कृति लोकार्पण अज फेसन बानिरहेको छ । कृतिको गुदी भन्दा पनि कृतिको लोकार्पण कहाँ भयो, कसले गर्यो, कतिको तामझामका साथ गर्यो भन्ने कुरा प्रधान बनिरहेको छ । यस संस्कृतिले नेपाली साहित्यलाई विकसित बनाउने हो वा दुर्घटित बनाउने हो अनुमान गर्न सकिएको छैन । नेपाली बृहत् शब्दकोश (२०४०) का अनुसार पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण विमोचन हो । यसको पर्यायवाची शब्द लोकार्पण हो (पृ. ११५८) । यस अर्थले कृति विमोचन नराम्रो कुरा होइन, राम्रो कुरा हो । यसले सम्बन्धित क्षेत्रमा नयाँ कृति आएको सन्देश दिन्छ । यसले पाठक र अध्येताहरूलाई सही सूचना दिन्छ । के आज लोकार्पण समारोहमा हुने विमर्शले त्यस पक्षलाई देखाउन सकेका छन् ?
विमोचन नयाँ कृतिको सूचना हो । नयाँ कृतिको सार्वजनिकीकरण हो । नयाँ कृति लोकलाई अर्पण हो । साहित्यिक कृति भए पाठक र अन्य कृति भए दर्शकलाई दर्शन वा जानकारी हो । यो प्रकृया आज अलि भद्दा बनिरहेको छ । विशिष्ट लेखक आफ्ना बहुमूल्य कृति लोकार्पणको तामझाम गरिरहेका छैनन् तर साधारण लेखक वा कृतिकारहरू तामझामका साथ कृति लोकार्पण गरिरहेका छन् । त्यस्ता समारोहमा कृति विश्लेषकहरू सम्बन्धित विधाका विशेषज्ञ भन्दा पनि चिनजानका साथीहरू वा आफन्तहरू उभिइरहेका छन् । कृतिको विश्लेषण भन्दा प्रशंसा मात्र गरिरहेका छन् । के कृति लोकार्पणको मूल मर्मलाई यसरी नै बुझ्न सकिन्छ ?
हिजोआज दैनिक जसोकृति लोकार्पण भएको देख्दा हाम्रो साहित्य र कला क्षेत्र विकसित बन्दै आएको छ । कृति लोकार्पण समारोहमा नयाँ नयाँ व्यक्तित्वका साथै मूलत: साहित्यिक नेता र राजनीतिक नेताहरू देखिइरहेका छन् । त्यस आधारमा लाग्छ : हाम्रो समाजमा एकसे एक कृति आइरहेका छन् । नेपाली साहित्य उत्तरोत्तर विकास भइरहेको छ । यसका प्रकाशकहरू बढिरहेका छन् । यसको बजार बढिरहेको छ । हामी विश्वसाहित्यमा परिचित बन्दैछौँ । सिर्जनामा उन्नत र समुन्नत बन्दैछौँ । यहाँ एकसे एक लेखक वा कलाकार, समीक्षक र त्यत्तिकै पाठक र अनुरागीहरू ब्ढिरहेका छन् । प्रमुख अतिथि र अतिथि हुने हैसियतका मानिसहरू पनि बढिरहेका छन् । यथार्थमा परिस्थिति त्यस्तो छैन ।
आज कृति लोकार्पण र परिचर्चाको अवस्था जे जस्तो देखिएको छ त्यस्तो छैन । कृति लोकार्पण समारोहहरू धनाढ्य लेखकका वरिपरि आयोजना भइरहेका छन् । प्राय: आफै खाजा र हलभाडा तिर्न सक्ने लेखक मात्रै कृतिको विमोचन गरिरहेका छन् । प्रकाशकहरू पनि पैसावाल लेखक मात्र छानेर छापिरहेका छन् । सम्पादक पनि पैसावाल लेखक छानेर कृति सम्पादन गरिरहेका छन् । लोकार्पण समारोहमा गरिएका विश्लेषण पनि आलङ्कारिक मात्रै छन् यथार्थ छैनन् । समाचारहरू तिनैलाई महत्त्व दिइरहेका छन् । आजको अखबार वा अनलाइन सर्वेक्षण गर्यो भने उक्त विविध धनसँग जोडिएका लेखक बढी चर्चामा छन् । यस्ता चर्चाले साहित्यको वास्तविक विकास होला नहोला अलमल छ नेपाली साहित्य र समग्र वाङ्मय बजार ।
-डा. रमेश शुभेच्छु