टङ्क कार्की नेपाली राजनीति एवम् बौद्धिक गजत्मा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइ पनि सकेको छ । प्रस्तुत शृङ्खलामा उनको महाभारतको पात्रमा केन्द्रित वर्तमान राजनीतिसँग मिल्दो समसामयिक सन्दर्भलाई समेटिएको छ ।
-सम्पा |
महाभारतमा एक जना पात्र छन् – शिशुपाल | चेदीका राजा | जन्मजात अपाङ्ग | चार वाहु, त्रिनेत्र | परन्तु जन्मदा आकाशवाणी भयो, ‘डराउनु पर्दैन | यो भाग्यशाली र शक्तिशाली राजकुमार हुनेछ | समय क्रममा यसका अतिरिक्त दुई हात र अतिरिक्त आँखा झरेर जाने छन् | यसको आयु लामै छ तर यसलाई जसले बध गर्ने हो उसको पनि जन्म भई सकेको छ |’ आकाशवाणीलाई सोधियो ‘को ?’ जवाफ आयो, ‘कोही आउने छ जसको काखमा यो बस्ने बित्तिकै यसका अतिरिक्त हात र आँखा झरेर जाने छन् | त्यसैले यसको बध पनि गर्ने छ |’
बाबु आमाले एउटा जुक्ति निकाले | दुनियाँ भरका राजा, महाराजा बोलाईयो | महारानीका भदा भएको नाताले कृष्ण र बलरामलाई पनि बोलाईएको थियो | अनि क्रमशः बालकलाई उनीहरूको काखमा राखियो | कृष्णको काखमा राख्न साथै आकाशवाणीको कुरो सत्य सावित भयो | आफ्नो छोराको सम्भाव्य हत्यारा अरू कोही न भएर आफ्नै भदो हुने थाहा पाएर फूपुले छोराले गर्न सक्ने भूललाई क्षमा गर्न र उसको जीवन दान दिन अनुनय विनय गरिन् | कृष्णले बचन दिए, ‘पिर न गर्नोस् फुपू ! यसले सय वटा पाप गरेछ भने पनि म यसलाई चलाउँदिन |’
शिशुपाल जसै हुर्किदै गयो उसको उपद्रो पनि बढ्न थाल्यो | सत्ताको तामशले उसलाई सताउन थाल्यो | उ ठान्थ्यो, ‘यो धर्तीमा कसका बाबुको तागत जसले मेरो आब्रुक उतारोस् ?!’
उसले सुध्रिने कुनै छनक नै देखाएन | कसैले भनेको मानोस त मर्नु | उ नै सर्वज्ञ | ज्याद्रो, ढीट र छिचरो | न लोकाचार छ न संयम | न इमान छ न जमान | न वरत्र हेर्छ न परत्र | मित्रप्रति वैरभाव राख्छ र वैरीलाई अंगालो हाल्छ | उपद्रो र फुटानी उसका सामान्य क्रिडा बन्न थाल्छन् | भन्छ, ‘थिति/शिष्टाचार नामर्दहरूले राख्ने मर्यादा हो, मलाई केले बाँध्ने ?!’ उसलाई लाग्थ्यो, ‘बाँकी सब भुसुना हुन् |’ चितायो कि बितायो – कतिखेर के गर्छ प्रक्षेपण गर्नै न सकिने | उसमाथि अनियन्त्रित थुतुनो |
पछि, एक दिनको कुरा हो | युधिष्ठिरले राजषी यज्ञ आयोजना गरेका थिए | दुनियाँ भरका हस्ति, राजा महाराजा उपस्थित थिए | कृष्णलाई देखेर उन्मादमा शिशुपाल दुर्वाच्य बोल्न थाल्यो | कृष्णको चेतावनीलाई टेर पुच्छर लगाएन | तव कृष्णले त्यहाँ उपस्थित सबैलाई सम्वोधन गर्दै भने, ‘यसले सय अपराध गर्दा सम्म मैले यसलाई क्षमा दिने वचन फुपुलाई दिएको थिएँ | अब त्यो संख्या पुरा भयो |’ अनि भने कृष्णले सुदर्शन चक्र उठाए र भने, ‘शिशुपाल ! तैंले अचाक्ली गरिस्, अब आयो निदुली तेरो काल !” हेर्दा हेर्दै शिर एकातिर धड अर्कातिर |