सत्यमोहन जोशी (१९७७–२०७९) नेपाली भाषा र नेपाल भाषाका साहित्य, वाङ्मय र संस्कृतिका विशिष्ट अग्रज प्रतिभा हुन् । उनले वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, जीवनीकार तथा अन्वेषकका बहुविध परिचय बनाएका छन् । यिनै बहुविध परिचयका कारण उनलाई राज्यका तर्फबाट वाङ्मय शताब्दीपुरुष उपाधि पनि प्राप्त छ । जोशीले यी विविध क्षेत्रमा जीवनको उत्तरार्द्धसम्म शताब्दीअधिक सक्रिय जीवन बाँचेर २०७९ असोज ३० गते बिहान ७ : ०९ बजे ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्ष ५ महिनाको उमेरमा सधैँका लागि आँखा चिम्लिए । सर्वप्रथमतः जोशीको निधनप्रति गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली ।
जोशी १९७७ वैशाख ३० गते बखुंबहाल, ललितपुरमा जन्मिएका थिए । उनी माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मिएका थिए । उनको जीवन पनि आम मानिसका जीवनयात्रा जस्तै निकै उतारचढावपूर्ण बित्यो । जे जस्तो अवस्थाबाट जीवन निर्वाह हुँदै आए पनि उनी नेपाली संस्कृति, पुरातत्त्व र इतिहासका क्षेत्रमा एक पछि अर्को महत्त्वपूर्ण काम गर्दै रहे । उनी अफूले हात हालेका विविध विषयक्षेत्रका आधिकारिक ज्ञाता र प्रामाणिक व्याख्याता पनि थिए ।
एकै व्यक्तिसँग यस्तो सिर्जनात्मक र अन्वेषणात्मक सामर्थ्य हुनु उनका जीवनको अपूर्व संयोग हो । १९९९ को शारदा पत्रिकामा ‘आयो अब छोटो दिन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका जोशीका नेपाली लोकगीत एक अध्ययन (२०१२), नेपाली लोकसंस्कृति (२०१३), नेपाली राष्ट्रिय मुद्रा (२०१७), पुरातत्त्व एक रोचक कथा (२०१९), लामा र पाचुके (पद्यात्मक कथा २०२०), कर्णाली लोकसंस्कृति (२०२८), नेपाली मूर्तिकलाको विकासक्रम (२०३२), नेपाली धातुमूर्तिकलाको विकासक्रम (२०३५), नेपाली चाडपर्व (२०३९) नेपाली मूर्तिकलाको विकासक्रम जस्ता मूर्त र अमूर्त नेपाली संस्कृति र लोकजीवनसँग सम्बन्धित नौओटा कृति प्रकाशित छन् । यी सबै कृतिको आआफ्ना ठाउँमा विशिष्ट महत्त्व छ । उनका सिपाही र रैती (२०२७), दैलाको बत्ती (२०२८), जब घाम लाग्छ (२०३३), फर्केर हेर्दा (२०३५), मृत्यु एक प्रश्न (२०४२) जस्ता झन्डै आधा दर्जन नाट्य कृतिहरू प्रकाशित छन् । ती नाटकका निर्देशन र अभिनय पनि गर्न सक्ने सामर्थ्य उनमा थियो । नेपाली कलाकारिता र नाट्य निर्देशन वा र ङ्गमञ्चका क्षेत्रमा पनि उनको नाम आदरपूर्वक लिइन्छ । क्रान्तिका लहरहरू (कवितासङ्ग्रह, २०३३), एउटा गुलाफ र गुराँस (निबन्धसङ्ग्रह, २०३१), राजमुकुट र राज्याभिषेक (२०३१), कलाकार अरनिको (जीवनी, २०४४), न्युजिल्यान्डमा पहिलो नेपाली (यात्रासाहित्य, २०४९) जस्ता निबन्ध र जीवनी केन्द्रित कृति पनि प्रकाशित छन् । यस आधारमा नेपाली साहित्यका क्षेत्रमा मात्रै पनि जोशीको कलम बहुमुखी प्रतिभासम्पन्न देखिन्छ । उनले यी जुन विधामा हात हाले पनि ती विधामा प्रभाव छोड्न सकेकै छन् ।
जोशीको कलम नेपालीमा मात्र नभई उनको मातृभाषा नेपाल भाषामा पनि त्यत्तिकै सफल ढङ्गले चलेको छ । गौतम बुद्ध (नाटक, ने.सं. १०७०), जयप्रकाश (नेपालभाषाका महाकाव्य, ने.सं. १०७५), नेपाया बौद्धकला (प्रबन्ध, ने.सं. १०७६), नेवा वः नेवा लोकसाहित्य (ने.