विपिन अगस्थिको परिचय साहित्यसागरमा समेटिइसकोको छ । उनी निरन्तर मुक्तक र कविता सिर्जना गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको एउटा गजल सिर्जना समेटिएको छ । यस गजलले वर्तमान नेपाली राजनीतिलाई व्यङ्ग्य गरेको छ । -सम्पा. |
धर्ती फाट्यो बाढी पस्यो बर्बाद भयो हत्तेरिका !
मुखैको भाग भूइँमा खस्यो बर्बाद भयो हत्तेरिका !
आफन्तको भर थियो पराइको डर थियो ;
आफ्नैले पो घाँटी कस्यो बर्बाद भयो हत्तेरिका !
दुश्मन तह लगाउनलाई हतियार बनाएथें ,
उल्टो मलाई छुरा धस्यो बर्बाद भयो हत्तेरिका !
मिहिनेत लगाएर उस्लाई पुर्ने खाडल खनें ,
मेरै खुट्टा त्यसमा फस्यो बर्बाद भयो हत्तेरिका !
सर्प आफ्नो हुन्न रैछ दूध ख्वाई पालेपनि ;
बेइमानीले मैलाई डस्यो बर्बाद भयो हत्तेरिका !
साम दाम दण्ड भेदले कमाएको कुर्सी थियो ,
ऊ पो गई थ्याच्च बस्यो बर्बाद भयो हत्तेरिका !
विपिन अगस्ति, इलाम
काँडाघारी, काठमाडौं