दिव्य गिरी नेपाली कविता र आख्यान क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अंकमा समेटिइसकको छ । यहाँ उनको क्रान्तिपुरुष शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले हिंसात्मक राजनीतिको र समग्र राजनीतिक विसङ्गतिको पर्दाफास गरेको छ । -सम्पा. |
सबै मानिसहरू सभास्थलतिर हतार–हतार जाँदै थिए । गाउँमा पहिलोपटक मन्त्री आएर भाषण गर्ने कार्यक्रम थियो ।
जाडोको महिना । रामजनम कम्बल ओढेर चिया पसलबाट यो सबै दृष्य हेरिरहेको थियो ।
“रामजनम ! हिँड तिमी पनि…जाने हैन हाम्रो नेताको भाषण सुन्न ?”–उसकै बालसङ्गाती ब्रजेशले भन्यो ।
ब्रजेश लगभग दस वर्षपछि गाउँमा फर्केर आएको थियो । ऊ पनि जनयुद्ध सुरु भएपछि गाउँबाट एक्कासि हराएको थियो । ब्रजेशसँगको यो पहिलो साक्षात्कार थियो रामजनमको । उसले ब्रजेशलाई निकै फरक पायो । पहिलाको जस्तो थिएन ब्रजेश । उसकोे लवाइ खवाइ, फुर्तीफार्ती निकै बढेको थियो ।
“हिँड..के हेरिर’को?”–ब्रजेशले रामजनमको पाखुरा समातेर उठाउँदै भन्यो । ऊ चुपचाप ब्रजेशको पछिपछि सभास्थल पुग्यो । सबै गाउँलेहरू मन्त्रीको प्रतीक्षामा बसिरहेका थिए । सभास्थल रङ्गीविरङ्गी ध्वजापताकाले सिँगारिएको थियो । वातावरण निकै नरमाइलो थियो । माइकबाट विभिन्न जागरण गीत घन्किरहेका थिए ।
मन्त्रीको आगमन निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो । औपचारिक कार्यक्रम र दुर्ई–तीन जना स्थानीय नेताको मन्तव्यपछि मन्त्रीको भाषण गर्ने पालो आयो ।
मन्त्रीको भाषण सुरु भयो । मन्त्रीले निकै ठुला ठुला कुरा गरे । भाषण सुनेर धेरैले जोड्जोडले ताली बजाए । ताली बजाउनेमा ब्रजेश पनि थियो । तर रामजनम भने चुपचाप मन्त्रीलाई नियालेर उसको भाषण मात्र सुनिरहेथ्यो ।
“हेर, हाम्रो मन्त्रीको भाषण सुनेर सबै दङ्ग छन् । ताली पिटिरहेछन् । तर तिमी भने चुपचाप बसेका छौ । भाषण मन परेन कि क्या हो ? ताली पनि ठोक्दैनौ ?”–ब्रजेशले रामजनमसँग भन्यो ।
रामजनम खिसिक्क हाँस्यो र प्रतिक्रियाबिना ब्रजेशको अनुहारमा हेरिरह्यो ।
“किन हाँसेको ?”–ब्रजेशले सोध्यो ।
“म ताली बजाउन्न”–रामजनमले मलीन स्वरमा भन्यो ।
“किन ? के उसकोे कुरा मन परेन तिमीलाई ?”–आश्चर्य मान्दै ब्रजेशले सोध्यो ।
रामजनमले ओढेको कम्बल खसाल्दै भन्यो–“यी मेरो ताली बजाउने हातको हालत ?”
उसका दुवै हातको हर्थुङ्गा काटिएका थिए ।
त्यो देखेर ब्रजेशले करिब काँप्दै भन्यो–“रामजनम यो के हो ? कहिले भयो यो सबै ? किन ? कसरी ?”
“मैले चन्दा दिन सकिनँ…गरिबले कहाँबाट भनेजति चन्दा दिने ? त्यसैले…”–रामजनमले ब्रजेशको अनुहारमा हेर्दै भन्यो ।
“कसले गर्यो यो ? कोहो त्यो ? म त्यसको पनि यही हालत बनाइदिन्छु”–ब्रजेशले क्रुद्ध हुँदै भन्यो ।
रामजनमले शान्त हुँदै भन्यो–“तिमी केही गर्न सक्दैनौ मित्र । भैगो छोड र अहिले तिम्रै क्रान्तिपुरुष मन्त्रीको भाषण सुन । जसले मेरो यो हालत बनायो ।”