विष्णु के.सी नेपाली साहित्यका विशिष्ट स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका माधव घिमिरे विशेषाङ्क र देवकोटा विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको एउटा ‘माटोको माया’ गीति रचना समेटिएको छ । यस रचनाले देशभक्तिभाव अभिव्यक्त गरेको छ । -सम्पा. |
माटाको माया छातीमा कति छ भनौ कति छ
नापेर जोखेर के सक्नु सागरको गहिराइ जति छ ।
माटाको मिठो वासमा कल्पना अनेक झुल्दछ
माटामै पसिना चुहाए विकासको निकास खुल्दछ
सिर्जनाशक्ति अपार छ माटाका डल्ला डल्लमा
खुसीले झुसी मन हुन्छ किसानको खला खलामा ।
माटाको गर्भ छिचोले भेटिन्छ सुनको दरबार
माटाकै धर्म अँगाले बन्दछ सुन्दर घरबार
माटाको मर्म मर्ममा इन्द्रेणी संसार झल्किन्छ
माटाको आराधनाले धर्तीमै स्वर्ग टल्किन्छ ।