नेपाली वाङ्मयले समय समयमा बहुउपयोगी र बहुमुखी कृति सार्वजनिक गर्दै आएको छ । नेपाली समाजमा बहुमुखी प्रतिभाको जन्म दिने तर प्रतिभा पलायनको मारमा परिरहने एउटा जिल्लाको नाम हो भोजपुर । भोजपुरको पुरानो नाम सिद्धिपुर, माझकिराँत, पूर्व चार नम्बर, खम्बुवान पनि हो । आजको भोजपुरको बौद्धिक सभ्यता, ज्ञानपरम्परा र त्यहाँ बोलिने विविध भाषाको वाङ्मयको खोजी गरिएको एउटा महत्त्वपूर्ण कृति यो वर्ष नेपाली वाङ्मय क्षेत्रले डा. विप्लव ढकालको अनवरत प्रयत्नबाट प्राप्त गरेको छ । यस कृतिको तयारीमा २०४१ सालदेखिको खोज अनुसन्धान रहेको ढकालको आत्मस्वीकृति छ । यो कृति पढ्दा उनको समय र श्रमको मूल्य राष्ट्रिय महत्त्वको वाङ्मयिक सम्पदा सामग्री बनेर आएको छ । कृति पढ्दा लाग्छ हरेक जिल्लामा एक एक जना ढकाल जस्तै इतिहासकार र अन्वेषक हुन् नेपाल पढ्न ७७ जना विद्वान् भए पुगिहाल्थ्यो । यो कृतिको उपादेयता क्रमश: नेपाली बौद्धिक जगत्ले दिँदै र बुझ्दै जाने छ । अहिलेलाई ढकाललाई बधाई र कृति सफलताको शुभकामना ।
सोझो अर्थमा भोजपुरको वाङ्मय विप्लव ढकालको मातृभूमिको अर्चना हो । उनी भोजपुरमा जन्मिएकाले त्यहाँका विषयमा कृति लेखेका हुन् । तर उनको यस अर्चनाले नेपाल विद्याका धेरै विधा उपविधाका ज्ञान रत्नहरू सार्वजनिक गरेको छ । नेपाली वाङ्मयको समावेशी इतिहासको एउटा नमुना प्रस्तुत गरेको छ । ढकालले आफ्नै जरा र जमिनको खोजी भनेका भए पनि यो देशका लागि र बौद्धिक जगत्का लागि उपयोगी सामम्री बनेर आएको छ । यस अर्थमा ढकाल बौद्धिक पाठकका सम्मानका पात्र बनेका छन् । हरेक जिल्लाका विद्यावारिधि सन्ततिलाई आफ्नै परिवेशले विप्लवलाई जसरी नै चिमोटिदियो भने हाम्रो चेतनाको विकास हुन बेर लाग्दैन ।
ढकाल यस कृतिबाट समीक्षक, अन्वेषक र इतिहासकारका रूपमा परिचित भएका छन् । उनी ‘इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ’ भन्छन् (पृ. झ) । उनी आफ्नो जिल्लाको उदाहरण देखाउँदै नेपालभित्र रहेका सबै जातजाति र मातृभाषाहरूको वाङ्मय पनि हामी सबैको साझा सम्पदा हो भन्ने पक्षमा सचेत छन् । उनले यस कृतिबाट प्राचीन कालदेखि, विद्या, साधना र वाङ्मय प्रवर्द्धनको उर्वर साधनाभूमि भोजपुरको राष्ट्रिय योगदानको निरूपण गरेका छन् । यो एउटै कृतिमा उनले सिर्जनात्मक वाङ्मय र ज्ञानात्मक वाङ्मयका बहुविधा र विषयलाई समेटेका छन् । सबै क्षेत्रको इतिहास समेट्न सक्छु भनेर लाग्नु र समेट्नु निकै चुनौतिपूर्ण कार्य हो । त्यही कार्यका परीक्षामा ढकाल उत्तीर्ण बनेका छन् ।
