भर्खरै राजधानीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा सङ्ग्रहालय स्थापना गरिएको छ । यसको नाम ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ राखिएको छ । यो सङ्ग्रहालय काठमाडौँको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाइएको हो । सङग्रहाल य नेपाल प्रज्ञा प्रतिष्ठानको तत्परतामा तयार पारिएको हो र यसलाई प्रज्ञाप्रतिष्ठानकै विनियमअनुसार सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । यो नेपाली प्राज्ञिक जगत्का लागि खुसीको कुरा हो । देवकोटा स्वयम् नेपाल प्रज्ञाप्रतिष्ठानका परिकल्पनाकार र संस्थापक सदस्य पनि हुँदा उनका नाममा विशेष सम्मान पनि हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय राज्यका लागि गौरवको विषय हो । यो राज्यका पहिचायक सम्पदामध्ये एउटा ठुलो सम्पदा हुन सक्छ । यस सङ्ग्रहालयको निर्माणबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप उजागर गर्न सघाउ पुगेको छ । उनका कृति र उनीसम्बन्धी अनुसन्धानहरूको आधिकारिक सङ्कलन र संरक्षण केन्द्र बनेको छ । यसले धेरै स्रष्टाहरूलाई देवकोटा जस्तै निरन्तर साधनामा लागिरहन प्रेरणा दिनका साथै पर्यटन प्रवर्द्धनलाई पनि सघाउ पुर्याउने देखिन्छ ।
देवकोटाको पुरानो घरजग्गा खरिदसहित करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको भनिएको सो सङग्रहालयप्रति धेरैको चासो थियो । केही विद्वान्हरू न्यसलाई नभत्काई पुरानै अवस्थामा संरक्षण गरिनुपर्छ भन्ने पक्षमा थिए । सर्वोच्च अदालतमा पुरानो घर नभत्काउनका लागि मुद्दा पनि परेको थियो । इन्जिनियरहरूको सल्लाहअनुसार जिणोद्धार गर्न नसकिने देखिएपछि त्यस सङ्ग्रहालयलाई भत्काएर त्यस्तै आकारप्रकार र उचाइको नयाँ सङ्ग्रहालय बनाइएको हो । यसको आकारप्रकार पुरानै घर जस्तो भए पनि भित्री संरचना आधुनिक किसिमको छ । लिफ्ट र आधुनिक बाथरुमहरूको पनि निर्माण गरिएको छ । तिनका निर्माणमा आधुनिक सिमन्ट र मार्वलको पनि प्रयोग गरिएको छ । आधुनिक सामग्रीको प्रयोग भए पनि सङ्ग्रहालय आकर्षक रहेको छ र वाहिरबाट देखिने आकृतिमा कुनै कमी आउन पाएको छैन ।
सङग्रहालयअगाडि महाकवि देवकोटाको पूर्ण कदको शालिक उभिएको छ । देवकोटा प्रकृतिप्रेमी कवि थिए भन्ने अर्थमा पानी पोखरी, फोहरा र वगैँचा बनाइएको छ । भित्र प्रवेश गर्दा सरस्वतीको मूर्तिका साथै देवकोटाको कविता सुनाइरहेको अर्को शालिक राखिएको छ । बाँकी देवकोटासँग सम्बन्धित साहित्यिक कृतिहरू, महत्त्वपूर्ण तस्वीरहरू, देवकोटाले प्रयोग गरेका सामग्रीहरू सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।
नेपाली साहित्य परम्परामा भानुभक्त आचार्य र लेखनाथ पौडेलका नाममा संग्रहालयको अवधारणाअनुसार सामग्रीहरू सङ्ग्रह गरिए पनि ती सङ्ग्रहालयभन्दा व्यवस्थित रूपमा यो सङ्ग्रहालय देखा परेको छ । उद्घाटनकै दिन लक्ष्मीप्रसाद देवकोटाका महाकावयमा मानवतावाद शीर्षकमा विद्यावारिधि गरेका शोधार्थी डा. रमेशकुमार लुइटेलले आफ्नो विद्यावारिधि शोधपत्र संरक्षणका लागि हस्तान्तरण गरेका थिए । अव त्यहाँ देवकोटाका कृतित्व, व्यक्तित्व र उनी विषयक अनुसन्धानका सबै पक्षहरूलाई हेर्न पाइने विश्वासले नेपाली प्राज्ञिक जगत् गौरवान्वित छ । यो सङ्ग्रहालय राजधानीको मध्यभागमा रहेकाले यसमा देशी विदेशी लेखकहरू पुग्न पनि सहज देखिएको छ । यस्ता कार्यले नेपाली जातिको बौद्धिक स्तर विकास हुँदै गएको पक्ष विश्वसामु चिनाउँछ ।
-डा. रमेश शुभेच्छु