केशवराज आमोदी (२०१३ जेष्ठ २०, सुकौरा तनहुँ, सुपुत्रः कमलाकान्त भट्टराई दमयन्तीदेवी भट्टराई) नेपाली र संस्कृत शिक्षामा उच्च शिक्षा लिई शिक्षासेवा र साहित्य सेवामा समर्पित प्रतिभा हुन् । उनी मूलतः चितवनलाई कर्मथलो बनाइ साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनको कलम बहुविधामा सफलताका साथ चलिरहेको छ । उनी कविताका प्रायः सबै उपविधाका साथै समीक्षाका क्षेत्रमा पनि कलम चलाउँदै आएका छन् । २०३३ सालमा कर्णाली मुखपत्रमा ‘कर्णाली’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका आमोदीको पहिलो कृति हिमाल रुन्छ (सह २०४८) उपन्यास हो । उनका अरन्य रोदन (२०५४), कर्मभूमि (२०६०), गजलदीपिका (२०६०), गजल तरङ्ग (२०६०) जस्ता –खण्डकाव्य एवम् काव्यकृतिहरू प्रकाशित छन् । उनको सत्ता साधन (२०५७) मुक्तकसङ्ग्रहलगायत कृति प्रकाशित छन् । उनले सम्प्रेषण त्रैमासिक, जस्मिन द्वैमासिक, जागृति मासिक जस्ता साहित्यिक पत्रिकाहरूका माध्यमबाट साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि योगदान पुर्याएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको बहरे खलिल मुद्स सालिम बहरमा संरचित एउटा गजल रचना समेटिएको छ । यस रचनाले लयात्मक तर सरल भाषामा देशभक्तिको चेतना अभिव्यक्त गरेको छ ।
-सम्पा. |
ध्यार्र च्यातिए सम्झनाहरू ख्यालख्यामै,
ह्वार्र पैरिंए कल्पनाहरू ख्यालख्यालमै ।
देशभक्तिको मन्त्र बिर्सिई तेर्सिंदै तल
ढालिए सबै योजनाहरू ख्यालख्यामै ।
क्रान्तिका कुरा भ्रान्ति हुन् भनी स्वप्न-तारमा
बाँधिए कठै ! सम्झनाहरू ख्यालख्यामै ।
सत्य गालिए धर्म फालिए स्वार्थ चालिए
त्यागिए नि झन् अर्चनाहरू ख्यालख्यालमै ।
धर्मकर्मका स्वच्छ भावना बिर्सिई अझै-
नासिए सबै साधनाहरू ख्यालख्यालमै ।