महेन्द्र विरही (इलाम न. पा. ६, बुद्धनगर, इलाम) इलाममा रहेर सामाजिक एवम् साहित्यिक गतिविधिमा संलग्न छन् । उनी फरक आयामका अभियन्ता पनि हुन् । इलाम साहित्य समाज इलाम उपाध्यक्ष विरही सिर्जना र सङ्गठनका माध्यमबाट साहित्यसेवा गरिरहेका छन् । साहित्यसागरको यस श्रृङ्खलामा विरहीका ‘आफैँ खोज्यौ काल के भन्नु’ बोलको गजल सिर्जना समेटिएको छ । यसले समसामयिक समस्यालाई निकै विम्बात्मक रूपमा उजागर गरेको छ । -सम्पा. |
आफैँ खोज्यौ काल के भन्नु र मैले तिमीलाई
घोच्यौ अरिंगाल के भन्नु र मैले तिमीलाई ।
अरूलाई ताक्यौ र त आँफैतिर फर्कँदैछ
बन्दुकको त्यो नाल के भन्नु र मैले तिमीलाई ।
थरि–थरि सन्तान मिलाई राख्न नसके’सी
तान्छ तिम्रै कपाल के भन्नु र मैले तिमीलाई ।
वनको राजा सिंहको त अन्त्यमा काफि हुन्छ
खरायोको जाल के भन्नु र मैले तिमीलाई ।
खोला खोल्सी कुवा कुण्ड सुक्दा पनि किन
घमण्डी छौ ताल के भन्नु र मैले तिमीलाई ।
नजानुथ्यो राँकिएको समुन्द्रको किनारमा
उठि आयो छाल के भन्नु र मैले तिमीलाई ।
बूढो घरको धुरीबाट कुर्लिरहेछौ अझै पनि
खस्दै छ त्यो निदाल के भन्नु र मैले तिमीलाई ।