सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गरिने सूचना आयो । यो विषय प्राविधिक हुँदा हुँदै पनि यसमा नेपालभित्र चल्ने सवारी साधनमा नेपाली नम्बर र लिपि नहुनु दुःखद पक्ष बन्यो । यातायात व्यवस्था विभागले तत्काल लागू गर्ने गरी तयारी गरेको बताइरहेका बेला यसको औचित्य पुष्टि हुन सकेको छैन । यसका तत्कालीन र दीर्घकालीन असरका विषयमा विचार गरिएको छैन ।
भाषा र पहिचानका दृष्टिले राष्ट्रियतामाथि प्रश्न उठ्ने खालको निर्णय त छ नै विभागले तोकेको दुई, तीन र चारपाङ्ग्रे सवारीका लागि लाग्ने रकम पनि असाध्यै चर्को देखिएको छ । मोटरसाइकलमा २ हजार ५ सय रूपैयाँदेखि हेभी सवारीमा ३ हजार ६ सय रूपैँयासम्म लाग्ने बताएको थियो । यो मूल्य पनि नेपाली सन्दर्भमा ज्यादै चर्को देखियो । यो सुन्ने बित्तिकै कतिपयले प्राविधिक पक्षलाई मात्र महत्त्व दिएर इम्बोस्ड नम्बर राख्न थाले । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात कार्यालय गुर्जुधारामा भिडभाड पनि बढ्यो । त्यसो भए पनि बिचमै यो विषय विवादमा पर्यो । यस विषयमा संसद्मा पनि कुरा उठ्यो तर यसै भनेर निष्कर्ष निस्किएको छैन ।
अबको जमाना स्मार्ट जमाना हो भन्ने कुरामा दुई मत छैन । अधुनातन प्राविधिक दृष्टिले इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणालीका रूपमा यो नम्बर प्लेट उपयोग गरिन्छ । यो प्रयोग थुप्रै विकसित मुलुकमा भइ पनि सकेको छ । यसमा धातुको प्लेटमा यान्त्रिक माध्यमा अक्षर र अङ्क राखिन्छ । यो अन्य मुलुकमा भएको अभ्यास हो तर यसको प्रयोगले नेपाली भाषा मात्र बुझ्ने नागरिक अनविज्ञ हुने छन् । यो नेपाली भाषाका लागि र नेपाली भाषी वक्ता एवम् पाठकका लागि मान्य हुन सक्तैन । यस विषयमा नेपाली भाषा साहित्यमा सक्रिय थुप्रै व्यक्तित्वहरू बोलिसेका छन् । आआफ्ना माध्यमबाट लेख लेखेर र सामाजिक सञ्जालमार्फत विरोध जनाइसकेका छन् । सरकारले यो प्लेट प्रयोग गर्ने नै हो भने नेपाली भाषाको प्रयोगलाई आवश्यक सङ्केतसहित उपयोग गर्नुपर्छ । अहिलेकै तयारीअनुसार प्रयोग गर्नु हुँदैन । यो विषयसँगै अब सङ्घसंस्था, विद्यालय, महाविद्यालय र अन्य क्षेत्रमा पनि राष्ट्रभित्र नेपाली नामलाई महत्त्व दिनुपर्छ । यस कुरालाई छिमेकी मुलुक चिनबाट सिक्नुपर्छ । त्यहाँ आफ्ना भाषामा अनुवाद नगरी कुनै शब्द र विषयलाई प्रवेश दिइँदैन ।
इम्बोस्ड नम्बर प्लेटका केही फाइदा अवश्य छन् । यो नम्बर प्लेट प्रयोग भएका सवारीसाधन चोरीका घटना नियन्त्रण हुने, कर नतिरेका सवारी र सवारी धनीको पहिचान हुने, प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन हुने हुँदा कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिने सकारात्मक पक्ष छन् । यसो हुँदा हुँदै पनि नेपाल जस्ता साना मुलुकका भाषा, संस्कृति र मौलिक पहिचानमाथि लगातार अतिक्रमण भइराखेका बेला यो अभियान पनि सङ्काको घेरामा छ । विशेषज्ञहरूसँग छलफल नभई र राज्यका खास निकायसँग पनि समन्वय नगरीकन नेपाली भाषामा अक्षर र अङ्क नराखी प्रयोग गरिन लागेको यो नम्बर प्लेट आम नेपाली जातिका लागि घातक देखिएको छ ।
अन्य मुलुकका अभ्यासलाई हेर्दा राष्ट्रभाषासहित अङ्ग्रेजी भाषाको प्रयोग भएका नमुना प्रशस्त पाइएको छ । अहिलेलाई यो प्रक्रिया स्थगन गरेर नेपाली भाषासहितको इम्बोस्ड नम्बर लागू गरिए राष्ट्रियताका दृष्टिले पनि र सुरक्षाका दृष्टिले पनि राम्रो हुने छ । यस भित्र भए गरेका कमिसन र ठगीका कतिपय सन्दर्भहरूको पनि पर्दाफास हुने छ । यस्ता संवेदनशील विषयको निर्णय लिँदा सम्बन्धित विषयका विज्ञसँगै राष्ट्रियताको सवाल बिर्सन मिल्दैन ।
-डा. रमेश शुभेच्छु