सं. १११४) जस्ता चार ओटा नेपाल भाषासाहित्यका कृतिहरू प्रकाशित छन् । यी कृतिलगायत दर्जनौँ लेखरचना र कृति नेपाल भाषामा प्रकाशित छन् । यसरी नै कलाकार (त्रैमासिक, २००९), पर्यायवाची शब्दकोश (२०३०), नेपाल लिपिप्रकाश (२०३०), सांस्कृतिक सम्पदा संरक्षण एक चुनौती (२०४३), श्री ५ महेन्द्र अभिनन्दन ग्रन्थ तथा स्मृतिग्रन्थ, हेमराज भिन्तुना–देछा अभिनन्दन ग्रन्थ (२०४९), राजमार्ग (पत्रिका) आदिको सम्पादनबाट नेपाली कोशपरम्परा, लोकसाहित्यपरम्परा, साहित्यिक पत्रकारिता र पत्रकारिता परम्परालाई पनि जोशीले अगाडि बढाएका छन् । जोशीसँगको बहुभाषिक सामर्थ्यको एक नमुना कृति माओ च तुङका कविताहरू (२०३३) हो । यो उनको अनुवाद कृति हो । उनी चाइनिज भाषामा पनि दख्खल राख्थे भन्ने कुराको नमुना यस कृतिलाई मान्न सकिन्छ । जोशीले यस्ता अनेक उल्लेखनीय कामहरू सम्पन्न गरेका छन् । उनको भौतिक शरीर नरहे पनि उनका यी कृतिहरूले उनलाई सधैँ अमर बनाएको छ ।
जोशीले जीवन निर्वाहका क्रममा विभिन्न पेसा अवलम्बन गर्दै वाङ्मयिक सेवामा निरन्तर लागिरहे । उनको यही साधनालाई सम्मान गरी राज्यका तर्फबाट वाङ्मय शताब्दी पुरुषको उपाधि दिएर विशिष्ट सम्मान गरेको थियो । उनले शुभराज्याभिषेक पदक (२०१३ र २०३१) युवा उमेरमै दुई पटक प्राप्त गरेका थिए । उनले आफ्ना कृतिका लागि एकल र सामूहिक गरी तीन पटक मदन पुरस्कार (२०१४, २०१७ र २०२८) प्राप्त गरे । श्रेष्ठ सिरपा (सन् १९५५), भाषारत्न (ने.सं. १०९५), त्रिशक्तिपट्ट तेस्रो (सन् १९७७), सुप्रसिद्ध गोरखा दक्षिणबाहु (सन् १९८३), लाकौल पुरस्कार (सन् १९८८), त्रिभुवन प्रज्ञा पुरस्कार (सन् २००१), आदिकवि भानुभक्त पुरस्कार (सन् २००२), भूपालमान सिंह कार्की पुरस्कार (वि.सं. २०६२), शीर्षपुरुष सम्मान (नेपाभाषा, सन् १९९९), उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) तथा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पृथ्वी प्रज्ञा–पुरस्कार (वि.सं. २०७६) बाट सम्मानित, पुरस्कृत, अलङ्कृत एवम् विभुषित भए । यी सम्मान, पदक, विभूषण र उपाधिहरू उनकै कर्मका प्राप्ति हुन् ।
जोशीको जीवनयात्रा सामान्य जागिरे जीवनबाट अगाडि बढेको भए पनि उनको वाङ्मयिक एवम् सिर्जनात्मक कर्मले निरन्तर उच्च प्राज्ञिक जिम्मेदारी पाइरह्यो । उनले जागिरे जीवनलाई भन्दा पनि आफ्नो वाङ्मयिक साधनालाई महत्त्व दिँदै अगाडि बढे । त्यसै कारण जोशी वि.सं. २०२६–२०३१ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको सह–सदस्य बने । उनले त्यहाँ गरेको सेवाको मूल्याङ्कन स्वरूप उनी २०३१–२०३६ सम्म सदस्यसचिवको जिम्मेवारीमा रहेर काम गरे । उनी त्यसपछि आजीवन सदस्यका रूपमा रहेर नेपालको प्राज्ञिक समुन्नयनका लागि काम गरिरहे । उनले त्यहाँको अनुभवबाट आफ्नो मातृभाषामा पनि नेपाल भाषा एकेडेमीको स्थापना गरी त्यस भाषा वाङ्मयका विकासमा बहुमुखी योगदान पु¥याएका छन् ।
जोशीका खोज अन्वेषण र सिर्जनाका उक्त कृतिहरूले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेका छन् भने प्राज्ञिक कर्महरूले उनलाई अमर राख्ने छन् । जोशी निरन्तर साधनाकै कारण शताब्दीको यात्रा पूरा गर्न सके । उनको जीवन सिर्जनात्मक र आत्मविश्वासी जीवनशैलीको प्रमुख प्राप्ति हो । जीवनका उत्तरद्र्धसम्म नेपाल, नेपाली भाषा, नेपालभाषाका साहित्य र संस्कृतिका बारेमा चिन्तनशील रहने जोशी पूर्णआयु बाँचेका भए पनि उनको निधनबाट राज्यलाई अपूरणीय क्षति भएको छ । उनले काम गरेको क्षेत्र अभिभावकविहीन जस्तै बनेको छ ।
सत्यमोहन जोशीज्यूको निधन भएको यस दुःखद घडीमा साहित्यसागर कीर्तिशेष जोशीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
-डा. रमेश शुभेच्छु