कुसुम ज्ञवाली (वास्तविक नाम– फणिन्द्र ज्ञवाली, २०३० मङ्सिर २२, पतेल्का, रिमुवा–४, गुल्मी) नेपाली साहित्यका क्षेत्रमा सिर्जना र सङ्गठन दुवै दृष्टिले समर्पित प्रतिभा हुन् । भौतिकशास्त्र ( वि.सं २०५२), यन्त्रशास्त्र, (वि.इ.) मेकानिकल, (वि.सं २०५७) मा स्नातकका साथै नवीकरणीय उर्जा इञ्जिनिएरिङ् (एम.इ., वि.सं २०६१) स्नातकोत्तर ज्ञवाली इञ्जिनिएरिङ परामर्शदाता, प्राध्यापन, लेखन आदि विविध क्षेत्रमा सक्रिय छन् । ‘आँखा’ शीर्षकको छन्द कविता २०४२ मा प्रकाशन गरी साहित्यिक जगत्मा सार्वजनिक भएका ज्ञवालीका सहिदले बिर्सेको गाउँ, (लघुकथासङ्ग्रह २०६०), बेसिक कन्सेप्ट अफ इञ्जिनिएरिङ ड्रइङ् (स्नातकतह पाठ्यपुस्तक, २०५९) आँगन छोडेपछि (संस्मरण, सहलेखन, २०७८) जस्ता साहित्यिक एवम् पाठ्यपुस्तकहरू प्रकाशित छन् । लघुकथा डट कम, शब्द संयोजन, ज्योति, विद्युत सन्देश जस्ता पत्रिकाका सम्पादक ज्ञवालीले साहित्यसुधालगायतका रोडियो कार्यक्रम सञ्चालनमा पनि योगदान दिएका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत जस्ता विभिन्न भाषाका सामग्री सहज पढ्न सक्ने ज्ञवाली डिप्लोमा इन जर्नालिज्म, २०५२) नेपाल प्रेस इष्टीच्यूबाट गरेकाले उनको सञ्चारप्रतिको लगाव पनि त्यत्तिकै देखिन्छ । साहित्य सन्ध्या नेपाल (२०५८–२०६६), जनसाहित्य मञ्च नेपाल(३०६६–२०६७), विद्युतकर्मी साहित्यिक समाज, स्रष्टा चैत्र ३० (२०६४–२०६७), नागार्जुन साहित्यिक प्रतिष्ठान, नेपाली साहित्य समाज टोरन्टो २०१६–२०२१), नेपाली साहित्य समाज क्याल्गरी (२०१५–२०१७), ग्लोवल एक्जुक्युटिभ, ईन्सास ईन्टरनेशनल (ईन्जिनियरिंग साहित्य समाज), युयस, २०२२) जस्ता विभिन्न सामाजिक, साहित्यिक एवम् प्राविधिक संघसंस्थामा रहेर पनि उनले योगदान पुर्याएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘जोगी कमरेड’ शीर्षकको लघुकथा समेटिएको छ । |
सुन्दा पत्यार नलाग्ने समाचार आज एकाविहानै आगो जस्तै फैलियो लालपुर नगरको कुनाकाप्चासम्म । त्यहाँका चिनिएका र राम्रै राजनैतिक हैसियत भएका एकजना कामरेडले जोगी हुने निर्णय गरेछन्, भन्ने ठुलो चर्चा जताततै थियो । खरानी घस्न पर्नुको वास्तविकता भने रहस्यमै थियो ।
“प्रेममा उनी नराम्ररी असफल भएपछि उनी राजनीतिमा आएका थिए, यता पनि टिकेनन् बरा जोगी भएछन् !” रोमान्टिक नेताका छवी बनाएका अर्का अधबैसेले टिप्पणी गरे !
हालैको सङ्घीय चुनावमा टिकट नपाएपछि उनी विरक्तिएको तर्क अर्का असन्तुष्ट नेताले राखे ।
ठेकेदारी गर्दागर्दै जुवाको लत लागेर भित्रभित्रै घरवार डुबेकाले यो हाल भएको भनेर चौपारीमा दैनिक खेलिने तासका खालमा पनि शङ्का मिश्रित चर्चा भयो ।
सीमाना पारि पनि लगानी बेपार थियो, आउजाऊ खुबै गर्थे । उताको वेपार बेपत्तासँग डुबेपछि उनले हात उठाएको तर्क थियो एकजना हुन्डी दलालको ।
मान्छेले कुनै बेला बोध गर्छ सम्यक सत्यको र त्यो बाटो समात्छ, नगरका जानेमाने योगशिक्षकले अनुमानको बेलुन उडाए ।
छिमेकी देशका दर्जन भन्दा बढी साधुले वर्षमा करोडौँ कमाएको देखेर पैसा कमाउन कै लागि खरानी घसेको कुरा चाही कमरेडले आफ्नै श्रीमतीलाई पनि भनेका थिएनन्, अनि अरूले कसरी थाहा पाऊन् ?