नेपालीहरू आफू पुगेको मुलुकमा बिलाएका छैनन् । उनीहरूले आफ्नो पहिचानलाई कति पनि मर्न दिएका छैनन् । आफ्नो पहिचानलाई स्थापित गर्नका लागि विविध प्रकारका सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिरहेका छन् । नेपालका चाडपर्वहरूलाई आफूसँगसँगै लिएर गएका छन् ।
आज नेपाली संस्कृति नेपालभित्र मात्र सीमित छैन । हामी देशभित्र पश्चिमा संस्कृतिले गाँज्यो भनिरहेका छौँ । त्यो गँजाई आयातीत र अप्रत्यक्ष छ तर नेपाली जाति आफ्नो संस्कृतिको दूत आफै बनेर विश्वका कुना कुना पुगिरहेको छ । अध्ययन, रोजगारी, डी.भी. भिसा, विवाह भिसा, तेस्रो मुलुक पुनर्वास आदिका कारण नेपाली विश्वमा पुगिरहेका छन् । नेपाली जाति जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ नेपाली संस्कृति र सम्पदालाई पुर्याउने काम गरेका छन् ।
नेपालीहरू आफू पुगेको मुलुकमा बिलाएका छैनन् । उनीहरूले आफ्नो पहिचानलाई कति पनि मर्न दिएका छैनन् । आफ्नो पहिचानलाई स्थापित गर्नका लागि विविध प्रकारका सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिरहेका छन् । नेपालका चाडपर्वहरूलाई आफूसँगसँगै लिएर गएका छन् । धर्म संस्कृति र मूल्य मान्यतालाई पनि अफूसँगसँगै लगेका छन् । नेपाली शैलीका व्यापार व्यवसाय र हस्तकला एवम् सांस्कृतिक र लोककलाहरूलाई पनि आफू पुगेका ठाउँमा पुर्याएका छन् । प्रायः ठुला र प्रशिद्ध चाडपर्वहरू विदेशमा रहेका नेपालीहरू मिलेर, विदाको दिन पारेर, आफ्नो अनुकूल समय मिलाएर भव्य र सभ्य रूपमा मनाउने गर्दछन् । विदेशका कुना कुनामा मनाइने प्रमुख चाडपर्वहरूमा दशैँ, तिहार, छठ, लोसार, माघी, होली, उँधौली, उँभौली, गौरापर्व, डेउडा नाच, नयाँवर्ष आदि पर्दछन् । तिहारको देउसी भैलो सबै भन्दा विस्तारित संस्कृति हो । यसका साथै बुद्धपूर्णिमा, गुरूपूर्णिमा, मातातीर्थ औँसी, पितातीर्थ औँसी आदि पनि पर्दछन् । नेपाली ढाकाटोपी दिवसलगायतका पर्व पनि पर्दछन् । नेपाली जातिको विश्वयात्रा र उनीहरूसँगै भएको यी विभिन्न चाडपर्व र लोकसंस्कृतिको विस्तारले नेपाली संस्कृतिक सम्पदालाई विकास गरेको छ र अन्य संस्कृतिसँग सांस्कृतिक कुटनीतिको अनौठो विस्तार गरिरहेको छ ।
नेपाली जाति अब विश्वमा चिनिएको महाजाति बनिरहेको छ । यो जाति आफ्नो भाषा संस्कृतिसहित विश्वका ज्ञानकेन्द्रमा, श्रम बजारमा र कर्मक्षेत्रहरूमा फिँजिइरहेको छ । त्यहाँ रहने क्रममा केही न केही नेपालीपन छोडेर आएको छ । जहाँ जहाँ नेपाली जाति पुगेका छन् त्यहाँ त्यहाँ उनीहरूमा साङ्गठनिक एवम् सांस्कृतिक चेतना प्रबल देखिएको छ । देशका नाम र सम्बन्धित देशका नाम, आफ्ना जन्मभूमिका नाम र सम्बन्धित ठाउँका नाम, नेपाली जातिका नाम, धर्मका नाम, बुद्ध पशुपति आदि देवताका नाम आदिसँग सम्बन्धित अनेक संस्था खुलेका छन् । उनीहरू हरेक चाडपर्वहरूमा, धार्मिक उत्सवहरूमा उपलब्धताका आधारमा ठुलो सङ्ख्यामा पायक पर्ने ठाउँमा उपस्थित भई विविध कार्यक्रमसहित नेपाली पहिचानका पर्व मनाउँछन् । विविध सांस्कृतिक