लेखन बौद्धिक कला हो । बौद्धिक कला भएकै कारण लेखन कलामा अमूर्त लेखनको आयु लामो हुँदैन । कुनै लिखित कला पढिसकेपछि पाठकले त्यहाँ केही ज्ञान पनि खोजिरहेको हुन्छ । कला आश्वादनसँगै विचार निर्माणको प्रयास पनि गरिरहेको हुन्छ ।
लेखनका विपरीत गायनमा ‘कसरी गायो ? भन्ने कुरा प्रमुख कुरा बनिरहेको हुन्छ । त्यसमा सङ्गीतको पनि साथ हुन्छ । नृत्यको पनि साथ हुन्छ । नृत्यकलाकारको अभिनयको पनि साथ हुन्छ । चित्रमा रङको साथ हुन्छ तर लेखनमा भाषा एक्लै आफ्नो रूप प्रदर्शन र आकर्षणका लागि लागि पर्नुपर्छ ।
गायन कलाकै मात्र कुरा गर्दा के गायो भनेर बहस गर्ने ठाउँ नभएका गीत पनि छन् । बाबरी फूलको बोट, आयो ढल्काउँदै झमझम स्टकोट को विचार के ? यो बाबरीको बोट र इस्टाकोटको अर्थ के छ । स्टाकोट कसरी ढल्कन्छ । झमझम स्टाकोट भनेको के हो ? ‘रेसम फिरिरी, रेसम फिरिर, उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरी’ भनेको के हो ? कान्छी मट्याङट्याङ भनेको के ? हुर्रा हाहा भनेको के ? मलमल जुनकिरी भनेको के ? र्याममा भनिने यो यो, या या, हो हो …..पदावलीको अर्थ के ? आम श्रोताले यी गीतको अर्थलाई ध्यान दिएका हुँदैनन् । गीतहरू गाइन्छन् । यी कला हुन् । यिनमा कुन सिद्धान्त छ ? कुन विचार छ ? कुन वाद छ भन्ने विषयमा सम्बन्धित शास्त्रका शास्त्री र आचार्यहरू यसै हो भन्न सक्तैनन् । यस्ता कतिपय निरर्थक पक्षहरू नअथ्र्याइकनै बुझिन्छन् वा नबुझिकनै सम्प्रेष्य छन् । यहाँ गाउँनेले कसरी गायो । त्यसको सङ्गीतले कतिको तान्न सक्यो भन्ने पक्ष मूल पक्ष हो । साहित्यमा यस्तोपक्ष क्षम्य बनेर आउन सक्तैन ।
शास्त्र र प्रयोगको कुरा गर्दा नृत्य शास्त्रका शास्त्रीय अध्ययनमा अर्थपूर्ण हाउभाउ छन् तर आधुनिक उत्तरआधुनिक नृत्यमा त्यस्ता हावभाव देख्न पाइँदैन । तिनका अर्थ लगाउन सक्ने आचार्यको अभाव खड्कँदै गएको छ । हरेक गुरुले र नृत्यङ्गनाले नृत्यमा नयाँ नयाँ प्रयोग गरिरहेको छ । विश्वमा विकसित सबै खेल, सबै योगासन र विधिहरू नृत्यका अङ्ग बनिरहेका छन् । कुनै आचार्यले अर्थ लाउने ध्यान दिइरहेका छैनन् । केबल नाच्नेले ‘कसरी नाच्यो’ भन्ने कुरालाई महत्त्व दिइरहेका छन् । त्यसो हो भने किन चाहियो शास्त्र । तर यहाँ पनि झुकिनु हुँदैन कुनै पनि शास्त्र पहिला बनेको होइन । प्रयोगले शास्त्र जन्माउँछ । तर यसरी शास्त्र बनाउने गरी साहित्यको लेखन गर्न त्यति सजिलो छैन । शास्त्रविनाको प्रयोग कमजोर देखिएको छ ।
चित्रकलाका सम्बन्धमा पनि प्रयोग बढी फापसिद्ध देखिन्छ । चित्र बनाउनेले के बनायो ? चित्रको भाषा अशिक्षित मानिसले पनि बुझ्छन् । भनिन्छ असल चित्रले ९० प्रतिशत भाषा बोलिदिन्छ । त्यसो भन्दैमा सबै चित्रकलाले ९० प्रतिशत बोध गराउने सामथ्र्य राख्न सक्छन् छ । आज बन्दै गएका अमूर्त चित्रकला सजिलै बुझिन्छन् त ? यिनमा भने बुझाउने गुरु चाहिने भएको छ । कुनै वस्तुको आकृति चित्र हो । त्यो दुरुस्तै छ कि छैन हेरिन्छ । तर अमूर्तचित्रकलामा यो छुट दर्शकलाई वा अवलोकनकर्तालाई हुँदैन । मूर्त चित्रकलामा धेरै बोधगम्य सामथ्र्य हुन्छ । उँट नचिनेका नदेखेका दर्शकले पनि उटको चित्रबाट एउटा धारणा बनाउन सक्छन् । यो अवस्था साहित्यमा सिर्जना गर्न निकै जटिल हुन्छ ।
प्रयोग र ख्याति अन्य कला क्षेत्रमा जति सजिलो हुन्छ त्यति सजिलो साहित्यमा हुँदैन । साहित्यमा शास्त्र नबुझी प्रयोगमा लाग्ने लेखकहरू केही समयको हल्लाखोर बनेर हराएका पनि छन् । साहित्य र अन्य कलाको फरक यही हो कि यसमा कला हुन्छ तर ज्यादै संवेदनशील, विचारसहितको, शास्त्र र चेतनासहितको कला हुन्छ । र त साहित्यकारका भिडमा असल साहित्यकार बन्न गाह्रो छ । त्यस्तो साहित्यकार बन्न विचार र कलाको उच्चतम संयोजनसहित भाषिक चमत्कार हुनुपर्छ ।
-डा. रमेश शुभेच्छु