प्रायोगिक समीक्षा समीक्षाशास्त्रको प्रयोग पक्ष हो । प्रायोगिक शब्द ‘प्रयोग’ शब्दमा इक प्रत्यय लागेर बनेको हो । यस शब्दमा ‘समीक्षा’ शब्दसमेतको मेल भएर बनेको पारिभाषिक पदावली नै प्रायोगिक समीक्षा हो ।
विश्वसाहित्यको समीक्षा परम्परामा समीक्षालाई विषयगत आधारमा शास्त्रीय र दोस्रो प्रयोगिक आधामा वर्गीकरण गरेर अध्ययन विमर्श गर्ने गरेको पाइन्छ । शस्त्रीय तहमा हुने समीक्षा सैद्धान्तिक पक्षहरूको स्थापना र तिनको निरूपणमा केन्द्रित हुन्छ । यस्तो समीक्षा वाद र प्रणालीको स्थापना र तिनको परम्पराको व्याख्यामा केन्द्रित हुन्छ । विश्वमा स्थापित अवधारणा, दर्शन, विचार, वाद आदिको स्थापनाको आग्रहमा केन्द्रित हुन्छ । यस किसिमको समीक्षा शास्त्रको अभ्यासबाट नयाँ शास्त्र वा सिद्धान्त बन्दछ । त्यसरी नयाँ मान्यता वा वाद नथपिए पनि सम्बन्धित शास्त्रीय वाद वा सिद्धान्तको स्थिरीकरणमा सघाउँछ । यसका विपरीत शास्त्रीय स्थापित मूलय मान्यताका आधारमा कुनै साहित्यिक वा अन्य कृतिको मूल्याङ्कन एवम् व्याख्या विश्लेषण गर्ने समीक्षा पद्धति प्रायोगिक समीक्षा पद्धति हो ।
प्रायोगिक समीक्षाले कुनै पनि साहित्यिक वा अन्य कृतिमा रहेका विशेषता, कृतिका माध्यमबाट कृतिकारमा रहेका विचार, कला तथा सन्देशगत विशेषताको निरूपण गर्छछ । यस्तो समीक्षामा कृतिको परिधिमा रहेर कृतिकारका चिन्तन र दृष्टिकोणलाई सैद्धान्तिकीकरण गरिन्छ । सिद्धान्त प्रयोग गर्दा पनि कृतिले मागे जति मात्र सिद्धान्तको प्रयोग गरिन्छ । समीक्षकमा सिद्धान्तको ज्ञान हुन्छ तर उसले त्यस सिद्धान्तलाई कृतिमाथि लाद्ने भन्दा पनि कृतिका अपेक्षाअनुसार मात्र प्रयोग गर्दछ । उसले सोही आधारमा कृतिको व्याख्या विश्लेषण गर्दै निष्कर्षसमेत पहिल्याउन सक्छ । आवश्यक मूल्य निर्णय दिन सक्छ तर जानेका सबै सिद्धान्तको भारी कृतिलाई बोकाउँदैन । कृतिभित्रबाटै व्यवहारिक विश्लेषण गर्दछ ।
प्रायोगिक समीक्षालाई पनि वर्गीकृत आधारमा अध्ययन गर्न सकिन्छ । यसलाई विभिन्न विशेषताका आधारमा विभाजन गर्न सकिन्छ । त्यस्ता आधारहरू कालखण्ड, व्यक्ति, व्यक्तित्व, प्रवृत्ति, अवधारणा, विचार वा सिद्धान्तपरकता आदि हुन सक्छन् । मूलतः प्रायोगिक समीक्षा स्रष्टा वा कृतिकेन्द्रित हुन्छ । यसले काल, क्षेत्र, विधा विशेष र अन्य प्रवृृत्तिलाई पनि आधार बनाउन सक्छ । साहित्य र कलाका दृष्टिले मात्र कुरा गर्दा जहाँ बढी साहित्य वा कलाको जन्म हुन्छ त्यहाँ नै बढी प्रायोगिक समीक्षा हुन्छ र जहाँ प्रायोगिक समीक्षाको विकास हुँदै हुँदै जान्छ त्यहाँ सैद्धान्तिक समीक्षाले पनि फस्टाउने मौका पाउँछ ।
प्रायोगिक समीक्षालाई व्यावहारिक समीक्षाका रूपमा पनि चिन्न र चिनाउन सकिन्छ । यसको विशेषताका आधारमा वस्तुपरक समीक्षा पनि भन्न सकिन्छ । यसले प्रभावपरक विशेषतालाई पनि आत्मसात गरेको हुन्छ । यो कुनै पनि सृजनामा प्रयुक्त विषय, पात्र, परिवेशलगायत सम्बन्धित विधाका तत्वका आधारमा प्रयोग हुन सक्छ । यसले तत्वका पनि साहायक घटकहरूलाई निहाल्छ । जस्तै पात्रविधानको मूल्याङ्कन गर्दा पात्रको पनि प्रमुख, सहायक, प्रसहायक, नारी र पुरुष, बाल र वयस्क, युवा र वृद्ध, अनूकूल र प्रतिकूल, बद्ध र मुक्त आदिको अवस्थाको प्रायोगिक उपस्थितिको मूल्याङ्कन गरिन्छ । त्यस्तै परिवेशका सन्दर्भमा अनूकूल र प्रतिकूल, मञ्चीय र नेपथ्यीय, गतिशील र स्थितिशील आदिको पहिचान गरेर समीक्षा गरिन्छ । यसरी गरिने समालोचना वस्तुपरक र व्यावहारिक समालोचना पनि हो । यस समालोचनालाई नै व्यावहारिक समालोचना भन्ने गरिन्छ । व्यावहारिक समालोचना भनेको सिद्धान्तलाई व्यवहारमा लागू गरेर गरिने समीक्षा हो । यस्तो समीक्षा अभ्यासले सिर्जना र समीक्षामा पनि नयाँ नयाँ प्रयोगलाई प्रश्रय दिन्छ ।