आठ ओटा परिच्छेदमा सङ्गठित यस एउटै कृतिमा भोजपुरलाई केन्द्र बनाई नेपाल विद्याका विविध पक्ष उजागर गरिएको छ । यो कृति क्षेत्रीय अध्ययन हुँदा हुँदै पनि यसले नेपाली ज्ञान परम्पराका विविध पक्षलाई समेट्न सकेको छ । लेखकले यहाँका विभिन्न ज्ञानधाराको खोजी गरेका छन् । जोसमनी साधुसन्तहरूले प्रतिपादन गरेको निर्गुण भक्तिधारामा आधारित ज्ञान र बौद्ध भिक्षुहरूले विस्तार गरेको ज्ञानलाई पनि समेटेका छन् । यस कृतिमा मूलत: दिङ्लाली गुरु षडानन्दको शैक्षिक जागरणसँगै विकसित भएको संस्कृत वाङ्मयमा आधारित ज्ञानपरम्पराको जरोकिलो प्रस्तुत छ । यस कृतिले समाजसुधारक योगमायाको सामाजिक असमानताका विरुद्ध गरिएको विद्रोही अभियानमा आधारित ज्ञानपरम्परालाई पनि निकै तथ्यपरक रूपले प्रस्तुत गरेको छ । यस कृतिलाई भोजपुरका विभिन्न आदिवासी समाजमा रहेको लोकवार्ता केन्द्रित रैथाने ज्ञानपरम्पराका साथै तिनसँग मिल्दा पूर्वीय तथा पाश्चात्य जगत्मा विकसित आधुनिक चिन्तनधारा र सिर्जनात्मक साहित्यका फरक फरक प्रवृत्तिहरूको अन्वेषण गरिएको छ । सरसरर्ती हेर्दा यस कृतिले विनाआग्रह समग्र भोजपुरे वाङ्मयको अन्वेषण गरेको छ । लेखकको अन्वेषण शिल्प र जाँगर निकै लोभलाग्दो छ ।
प्रस्तुत कृतिलाई आठ परिच्छेदमा संयोजन गरिएको छ । यस कृतिका आठ परिच्छेदहरू क्रमश: भोजपुरको परिचय, भोजपुरको लोकवाङ्मय, भोजपुरको अभिलेख वाङ्मय, भोजपुरका पत्रपत्रिकाहरू, भोजपुरको वाङ्मय विविध, भोजपुरका वाङ्मयकर्मीहरू, भोजपुरका मातृभाषाका वाङ्मयकर्मीहरू, सारांश तथा निष्कर्ष हुन् । यस कृतिका अन्तिममा ए.पी. ए. पद्धतिअनुसार सन्दर्भ सूची समेट्नका साथै परिशिष्ट खण्डमा महत्त्वपूर्ण सूचनाहरू समेटिएको छ । त्यस्ता सूचनामा प्रमुख स्रोतव्यक्ति, सूचक, अनुवादक तथा सङ्घसंस्थाहरू, भोजपुरका विविध नक्साहरू आदि समेटिएको छ । त्यसैगरी यस कृतिका अन्त्यमा अनुक्रमणिका प्रस्तुत गरिएको छ । अनुक्रमणिकामा भोजपुरका लेखक सहित्यकारका नामको सूची दिइएको छ । यस आधारमा साहित्यकारहरूका र अन्य वाङ्मयसेवीका विषयमा पढेर छिटै थाहा पाउन सकिने गरी प्रस्तुत गरिएको छ । यस कृतिको निष्कर्ष छ : ‘हामी जहाँ जहाँ उभिएका छौँ , त्यही धरातलबाट ऐतिहासिक तथ्यहरूको खोजी र संरक्षण गर्नु आवश्यक छ । नेपाली वाङ्मयको बृहत् र समावेशी इतिहास लेखनको आधारभूमि निर्माण गर्न संस्थागत आधारबाट नै सूक्ष्म अनुसन्धान गरिनु जरुरी छ (पृ. ७८०) ।’ यो चिन्तन र काम नेपाली अभिलेख अध्ययन, लोकवार्ता, साहित्येतिहास, वाङ्मयिका इतिहास र समग्र इतिहासका लागि पनि कामलाग्दो छ । आधुनिक वैज्ञानिक समाजशास्त्रका दृष्टिले पनि बहुउपयोगी छ ।
