दक्षिणकाली नगरपालिका वडा नं २ नैखन्डीको कामधेनु माध्यमिक विद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो । दक्षिणकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र विद्यालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाभित्र रहेका अठार वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । प्रतियोगितामा खोकना जन मा.वि.का हिमाल थापा प्रथम, कामधेनु माविका सिजन खड्का र अरूण पोखरेल द्वितीय, र तृतीय भएका थिए भने अरूणोदय माविका रिना तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
विजयी प्रथम द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउन सफल विद्यार्थीहरूलाई विद्यालयले क्रमश : ३०००/–, २०००/–, १०००/– र ५००/– नगद पुरस्कारका साथै प्रति विद्यार्थी १०००/– रुपैयाँभन्दा बढीका साहित्यिक पुस्तक र पत्रिका पुरस्कारको रूपमा प्रदान गरिएको थियो । प्रतियोगितामा साहित्यकार किशोर पहाडी, मुरारी सिग्देल र निशा के.सी. निर्णायक मण्डलमा रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख जनार्दन रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख बस्नेतले विद्यालय स्तरमा हुने कार्यक्रमले बालबालिकाहरूको पढाइ सुधार हुने बताएका थिए । उक्त कार्यक्रममा रमेश बलामी, सुशान्त केसी, शशिराज अर्याल, प्रनिशा थापा, प्रिन्स देवकोटा, सन्तोष पौडेल, तुषार अधिकारी, विजय पौडेल, जनार्दन रिजाल, सङ्गीता थापा, निशा केसी, मुरारी सिग्देललगायतका स्रष्टाहरूले पनि कविता वाचन गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक विजय खड्काले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा प्रमुख रिजाल र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेतले कार्यक्रमको औचित्प प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र लामाको धन्यवाद ज्ञापनका साथ समापन भएको उक्त कार्यक्रमका संयोजक एवं उद्घोषण डा. शेखरकुमार श्रेष्ठले गरेका थिए ।