नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोश भर्खरै प्रकाशन गरेको छ । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा नेपाली शब्दकोश प्रकाशन गरेको थियो । त्यो कोश बालचन्द्र शर्माको सम्पादनमा तयार भएको थियो । त्यो कोश तत्समनिष्ट रहेकामा र विकसनशील भाषाको स्वरूपअनुसार नेपाली भाषामा प्रयोगमा आएका शब्दको प्रविष्टीका लागि २०३३ सालमा प्रज्ञाप्रतिष्ठानले आफ्नै साधन र स्रोतको प्रयोग गरी छुट्टै शब्दकोशको निर्माण गर्ने योजना गर्यो । यो योजनाअनुरूप २०४० सालमा डा. वासुदेव त्रिपाठी र डा. बल्लभमणि दाहालको सम्पादनमा नेपाली वृहत् शब्दकोश प्रकाशन भयो । त्यस शब्दकोशलाई नै नेपाली भाषाका लेखक, समीक्षक, सञ्चारकर्मी एवम् भाषाविज्ञहरूले आधिकारिक र मानक शब्दकोशका रूपमा प्रयोग गर्दै आएका थिए । त्यस शब्दकोशले आफ्ना नाम अगाडि कुनै अन्य पद नराखी नेपाली भाषा प्रयोक्ताको साझा शब्दकोश बन्ने प्रयत्न पनि गरेको थियो नेपाली बृहत् शब्दकोश भनेर । त्यस कोशका विभिन्न दश वटा संस्करण प्रकाशन भइसकेका छन् र एउटा संस्करण विवादित पनि भयो । त्यस विवादलाई पनि सच्याएर नेपाली वृहत् शब्दकोश अस्तित्वमा रहेका बेला त्यहाँका सबै शब्द र अर्थ यथावत राखी अरू नेपाली र नेपाली भाषिकाका शब्द पनि समावेश गरी दोब्बर आकृतिमा प्रस्तुत शब्दकोशको प्रकाशन भएको छ प्रज्ञा नेपाली बृहत् शब्दकोशका नाममा ।
शब्दकोशको प्राचीन रूप निघंटु मानिन्छ । निघंटु, महानिघंटु, अभिधान, शब्दकल्पद्रुम, शब्दार्थकौस्तुभ, शब्दपरजातम, शब्दचिन्तामणि, शब्दसागर, शब्दमुक्तावली, शब्दमञ्जरी आदि शब्दकोशलाई बुझाउने शब्द हुन् । धेरै कोशकारले एउटै कोश निर्माणमा जीवन बिताएका छन् । संस्थानहरू र प्रकाशन संस्थाले ठुलो जनशक्ति परिचालन गरेर कोश बनाएको हुन्छ । यसको दुःख गर्नेहरूलाई थाहा हुन्छ । डा. ज्गुस्ताले मेनुअल अफ लेक्सिकोग्राफी कृतिमा कुनै ज्यानमारालाई ज्यानमाराको सजाय वा मृत्यु दण्ड नदिएर शब्दकोश बनाउन लगाए उसको सजाय भन्दा बढी सजाय हुने विचार राखेका छन् । उनले यो अभिव्यक्ति कुनै कोशकारको चिन्तननिकटबाट दिएका हुन् । यस अर्थमा र वस्तुगत वैज्ञानिक अर्थमा पनि कोश निर्माण प्रक्रिया सरल हुँदै होइन । त्यो कठिन काम नेपाल प्रज्ञा–प्रतिष्ठानले सम्पन्न गरेको छ । यसका प्रधान सम्पादक गङ्गाप्रसाद उप्रेती, विशेष सम्पादक प्रा.डा.चूडामणि बन्धु, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद भट्टराई, प्रा. जगत्प्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल रहेका छन् । त्यस्तै यस कोशका सम्पादकका रूपमा डा. यज्ञश्वर निरौला रहेका छन् । कोश आकार र कोशवैज्ञानिक दृष्टिले पनि मानक देखिन्छ । यसको मूल्य ३,३०५ रहेको छ । विद्यार्थीका लागि मूल्य महँगो भए पनि यो आकार प्रकार र लगानीका दृष्टिले उपयुक्त नै देखिन्छ । समग्र कोश २१०६ पृष्ठमा संरचित छ । यस संरचनाले कोशलाई वास्तवमै बृहत् बनाएको छ ।
शब्दकोशको प्रस्तुत संस्करणमा १ लाख ३० हजार मूल शब्दसहित प्रकाशनमा ल्याएको जनाएको छ । कोश ठुलो हुनु ठुलो कुरा होइन त्यो कतिको पोटिलो छ भन्ने कुरा प्रधान हुन्छ । यस कोशले नेपाली भाषाका प्रयोगमा आएका शब्द मात्र नभएर मुलुकभित्रका विभिन्न मातृभाषाका प्रचलित शब्दहरू, नेपाली भाषाको भाषिका तथा मुलुकबाहिर बोलिने नेपाली भाषाका शब्दसमेत समेट्ने प्रयत्न गरेको छ । नेपालभित्र बोलिने मातृभाषा, नेपाली भाषाकै विभिन्न भाषिका तथा मुलुकबाहिर नेपालीभाषी रहेका ठाउँका प्रचलनमा रहेका भाषाहरूसँगको संसर्गले