शिशिर भट्टराई ( फाकफोकथुम–१, इलाम) युवा कवि एवम् गजलकार हुन् । । श्री भृकुटी माध्यमिक विद्यालय, दुर्गापुर, झापामा अध्यापन गरिरहेका भट्टराई सिर्जना र समीक्षासमेतका माध्यमबाट साहित्य सेवामा समर्पित छन् । उनको कैफियत (संयुक्त गजलसङ्ग्रह) कृति प्रकाशित छ । उनले अध्यापन पेसामा रहँदा माध्यमिक शिक्षक परीक्षा दीपन (नेपाली/शिक्षक सेवा आयोग) सहलेखन, निम्नमाध्यमिक शिक्षक परीक्षा दीपन (नेपाली/शिक्षक सेवा आयोग)सहलेखन पनि गरेका छन् । उनका विभिन्न पत्रपत्रिकामा अनुसन्धानमूलक तथा फुटकर रचना प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भटराईको हिनेको बाटो टेकेको माटो शीर्षकको गजल रचना समेटिएको छ यस गजलले प्रेमप्रणयजन्य अनुभूतिलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेको छ । -सम्पा. |
हिनेको बाटो टेकेको माटो बिर्सिन सकिन
तिमीले बस्या यो देब्रे पाटो, बिर्सिन सकिन
हजारौँ पल्ट हाँसेका कुरा गर्दैन सिरानी,
एकपल्ट रुँदा लागेको टाटो, बिर्सिन सकिन
लागेको भए देहमा चोट दुखेर भुलिन्थ्यो
दिलमै लाग्यो बस्तैन खाटो, बिर्सिन सकिन
भेटिनु उस्तै छुट्टिनु उस्तै थाहा छ उस्तै हो,
यत्तिको बाठो भएछु लाटो बिर्सिन सकिन
दुनियाँ भुल्ने उपाय यौटा बतायो कसैले,
भट्टीमा गएँ त्यसैको साटो बिर्सिन सकिन ।