त्रिलोचन ढकालको परिचय साहित्यसागरका विभिन्न अंकमा समेटिइसकेको छ । उनी नेपाली आख्यानको लघुकथा लेखनमा निकै सक्रिय प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘बली’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले बलिप्रथाको विरोध गरेको छ ।
-सम्पा. |
“पुजारी बाबा ! आज कति राँगाको बलि भयो ? ”
“त्यस्तै साठी सत्तरी हजार ।”
“हजुरलाई पाप लाग्दैन ?
“मलाई किन पाप लाग्ने ? पचासौँ किलोमिटर टाढादेखि राँगा लिएर भक्तहरू ओइरिन्छन्, खाली ठाउँमा हावा झैं । विभिन्न भाकल गरेका हुन्छन् । उनीहरूको मनोरथ पूर्ण हुन्छ ।”
“राँगाको हत्या ?”
“यो हत्या होइन । स्वर्गारोहण गर्ने शक्ति हो । यहाँ जति बलि दिइयो ती सबै, जति पाप गरेका भएपनि सिधै स्वर्ग पुग्छन् । कुनै घुमाउरो बाटो हिँड्नु पर्दैन । मैले त दुवैको भलाइ गरेको छु । भक्तहरूको मनोकांक्षा पूरा भएको छ । बलिदान गर्नेहरूको लागि स्वर्गमा गद्दी मिलेको छ ।”
“स्वर्गमा शुख हुन्छ पुजारी गुरु ?”
“स्वर्गमा सधैँ आनन्दको पोखरीमा पौडी खेल्न पाइन्छ ।”
“हजुरलाई पनि स्वर्ग जान मन छ ?
“स्वर्गमा जान कै निम्ति त जीवनभर भगवतीको सेवा गरेर बसेको छु ।”
“त्यसो भए किन घुमाउरो बाटो पुजारीजी ? जति पाप गरेको भए पनि स्वर्ग जान पाइने रहेछ । बाटो पनि सिधा रहेछ । राँगा गएकै बाटो जाउन त पुजारी बा ।”
आनन्दआश्रम, फापरथुम स्याङ्जा