नार्सिसिजम ग्रीसेली पुरा कथामा वर्णित आत्मरतिमा रमाउने एक पात्रको आचरणका आधारमा तयार भएको विचार र परम्परालाई बुझाउने अङ्ग्रेजी मिथक हो । यस मिथकीय शब्दले आत्मरतिमा रमाउने व्यक्तिका चिन्तनलाई सम्बोधन गर्दछ । विशेष गरी पात्रहरूको आचार र व्यवहारलाई देखाउँछ ।
नार्सिसिजमले स्वयं मात्रको खुसी र उमङ्गमा रमाउने, आफैमा अरूभन्दा म राम्रो छु ठान्ने, म मात्र सुन्दर छु, मैले गरेका कामहरू सबै राम्रा छन् भन्ने मोहमा अल्झिएका पात्रको मनोवृत्तिलाई चित्रण गर्दछ ।
यसको मिथकीय इतिहास निकै लामो छ । यो ऐनाको उत्पत्तिभन्दा पनि अगाडिको घटनामा आधारित मिथक हो । मान्छेले आफ्नो अनुहार कहिले पनि नदेखेको अवस्थामा आफ्नो अनुहार पहिलोपल्ट देख्ने मान्छे नार्सिस हो । ऊ ग्रिसको व्यक्ति थियो । उसले पानी जमेको ठाउँमा पहिलोपल्ट आफ्नो अनुहार देख्दा अत्यन्त प्रसन्न भएको पुरा कथाबाट यस मिथकको प्रक्षेपण भएको छ ।
आफ्नो अनुहार पहिलो पटक देखेर रमाउने उक्त पात्रको आचरणलाई विशेष आचरण बनाइयो । ऊ आत्मरतिमा रमाएको सामान्य घटनालाई समय क्रममा सैद्धान्तिकीकरण गरेर देखाइयो । यस मिथकीय घटनालाई विषय बनाएर आत्मरतिमा रमाउने वैचारिक संवेदनालाई समय क्रममा सिद्धान्तको रूप दिइयो । त्यस सिद्धान्तअनुरूप भएका सिर्जनालाई नार्सिसिज्मको नामबाट विश्लेणण गर्ने परम्पराको थालनी भएपछि यसलाई साहित्य कलाको विश्लेषण गर्ने सिद्धान्तका रूपमा विकास गरियो । यो एक किसिमको अजाको सेल्फी खिचाई र टिकटकका माध्यमबाट आत्मरतीमा रमाउने चरित्रको विशेषता हो ।
विश्वसाहित्यमा नार्सिसिजमका विविध सिर्जना होलान् । यहाँ तिनको सर्वेक्षण गर्न खोजिएको होइन । मात्र नार्सिस जस्तो सामान्य मिथक पनि नार्सिसिजम जस्तो वाद बन्न सक्छ भने हाम्रामा कति लोकमिथक र पौराणिक मिथक छन् र तिनका कति वाद बन्न सक्लान् भन्ने पक्षलाई देखाउन खोजिएको मात्र हो । हाम्रामा रहेका यस्ता लोकमिथकलाई पनि अभ्यास र छलफलमा ल्याउन सके अवधारणा हुँदै वादका रूपमा विकास हुन सक्ने रहेछन् भन्ने सम्भावनालाई कोट्याउन खोजिएको मात्र हो ।
नेपाली साहितय परम्परामा पनि यस किसिमका सिर्जना भेटिन्छन् । नेपाली साहित्य सिर्जनाको प्रारम्भिक कालदेखि नै स्रष्टाका सृजनामा आत्मरतिको प्रयोग हुँदै आएको देखिन्छ । यस चिन्तनलाई मोतीराम भट्टको पीकदूतकी नायिकामा रहेको जवानीप्रतिको स्वरतिमा अध्ययन गर्न सकिन्छ । उसले आफ्नो शरीर कस्तो भयो वा आफ्नो अवस्था कस्तो भयो भनेर आफै वर्णन गरेकी छ । विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्नेलको घोडा’ कथाकी नायिकामा रहेको जवानीप्रतिको स्वरति पनि यस चिन्तनअनुसार व्याख्या विश्लेषण हुन सक्छ । विजय मल्लको अनुराधा उपन्यासकी अनुराधाका चरित्रमा पनि यो विशेषता पाइन्छ । पारिजातको शिरीषको फूल उपन्यासकी बरीमा पनि यो चरित्र देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालाकै तीनघुम्ती उपन्यासकी नायिका इन्द्रमायामा रहेको स्वजवानी, स्वसुन्दरता आदिप्रतिको आकर्षण पनि यस चिन्तनअनुसार व्याख्या विश्लेषण गर्न सकिने चरित्र हो ।
नार्सिसिजमले रचनामा रहेको चरित्रको आत्मरतिलाई व्याख्या गर्न सघाउँछ । यो एक किसिम साहित्यभित्रको चरित्रले आफूलाई आफैले गरेको मूल्याङ्कन समेटिन्छ । यो पात्रको आत्मरतिको मोह हो । आफ्नै चरित्रप्रति पात्र स्वयंलाई मोहित तुल्याएको हुन्छ भन्ने कुरा नार्सिसिजमले देखाउँछ ।
-डा. रमेश शुभेच्छु