भन्यो ।
साहुले मिलिक्कै चिया र मिठाइ जस्तै देखिने नुनिलो खानेकुरा ल्याएर टेवलमाथि राखि दिए ।
लोभी बाजेले हत्तनपत्त मिठाइ भनेर त्यो खानेकुरा मुखमा हाले । मर्याङ मर्याङ चपाएपछि भने उनले थुथु गरेर थुकेर फ्याँके । त्यसरी फ्याँक्तै गर्दा धनसिंलाई भने “कस्तो पापी रहेछ शर्मा डेरीको साहु त । राँगाको मासु राखेर बनाको मिठाइ ख्वाएर मेरो जात नै पो फालिदिए छन् नि ।“
उनका कुरा सुनेर छक्क पर्दै धनसिंले भन्यो “राँगाको मासु खाँदा जात जान्छ र बाजे ?“ “जान्छ नि धनसिं, मैले व्रतबन्ध गरेर जनै लाको छु । जनै लाएपछि राँगाको मासु खानु हुँदैन थियो नि ।“ “ए ए त्यसो भए अब फेरि व्रतबन्ध गर्नुपर्छ ।“ धनसिंले बाजेको जात आओस् भनेर भन्यो । “दोहो¥याएर व्रतबन्ध गर्ने जस्तो झन्झटिलो काम गर्न सकदिन । ऐलेनै खोलामा नुहाइवरि पशुपतिनाथ मन्दिर जान्छु र बाहुनलाई निक्रहमा गौदान गरिदिन्छु“ यसो भन्दै लोभी बाजे चिया नखाइ गौदान गर्न बागमती खोलातिर गए ।