प्रायोगिक समीक्षा विभिन्न सिद्धान्तको आधारमा वस्तुपरक हिसाबले गरिन्छ र यो समालोचना पाठकमैत्री किसिमको हुन्छ । वैचारिक दृष्टिले यो समालोचना प्रगतिशील र गैरप्रगतिशील, दार्शनिक दृष्टिले आदर्शवादी, माक्र्सवादी जे पनि हुन सक्छ । यस्तो अध्ययन सांस्कृतिक हिसाबले, मनोवैज्ञानिक हिसाबले गरिने यो समालोचना वस्तुपरक र व्यावहारिक हुन्छ । यसमा इतिहासका र समाजका अनेक विषयहरू समीक्षित हुन्छन्, संस्कार र मनोविज्ञानका विषयहरू पनि समीक्षित बन्दछ् । त्यस कारण यो समीक्षा प्रणलीगत पनि हुन्छ र विचारगत पनि हुन्छ । यस दृष्टिले व्यावहारिक समालोचना विश्वका जुनसुकै साहित्यमा पनि हुन्छ र पाठक तथा लेखकमैत्री पनि हुन्छ ।
नेपाली समालोचना परम्परमा यस्तो समालोचनाको आरम्भ बाबुराम आचार्यबाट भएको मानिन्छ । यसको विकासमा सूर्यविक्रम ज्ञवाली, यदुनाथ खनाल, रामकृष्ण शर्मा, बालचन्द्र शर्मा, तारानाथ शर्मा, वासुदेव त्रिपाठी, मोहनराज शर्मा, राजेन्द्र सुवेदी हुँदै विकसित बनेर आएको निकै लामो परम्परा छ । यस परम्परामा कृष्णचन्द्रसिंह प्रधान, केशवप्रसाद उपाध्याय, महादेव अवस्थी, गोविन्दराज भट्टराई आदिका समीक्षाका माध्यमबाट निरन्तर विकसित बनेको छ । नेपाली समीक्षाशास्त्री राजेन्द्र सुवेदीले एउटा मञ्चबाट समालोचनाहरू व्यावहारिक हुँदाहुँदै पनि सबै चाहिँँ पाठक तथा लेखकमैत्री हुन सकेका छैनन् भनेर टिप्पणी गरेका थिए । सान्दर्भिक रूपमा भनिएको भए पनि उनका अनुसार रामकृष्ण शर्माले प्रायोगिक समालोचना गर्न प्रयत्न गरेको सूक्तिसिन्धुको समीक्षाको सन्दर्भ प्रायोगिक भएर पनि पाठकमैत्री तथा लेखकमैत्री व्यावहारिक बन्नसकेको थिएन । यसरी प्रायोगिक समीक्षाको निर्मम समीक्षण र अधिसमीक्षण गर्न भने आवश्यक छ । जति अधिसमीक्षण हुन सक्यो त्यति समीक्षाशास्त्रको विकास र सिर्जनाको विकासलाई पनि सहयोग गरिरहेको हुन्छ ।
समीक्षा गर्ने क्रममा कृति केन्द्रित तथा विषय केन्द्रित भएर गरिने समीक्षा नै प्रायोगिक समीक्षा हो । त्यसरी कृति वा विषय केन्द्रित हुँदैमा कुनै समीक्षा प्रायोगिक भइहाल्छ भन्ने छैन । यस्तो समीक्षा व्यावहारिक तथा पाठक एवं लेखकमैत्री पनि बन्नुपर्छ । यसरी लेखकमैत्री बन्न नसक्ने धार रामकृष्ण शर्माको समीक्षण कलाबाट नेपाली समीक्षाको प्रथम प्रहरमै हुँदै आएको र अति भावुक तथा लेखक र पाठकमैत्री हुँदाहुँदै पनि प्रयोगिक भन्दा बढी प्रभावपरक बन्दै आएको धार चाहिँ बाबुराम आचार्य तथा सूर्यविक्रम ज्ञवालीबाट आरम्भ भएर वर्तमानसम्म नै विकसित हुँदै आएको छ ।
समीक्षाका निष्कर्ष मौलिक र तथ्यपरक हुनका लागि सैद्धान्तिक समीक्षा मात्र प्रभवाकारी हुँदैन । शोधपरक समीक्षाको मात्र प्रयोग पनि सबैतिर पाठकमैत्री र व्यवहारिक हुँदैन । समीक्षकले निकालेका निष्कर्षहरू सार्थक बन्न वा बनाउन प्रायोगिक समीक्षाकैै प्राधान्य रहनुपर्छ । यसका लागि समीक्षकले गरेका मूल्य निर्णयहरू समीक्षकले गरेका प्रयोग साक्ष्यका आधारमा प्रमाणित हुनुपर्छ । नेपाली समीक्षा परम्परामा जति प्रायोगिक समीक्षा पद्धतिको विकास हुनुपर्ने थियो त्यति हुन सकेको छैन । यसको विकासले नै सम्बन्धित भाषासाहित्यको र समीक्षाको विकास सम्भव छ ।
-डा. रमेश शुभेच्छु