पूर्वीय काव्यशास्त्रमा ‘भावयित्री’ र ‘कारयित्री’ प्रतिभाको चर्चा छ । पूर्वीय सिर्जना एवम् समीक्षाशास्त्रमा यी दुई पदको प्रयोग बाक्लै भएको छ । यस विषयलाई काव्यमीमांसाका स्रष्टा राजशेखरले यसरी प्रस्तुत गरेका छन् :
कश्चिद्वाचं रचयितुमलं श्रोतुमेवापरस्तां, कल्याणीं ते मतिरूप यथा विस्मयं नस्तनोस्ति ।
नह्येकस्मिन्नतिशयवतां सन्निपातो गुणानामेक सूते कनकमुपलतत्परीक्षा क्षमोन्य ।। (काव्यमीमांसा)
पूर्वीय काव्य परम्परामा आचार्य राजशेखरले यसरी समीक्षक र सर्जक दुवै प्रतिभा भएको तर्क पहिलो चोटि गरेका हुन् । उनले आफ्नो समीक्षाग्रन्थ काव्यमीमांसामा सहृदयी जनका हृदयमा कारयित्री र भावयित्री प्रतिभाजनित दुई किसिमका भावनाहरू रहन्छन् भनेका छन् । यो उनको अध्ययनको मात्र अभिव्यक्ति होइन अनुभवजनित अभिव्यक्ति पनि हो । उनका अनुसार दुई किसिमका प्रतिभामा केन्द्रित भावमध्ये पहिलो सृजनात्मक भाव र दोस्रो समीक्षणात्मक भाव हो । यी दुवै क्षेत्र प्रतिभागत संवेदनाका क्षेत्र हुन् । यी दुवै प्रतिभाको उपस्थिति कुनै कुनै विशिष्ट प्रतिभामा मात्र निहित हुन्छ । उनका अनुसार अधिकांश प्रतिभामा कि त सृजनात्मक प्रतिभा मात्र रहन्छ कि त समीक्षणत्मक प्रतिभा मात्र रहन्छ । यी दुवै प्रतिभा हुनु विशिष्ट प्रतिभा हो । सुनखानीको सुन उत्पादन र कसीढुङ्गो उत्पादन पनि हो ।
राजशेखर र उत्तरवर्ती चिन्तकका अनुसार सृजनात्मक भावना सबल भएमा कारयित्री सृजनात्मक क्षमता र समीक्षणात्मक क्षमता प्रबल भएमा त्यसलाई भावयित्री प्रतिभाका रूपमा चिनाइएको छ । यो विषयलाई प्रकारान्तरले पाश्चात्य चिन्तक समीक्षाशास्त्री एवम् सर्जक टी.एस. इलियटले पनि महत्त्वसाथ अभिव्यक्त गरेका छन् ।
सूक्ष्म दृष्टिले हेर्दा स्रष्टाले गहण गर्ने विषयवस्तुमा यो मुलुकमा र अर्को मुलुकमा खास फरक हुँदैन । सूक्ष्म दृष्टिले हेर्यो भने संसारभर एकै किसिमको विषयवस्तु लेखिइरहेको वा सिर्जनाको विषय बनिरहेको हुन्छ । त्यस विषयलाई स्रष्टाले आफ्नो सोच, अनुभव, अध्ययन, भाव र चिन्तनअनुसार आफ्ना कलामा ढालेर आकृति दिन्छ । उसले आफ्नो अभिव्यक्तिको भाव, प्रतीक, बिम्ब आदिको स्वरूप प्रदान गर्दछ । त्यसरी सर्जक प्रतिभाले भाव, बिम्ब आदिका फरक फरक तहमा रहेका विषयवस्तुलाई जसरी विशिष्ट संवेदनाका खास खास गुण, खास खास भावना र खास क्षणको संवेदना समायोजन गरेको हुन्छ । त्यही गुण, भावना, क्षण र संवेदनामै टेकेर मात्र समीक्षक पनि त्यस कृतिमाथि केही भन्ने वा मूल्यनिर्णय गर्ने सामर्थ्य राख्छ ।
उक्त दृष्टिले सर्जकले सिर्जनाका क्रममा लिएको खास र त्यही गुण, त्यही भावातिरेक र त्यही क्षणको संवेदना नपहिल्याउन्जेल समीक्षा गरिए पनि त्यो समीक्षा विश्वसनीय हुन सक्तैन । राजशेखरको अभिव्यक्तिमा भावयित्री प्रतिभामा पनि कारयित्री प्रतिभाको आवश्यक हुन्छ भन्ने आशय अभिव्यक्त छ । यसले भावन र सृजनका समानताको खोजी गरेको छ । सर्जकको संवेदनासँग साक्षात्कार भएमा मात्र रचनाको व्याख्या विश्लेषण सान्दर्भिक र आधिकारिक हुन्छ भन्ने राय प्रकट भएको छ ।
राजशेखर स्वयम्मा भावयित्री र कारयित्री प्रतिभासम्पन्न प्रतिभा हुन् । उनका दृष्टिमा साहित्यका साधक तिन तहमा विभक्त हुन्छन् । उनका अनुसार पहिलो किसिमका कवि तथा स्रष्टा वाणीलाई सृजनात्मक रूप प्रदान गर्न सक्दछन् । दोस्रो तहका प्रतिभा सृजित वाणीलाई सहृदयतापूर्वक भावन गर्न सक्दछन् र तेस्रो किसिमका प्रतिभा सृजना र भावना दुवै कार्यमा सफल हुन्छन् । उनका अनुसार यस तेस्रो तहको प्रतिभाको उपस्थिति हुनु भनेको सुनको उत्पादन र सुनको परीक्षण गर्ने कसीको पनि उत्पादन एउटै खानीबाट हुनु जस्तै हो । यस दृष्टिले आफ्ना रचनाको गुण र मर्म बुझ्ने प्रतिभा विशिष्ट प्रतिभा हुन्छ । ऊभित्र भावयित्री र कारयित्री सामथ्र्य हुन्छ । उसले अरूका सिर्जनाको पनि न्याय गर्न सक्छ । उसले कुनै एक सामथ्र्यका आधारमा घमण्ड गरिरहनु पर्दैन एक अर्को सामथ्र्यले उसलाई सन्तुलित धरातलमा उभ्याइरहेको हुन्छ । साहित्यको मूल तत्व शब्द मात्र पनि होइन र अर्थ मात्र पनि होइन भन्ने कुरालाई पनि यही काव्यमीमांशाकार राजशेखरका दृष्टिकोणले पुष्टि गर्दछ ।
–डा. रमेश शुभेच्छु