नेपाली भाषाले आर्जन गरेका शब्दहरू सकेसम्म समेट्ने प्रयत्नले यो कोश साँच्चिकै बृहत् बन्न पुगेको छ । कुनै भाषाको कोश बनाउँदा त्यस भाषाका मूल विशेषता र कोशवैज्ञानिक दृष्टिकोणलाई पनि बिर्सनु हुँदैन । यस कोशको ध्यान भाषिका र मातृभाषातर्फ जाँदा प्राविधिक, पारिभाषिक र लोकप्रचलनका शब्दहरू भने अझै पनि छुटेकै छन् । यही छुट र समस्याकै कारण कोषहरू विभिन्न प्रकारमा निस्कन्छन् । विभिन्न विधा र विषय केन्द्रित रूपमा निस्कन्छन् र मात्र विश्वकोशहरू बन्छन् ।
प्रज्ञा नेपाली वृहत् शब्दकोश (२०७९) को प्रयत्न नेपाल प्रज्ञाप्रतिष्ठानका इतिहासमा उल्लेख्य कार्य हो । यसले नेपाली भाषाको विकास र विस्तारलाई सघाउ पुर्याउने कुरामा दुईमत छैन यद्यपि यस कोशका पनि केही सीमा छन् । यसको पठन गर्दै गएपछि पाठकहरूले ती सीमा पनि बाहिर ल्याउने छन् । कोशवैज्ञानिकहरूले कोशविज्ञानसँग सम्बन्धित विषय बाहिर ल्याउने छन् । यसलाई भाषिका र मातृभाषासहितको कोश मानेर पुरानो नेपाली वृहत् शब्दकोशलाई यथावत् परिमार्जन र प्रकाशन गर्दै लैजानुपर्ने पक्ष भने खड्कन्छ । त्यो कोश नेपाली भाषाका समग्र प्राज्ञिक कार्यका लागि उपयोगी र छरितो छ यो कोश त्यति उपयोगी र छरितो देखिँदैन । त्यसमा नेपाली भाषीको अपनत्व छ भने यसले आम नेपालीको अपतत्व पाउने प्रयत्न गरेको छ । नेपाली बृहत् शब्दकोश अहिलेसम्मको विश्वविद्यालय, सञ्चारगृह, विद्यालय तहको पाठ्यक्रम विकास केन्द्र र आम नेपालीभाषीहरूको साझा सम्पदा हो त्यसका मानकमा सबै भाषिका र सबै मातृभाषी शब्द अटाउनुपर्छ भन्ने कोशवैज्ञानिक सिद्धान्तले मनि मान्दैन । यसतर्फ भने सम्पादक मण्डल सचेत हुन नसकेको हो कि भन्ने पक्ष यस कोशका भूमिका र आन्तरिक संरचनाले देखाउँछ । यद्यपि कोशहरू एकै संस्करणमा पूर्ण नहुने, एकै पाठकका पठनले मूल्याङ्कन गर्न नसकिने पक्षलाई आधार मान्दा यो कोश पूर्ण कोशका रूपमा आएको छ । यो नेपाली भाषीका लागि मात्र नभएर समग्र नेपालमा बोलिने मातृभाषाका पाठकका लागि र नेपाली भाषाका भाषिकाका लागि पनि उपयोगी हुन सक्ने सामर्थ्यसाथ प्रकाशन भएको छ ।
कोशवैज्ञानिक दृष्टिले र व्यावहारिक दृष्टिले विश्वसन्दर्भमा विश्वविद्यालय, विश्वविद्यालयका पनि भाषा विभागहरूले छुट्टा छुट्टै र प्रज्ञा–प्रतिष्ठानहरूले छुट्टाछुट्टै शब्दकोश निर्माण गरेर मानक कोश निर्धारण गरेका छन् । नेपालमा भने नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मात्र कोशको अभिभारा सुम्पिइँदै आएका सन्दर्भमा केही सीमा र सामर्थ्य रहनु स्वाभाविकै हो । यस कोशमा भाषिका क्षेत्र नछुट्याउनु र पूर्ववर्ती कोशले दिएका कतिपय सङ्क्षेपीकृत रूप नदिनु एउटा सामान्य अपूरो पक्ष देखिन्छ । त्यसो गर्दा कतिपय तत्काल लेखिएका सामग्रीहरूका विषयमा खोजी गर्न कठिन हुन सक्छ । यसको शीर्षक प्रज्ञा नेपाली शब्दकोश मात्र राखिएको भए नेपाली बृहत् शब्दकोशको सम्मान र यस कोशको प्रतिष्ठा पनि अतुलनीय हुने थियो भन्ने पनि खड्कन्छ नै । यी केही पक्षबाहेक कुनै पनि भाषा कति समृद्ध छ भन्ने कुरा पहिल्याउने मूल मापदण्ड त्यसको शब्दकोश भएकाले यस कोशले नेपाली भाषाको शब्दभण्डारगत समृद्धि देखाउने प्रयत्न गरेको छ । यस प्रयत्नका क्रममा प्रज्ञा नेपाली बृहत् शब्दकोशले यथासक्य सही वर्णविन्यास, स्रोत, व्युत्पत्ति, अर्थ र प्रयोगलाई पनि समेटेर आफ्नो बृहत् अर्थलाई सार्थक बनाएको छ । यतिको बृहत् कोश नेपाली पाठकमाझ ल्याएकामा नेपाल प्रज्ञाप्रतिष्ठान र कोश निर्माण समिति एवम् सम्पादकहरूमा हार्दिक धन्यवाद ।
-डा. रमेश शुभेच्छु