सुरेशकुमार भट्ट (२००८ असार ८, मसेल, गोरखा) साहित्य सिर्जना साथै विभिन्न सामाजिक कार्यमा संलग्न प्रतिभा हुन् । गोरखा सर्जक समाजका अध्यक्षसमेत भट्ट वर्षौँदेखि साहित्यिक सेवामा समर्पित छन् । उनी गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–१ मसेलमा माता मधुमाया भट्ट तथा पिता धनप्रसाद भट्टका पुत्रका रूपमा जन्मेका हुन् । ४० वर्षसम्म अध्यापन सेवा गरिसकेका भट्ट ६ वर्षसम्म श्रोत व्यक्तिका रूपमा समेत सेवा गरेका छन् । उनका अन्तानुप्रासयुक्त हाइकु शैलीमा लेखिएका सोली डोली, काँचुली (मुक्तकसङ्ग्रह क, ख), मलाई मन पर्छ (बालगीतसङ्ग्रह), त्रितीय समर कोरोना कहर (कवितासङ्ग्रह) जस्ता कृति प्रकाशित छन् । त्यसैगरी बन्दना, दरौँदी, सहित्य सङ्गम, फूलको डोलीमार्फत उनका विभिन्न लेख रचनाहरू प्रकाशित भएका छन् । उनले बन्दी शिविरका आवाजहरू (२०६३), चिन्तन (२०६३), गोरखा गौरव (२०६६), तत्त्व दर्शन (२०६५) तथा गिरीजा बाबु (२०६८) पुस्तकहरू सम्पादन तथा लेखन गरिसकेका छन् । हाल अमेरिकामा रहेका कवि भट्ट नेपाल रेड क्रस सोसाईटी, प्रजातान्त्रिक विचार समाज, नेपाल शिक्षक सङ्घ, मानव अधिकार सङ्गठन हेड्स नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायत सङ्घ सस्थाहरूका आजीवन सदस्य रहेका छन् । शिक्षा दिवस पुरस्कार, नेपाल शिक्षक सङ्घ दीर्घ सेवा पुरस्कार आदिबाट सम्मानित कवि भट्टका निष्कर्ष शैली कवितासङ्ग्रह, समसामयिक लेखसङ्ग्रह, साँवा, कोशेली सामाजिक नाटक आदि प्रकाशोन्मुख छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भट्टका केही हाइकु रचनाहरू समेटिएका छन् । -सम्पा. |
१
अन्न पानी द्यौ
चाहिने कुरा तेही
बुझिनौ केही ।
२.
मन मानेन
झुप्रो घर तातेन
संगी साथ्थेन ।
३.
हिउँदे चिसो
कम्मलमा लिस्सियो
पौडी खेलियो ।
४.
ईन्डियएन त्यो
बाख्रे कम्मल थियो
रात कामीगो ।
५.
निमेल्को रात
खुल्लापाटीको बास
दरौंदीको स्याँठ ।
६.
दुंई भाई थ्यौँ
साँझको स्वागत्पायौँ
कम्मल्मा का‘प्यौँ ।
७.
माघ मास थ्यो
ठिंग्गिरी बजाई द्यौ
जाग्राम भयो ।
८.
एकफेर नाङ्गै
खुला आङ् सर्वाङ्गै
काम्यो लुग्लुगै ।
९.
फेरि लाइयो
लुगा ओडी सुतियो
अहा निदायो ।
१०.
यो हो तरिका
जाडो थाम्ने काइदा
बुझे फाइदा ।
११.
ऐले मलाई
बेमौसममा भाइ
सम्झना आई ।
गोरखा, हाल अमेरिका