कुनै भाषाको विकासमा त्यसका पाठ्यपुस्तक र व्याकरणको ठुलो हात हुन्छ । आजसम्मको इतिहासले नेपाली शिक्षा परम्परामा आदि पाठ्यपुस्तक लेखकको श्रेय जयवृथ्वीबहादुर सिंहलाई दिन्छ । नेपालमा पश्चिमा शिक्षाप्रणलीको आवश्यकताको बोधस्वरूप बझाङी राजा जयपृथ्वीबहादुर सिंहले अक्षरमाला र अक्षराङ्क शिक्षा शीर्षकमा अक्षर उने काम तथा गणित विषयक (१९५८) पुस्तकका अतिरिक्त बालबोध (भाषा गद्य), भौतिकशास्त्र र रसायनशास्त्रका सामान्य परिचायक पुस्तकहरू लेखन गरी प्रकाशनमा ल्याए । त्यस्तै पदार्थ तत्त्वविवेक (१९६२), नेपाली गद्यपाठ शिक्षादर्पण (तिन भाग १९६३—१९६४), व्यवहारमाला (लौकिक व्यवहारसम्बन्धी नीतिशिक्षा, १९६५), भूगोलविद्या (१९६७), प्राकृत व्याकरण, तथा नेपाली व्याकरण (१९६९) जस्ता कृतिहरू प्रकाशनमा आए । सिंहका सहयोगीहरू प्नि अवश्य नै थिए । तिनका नाम अझै पनि अन्वेषणीय छन् ।
उक्त विविध विषयका प्रारम्भिक कालीन पाठ्यपुस्तकहरूले देशका बालबालिकालाई त्यतिखेरको पाश्चात्य शिक्षा प्रणालीसित जोड्ने काम गरे । गुरुकुल शिक्षाबाहेकको अर्को पनि पढ्नुपर्ने पुस्तक हुन्छ र त्यो पढेर ज्ञान पाइन्छ भन्ने बोध गराए । यसबाट नेपाली नागरिकलाई भविष्यका निम्ति आशावादी पनि बनाए ।
जयपृथ्वीबहादुर शैक्षिक जागरणका निम्ति समर्पित तथा जागरणशील व्यक्ति थिए । उनी राणा दरबारका आफन्त नै हुँदा उनको जागरणमूलक तत्कालीन योगदानबाट चन्द्रसमशेर त्यति सशङ्कित भएनन् । उनले नेपालमा बसेर काम गरिरहन पाए निकै योगदान गर्न सक्थे । उनको जाँगरबाट विस्तारै आफ्नै शासनसत्ता सङ्कटमा पर्ने भयका कारण जयपृथ्वीबहादुरलाई १९७३ सालपछि भारतको सुदूर दक्षिण बङ्गलुरुमा स्वनिवर्वानमा बस्न विवश राणाहरूबाटै पारिएको इतिहास छ । एक किसिम आफ्नै ससुरा चन्द्रसमशेरको कोपभाजन बनेका जयपृथ्वीले बनाएको योजना प्रायः ध्वस्त बन्यो । त्यस समयमा सरकारी नियन्त्रणमा रहने र राणाशासनकै अनुकूलको नयाँ पुस्ता तयार गर्न आफ्नै निर्देशनमा शिक्षा व्यवस्था कायम गर्ने काम पनि गरियो ।
पाठ्यसामग्री प्रकाशनका निम्ति १९७० मा गोरखा भाषा प्रकाशिनी समिति गठन भयो । पछि यो संस्था नेपाली भाषा प्रकाशिनी समितिको नाममा परिणत भयो । त्यस भाषाप्रकाशिनी समितिको प्रमुखमा रूपमा राममणि आचार्य दीक्षित तोकिए । यस दृष्टिले दीक्षित नेपाली पाठ्यपुस्तक वा जागरणका अर्का पात्र बने ।
दीक्षित नेतृत्वको प्रकाशिनीबाट प्रकाशनमा आउने सामग्रीमा निगरानी राख्न एउटा सेन्सरबोर्डकै व्यवस्था गरिएको थियो । त्यसले एकातिर जनजागृति र राणाको विरोधका पक्षको सेन्सर गथ्र्यो भने अर्कोतर्फ त्यसले पाठ्यपुस्तकलाई पठनीय पनि बनाउँथ्यो । यस अनुसार नेपालभरिका लेखक प्रकाशकरूले चल्नु पर्ने र त्यस सेन्सरबोर्डले स्वीकृति नदिई छाप्न नपाइने कडा प्रकाशन कानुन नै लागू गरिएको थियो । केहीकथम देशका जनतामा जागरण तथा सामाजिक परिवर्तनको चेत झल्किने सामग्री प्रकाशनमा आए, त्यस्ता सामग्रीका लेखक प्रशासक दुवै दण्डित हुने र प्रकाशित पुस्तकहरू प्रतिबन्धित हुने र नष्ट पनि गरिने नीति तय भएको थियो । त्यसै नीतिका सिकार बनेका थिए कृष्णालाल अधिकारी ।
कृष्णलाल अधिकारीले लेखेको कृषिविषयक मकैको खेती नामक कृति तत्कालीन नियन्त्रणमुखी नीतिको सिकार बन्यो । त्यसका लेखक अधिकारी कारगारमै जीवन बिताउन विवश बने । उनी नेपालको इतिहासमै पहिलो लेखक सहिद बने । पाठ्यपुस्तक नभए पनि धरणीधर शर्मा कोइराला लिखित नेवेद्य (१९७७) कविता सङ्ग्रह देशभित्र प्रतिबन्धित बन्यो । यस अनुदार शैक्षिक नीति तथा कुण्ठित शासकका चिन्तनका सेपमा समग्र देशको शिक्षा र चेतना बन्दी बन्न विवश बन्यो तर सचेत नागरिकहरू त्यसका भेदनमा लागिरहे ।
पहरो रसाएर नदी बने जस्तै जयपृथ्वीबहादुरकै प्रयत्न र चिन्तनअनुरूप नेपाली भाषामा पाठ्यपुस्तक प्रकाशित हुन थालेपछि भाषा पनि त व्याकरणसम्मत हुनुपर्छ भन्ने चेतना बिस्तारै विकास भयो । त्यतिखेर वीरेन्द्रकेसरी अज्र्याल र हरिहर आचार्य दीक्षित लेख्य नेपालीका अनुशासन र व्याकरणिक साधुताका नियामक पात्रहरू थिए । हलन्त बहिष्कारका आन्दोेलनकर्ता राममणि आचार्य दीक्षितका मतमा माधवी पत्रिकामा प्रयुक्त वर्णव्यवस्था र व्याकरणिक नियम र आचार्य दीक्षित खलककै अर्का सदस्य विश्वमणि आदीको गोर्खा व्याकरणबोध (१९६९) पनि प्रकाशित हुँदै आए । अर्कातिर हेमराज शर्माको निकै महत्त्वपूर्ण चन्द्रिका व्याकरण (१९६९—१९७२) प्रकाशित भयो । यसलाई नै आधार बनाएर सोमनाथ सिग्द्यालको मध्यचान्द्रिका (१९७६) लेखे र नेपाली भाषाको निनयामक तथा निर्धारक र एकरूपताका निम्ति प्रयत्न गरे । त्यसपछि नै नेपाली भषाको लेखन प्रकाशनमा एकरूपताको निर्धार्धारणको अवधारणा र व्यवहार विकास भयो । चन्द्रिका र मध्यचन्द्रिका नै आजसम्म मानक दिग्दर्शक नेपाली भषाका सामग्री बनेर रहेका छन् ।
-डा. रमेश शुभेच्छु