भोजपुरको वाङ्मय शीर्षकको ८०६ पृष्ठको बृहत् कृति राज्यकोषको उपयोगविना नै प्रकाशन भएको छ । यस कृतिको प्रकाशन संस्था ‘भोजपुरे सेवासमाज’ रहे पनि शङ्करप्रसाद कोइरालाको संयोजनमा डा. गोविन्दमानसिंह कार्की, पासाङ दोर्ची शेर्पा, शशी लुमुम्बु र सङ्केत कोइरालाको टिम नै बनेको छ । यस टिमलाई विभिन्न भोजपुरे मनकारी वाङ्मयसेवीहरूले छ लाख रूपैयाँ सहयोग गरी कृति प्रकाशन भएको देखिन्छ । यस कुराले कुनै महत्त्वपूर्ण कृति प्रकाशन हुन साधनस्रोत भन्दा पनि बौद्धिक एवम् अन्वेषणमुखी चेतनाको खाँचो रहेछ भन्ने देखिन्छ । कृतिका सामग्री संयोजन र प्रस्तुतिका दृष्टिले यसको मूल्य रु. १५०० पनि त्यति महँगो लाग्दैन । बरु यसो भन्न मन लाग्छ यस्ता कृति राज्य मातहतका संस्थाहरूले प्रकाशन गरुन् । विश्वविद्यालयहरूले प्रकाशन गरुन् । ढकाल जस्ता अन्वेषकहरूलाई निरन्तर अन्वेषणमा लागिरहने अभिप्रेरणा दिऊन् ।
प्रस्तुत कृति बहुभाषी पाठकलाई नि त्यत्तिकै उपयोगी बनेको छ । भोजपुरमा बसोबास गर्ने सबै जात जातिले अपनत्व पनि गर्न पाउने छन् । यसलाई समग्र पढ्न नसक्ने पाठकलाई पनि यहाँ समेटिएका शङ्करप्रसाद कोइराला, पासाङ दोर्ची शेर्पाका संयोजन र प्रकाशकीयसहित सत्यमोहन जोशी, ज्ञानमणि नेपाल, परशु प्रधान, काशीनाथ तमोट, डा. नोवलकिशोर राई, डा. अभि सुवेदी, दधिराज सुवेदी, डा. देवीप्रसाद गौतम, डा. गोविन्दमानसिंह कार्की र डा. मद्मा अर्यालका सारभूत मन्तव्यले पनि यस कृतिको गुण गरिमालाई देखाएका छन् । अनुक्रमणिकाले चाहेको व्यक्तिका विषयमा पढ्ने छुट पनि दिएको छ । यस कृतिका लेखक ढकाल स्वनामधन्य कवि हुँदा उनको प्रतिभा पहिचान र अन्वेषण शिल्प पाश्चात्य कवि टी. एस. इलियटले विश्वास गरे जस्तै विश्वसनीय देखिन्छ र त्यो निकै गहिरो पनि छ । कुनै कृति पूर्ण र सम्पूर्ण हुँदैन तर यो कृति नेपाली क्षेत्रीय अध्ययन परम्परामा निकै उल्लेख्य कृतिका रूपमा प्राप्त छ । यस कृतिको भाषा रागात्मक हुँदा हुँदै अनुसन्धानका पक्षमा सफल छ ।
भोजपुरको वाङ्मय कृति र यसका कृतिकारलाई साहित्यसागरको सम्पादकीय अभिवादन ।
-डा. रमेश शुभेच्छु