आदिकवि भानुभक्त नेपाली साहित्यका प्रतीक त हुन् नै नेपाली जातीय स्वाभिमानका पनि प्रतीक हुन् । आचार्य जन्मिएका जति वर्ष बित्तै जान्छन्, उनले छोडेर गएका जति वर्ष बित्तै जान्छन्, त्यति उनी चर्चामा छन् । उनले रचना गरेको रामायण जति समय बित्तै जान्छ, जति पुरानो हुँदै जान्छ त्यति चर्चामा छ । यसको बहुआयाम समय बितेसँगै झन् झन् बलियो बनिरहेको छ । भानुभक्तमा अमरता थपिरहेको छ । उनका रचनाको सार र जीवनचेतनाको खोजी भइरहेको छ । १०८ औँ भानुजयन्ती मनाइरहँदा उनको महत्त्व अघिल्ला भानुजयन्ती भन्दा बढिरहेको छ देशमा पनि र विदेशमा पनि ।
रामायण र भानुभक्त पर्याय जस्तै बनेका छन् । आचार्यको रामायण मात्र होइन भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र करिब तीन दर्जन फुटकर कविताकृतिले उनलाई फिजाइरहेका छन्, फैलाइरहेका छन् । जहाँ जहाँ नेपाली जाति पुगेका छन् त्यहाँ त्यहाँ पुर्याइरहेका छन् । उनका सालिक अरू कुनै नेपालीका भन्दा बढी र विश्वका कुनाकुनामा बनिरहेका छन् । उनका नाममा संस्था, विद्यालय र महाविद्यालयहरू खुलेका खुलै छन् । पुरस्कार र मानसममानहरू राखिएका राखियै र बाँडिएका बाँडियौ छन् । पश्चिमाहरू पूर्वीय अध्ययनका सन्दर्भमा रामायण केन्द्रित साहित्यमा भानुभक्तलाई इतिहास, नेपाली समाजशास्त्र, प्राच्यशास्त्रका पनि विषय बनाएर पढिरहेका छन् । बरु हामी आफै आफ्नै नाइटाको सुगन्ध नचिनेझैँ अलमल परिरहेका छौँ । भारतमा तुलसीदाशको भन्दा नेपालमा भानुभक्तको उचाइ रामायण साहित्यका केन्द्रमा मात्र हेर्दा पनि कुनै कम छैन ।
भानुभक्तले आफ्नो समयमा अनुवाद–रूपान्तरण र रचना दुवै माध्यमले नेपाली भाषाको शिर उठाए । उनका रचना अनुवाद वा रूपान्तरण मात्र होइनन् । उनको रामायणको भाव मात्र अध्यात्म रामायणसँग निकट छ रचना मौलिक छ । उनका अन्य कृतिमा पनि मौलिक सिर्जन सामर्थ्य उचो रहेको छ उनले चलाएको कलम आज आएर नेपाली भाषा, साहित्य र संस्कृतिका साथै साझा नेपाली जातिको परिचायक बनिरहेको छ ।
भानुभक्त पनि मानिस हुन् । उनी साधारण परिवारमा तनहुँको चुँदी रम्घामा जन्मेका थिए । आज उनी त्यहाँ मात्र सीमित छैनन् । उनको मुलुकमा मात्र सीमित छैनन् मुलुक बाहिरको नेपाली बस्ती बस्तीमा पुगिरहेका र नेपाली जातिका साझा प्रतीक बनिरहेका छन् । यस बेला आएर भाभुभक्तलाई उनका रचनाभित्र रहेका केही पङ्क्ति झिकेर हिलो छ्याप्ने प्रयत्न त्यति सोभनीय लाग्दैन । विभिन्न माध्यमबाट त्यही प्रयत्न भइरहेको छ । एक किसिम भानुभक्तका योगदानका अगाडि यो प्रयत्न बेकार छ ।
हो भानुभक्त पनि हामी जस्तै मानव हुन् । गल्ती मानवबाटै हुन्छ । भानुभक्तको समयमा आज हामीले यसो बुझेको कुरालाई यसो भनिँदो रहेछ भनेर बुझ्न मिल्छ । त्यसलाई तुलना गर्न मिल्छ तर आज नै कसैले लेखे जस्तो गरेर भानुभक्तका रचनामा रहेका केही पङ्क्तिलाई आजको सामाजिक चेतनाअनुसार हेरिनु भानुभक्तको अपमान र हाम्रो राष्ट्रिय स्वाभिमानमाथिको प्रहारबाहेक अरू केही होइन । हो भानुभक्त आलौकिक प्रतिभा होइनन् । उनको देवत्वकरण गरिनु हुँदैन । उनका कमीकमजोरी पनि छन् तर तिनलाई मात्र पहाड बनाएर उनले नेपाली जातिलाई भाषाका एकता सूत्रमा बाँधेको पक्षलाई अपमान गर्नु आफैमाथि अन्याय हो । साहित्यसागरको प्रस्तुत शृङ्खला भानुभक्त आचार्यमा समर्पित गर्दछौँ ।
जय भानु !