एवम् पर्वगत कार्यक्रमहरू गर्दछन् । आआफ्ना जातीय भेषभुषा, गरगहना लगाएर र्याली निकाल्ने र बाजागाजा र भोजनसहित नाचगान गरेर रमाइलो गरी चाडपर्व मनाउँछन् । आफ्ना भाषा र साहित्य एवम् गीत, सङ्गीत र अन्य कलाको प्रवद्र्धनको प्रयत्न गर्दछन् । यी पक्षलाई विभिन्न नेपाली समाजले प्रकाशन गरेका स्मारिका, उनीहरूले सञ्चालन गरेका वेवसाइट आदिले र प्रवासी नेपालीका गतिविधिलाई समाचार बनाउने सञ्चारमाध्यमले देखाउँदै आएका छन् ।
नेपालीहरूको उपस्थिति विश्वका विभिन्न देश महादेशमा छ । त्यहाँका विश्वविद्यालयदेखि विविध व्यापार, व्यवसाय, कलकारखाना, श्रमबजार र उद्योगहरूमा नेपाली जातिको उपस्थिति छ । त्यहाँ सरिक नेपालीहरूले नेपालका ख्यातिप्राप्त कलाकारहरूलाई आमन्त्रण गरेर नेपालमा हुने गरेका भन्दा भव्य कार्यक्रमहरू आयोजना गरिरहेका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एन आर. एन. ए. र यसका विभिन्न उपसमिति आदिको उद्देश्य विभिन्न नाममा खुलेका नेपाली सङ्घसंस्थाको र नेपाली राजनीतिक पार्टीका विदेश स्थित भातृ सङ्गठनसमेतको साझा उद्देश्य नेपाली सांस्कृतिक विस्तार, नेपाली पहिचानको विस्तार देखिन्छ । विश्वका विभिन्न मुलुकमा प्रवेश गर्ने नेपाली डायस्पोराले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउन हरप्रकारका प्रयासहरू गरिरहेका हुन्छन् । यस्ता कामहरू संस्था वा समूहगत रूपमा हुने गरेका छन् ।
विभिन्न मुलुकमा बस्ने नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र सभ्यतालाई सँगसँगै लिएर बस्न त्यति सजिलो छैन । हरेक चाडबाड तिथि मिति मिलाएर मान्न सहज परिस्थिति पनि छैन । तर पनि उनीहरू महका चाका बनाउने कर्मीमौरी जस्तै नेपाली संस्कृतिको संरक्षणका लागि एकजुट भइरहेका छन् । नेपालीहरूले विविध उपाय अवलम्बन गरेर नेपाली जातीय संस्थाहरू बनाएका छन् । त्यस्ता संस्थाहरूले सबै नेपालीहरूलाई जुटाउने र नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदालाई जोगाउने पहल गरिरहेका छन् । उनीहरूका यस्ता कर्ममा बरु नेपाल राष्ट्रले सांस्कृतिक कुटनीति निर्वाह गर्न सकिरहेको छैन ।
जहाँ पुगे पनि आफूसँग आफ्नो संस्कृति र चेतना लिएर जाने जाति सचेत जाति हो । नेपालीहरू आज त्यही सचेत जातिका रूपमा विश्वमा चिनिइरहेको छ । नेपालीहरू पुगेका ठाउँमा सांस्कृतिक चाडपर्व र नेपाली पोसाक दिवसका साथै भानु जयन्ती, देवकोटा जयन्ती, मोती जयन्ती, पारिजात जयन्ती, पृथ्वी जयन्ती र अन्य साहित्यकारहरूका जन्मदिन मनाउने परम्परा बलियो बनिरहेको छ । नेपाली कलाकार र राष्ट्रिय विभूतिहरूलाई पनि सम्झन्छन् । धार्मिक सांस्कृतिक पर्व पनि मनाउँछन् । बुद्ध र पशुपतिलाई जोडेर र अन्य पक्षलाई जोडेर संस्था र मठमन्दिर बनाउँछन् । यो जनस्तरबाट भएको सांस्कृतिक विस्तारको पहल हो । यस पहललाई राज्यले सांस्कृतिक कुटनीतिक विस्तारका रूपमा सघाउनुपर्छ । दूतावासहरूले यसलाई सांस्कृतिक कुटनीतिका रूपमा विश्वमा पुर्याउन सक्छन् ।
– डा. रमेश शुभेच्छु