हरिकृष्ण सिलवाल (नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक) समकालीन पुस्ताका सुपरिचित कवि प्रतिभा हुन् । उनका कविताले समसामयिक विषयवस्तुलाई प्रस्तुत गरेका हुन्छन् । उनी ४० वर्ष लामो शिक्षण सेवाबाट अवकास प्राप्त जीवन व्यतीत गर्दै आएका छन् । उनका मेरो कल्पना (२०२८) कवितासङ्ग्रह, मनैभरि माया (२०५८) गीतिकविता सङ्ग्रह र तिमी हामी साथी (२०६५) बालकविता सङ्ग्रह कविताका कृतिहरू प्रकाशित छन् । यहाँ उनको असारे गीत शीर्षकको कविता समेटिएको छ । यस कविताले असारे खेती किसानीका कृत्यलाई चित्रात्मक रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
असारे मासको दबदबे हिलो
लाईदिऊँ कि माथमा
दोहोरी गाउने समय भयो
कोही छौ कि साथमा
खेतमा भरी वारि र पारि
रोपाइँ गर्दै छन्
रोपेर बिऊ धर्तीमा आज
रमाइलो गर्दैछन्
ब्याडे र बाउसे हतार हतार
काममा जुट्दै छन्
असारे गीत धन्कियो हेर
रोपाइँको साथमा
नाच्न र गाउन रोपार लागे
बिउ बोकी हातमा
हलि र बाउसे हो र हो गर्दै
रम्दैछन् खेतमा ।